एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने भएका छन् ।
पाकिस्तान क्रिकेट बोर्ड पीसीबीको प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएसँगै बाँकी खेलहरु युएईमा हुने पक्का भएको हो । तर खेलको मिति भने तय भएको छैन ।
यस अघि कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका रहेको थियो । पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।
पीसीबीले दुई साता अघि प्रतियोगिता आयोजनाका लागि युएई क्रिकेट बोर्ड समक्ष प्रस्ताव गरेको थियो । पीएसएलमा सहभागी ६ टिमले कराँचीमा तय भएको बाँकी खेल युएईमा गर्न पीसीबीलाई आग्रह गरेको थियो । युएई पुगेपछि खेलाडी र अफिसियलहरु ७ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ ।




