‘सत्ता जसरी पनि जित्नुपर्छ’ भन्ने चिन्तन नै गलत ! (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

‘सत्ता जसरी पनि जित्नुपर्छ’ भन्ने चिन्तन नै गलत ! (भिडियोसहित)

राजनीतिमा सबै कुरा सम्भव छ, भन्ने आदर्शले नेपाली राजनीतिलाई लाजनीतिमा परिणत गरिदिएको छ । प्रजातन्त्रको लडाई लड्ने प्रथम पुस्ताले नै सत्ता राजनीति भित्र यति धेरै विकृति भित्र्याइदिएकि, लाग्छ भविष्यको पुस्ता यही इतिहासको विरासतलाई नजिरको रुपमा लिन पुग्यो भने स्थिति कस्तो होला? सम्झिदै आङ सिर्सिराउँछ ।

देशमा बहुमत प्राप्त सरकारलाई विकास निर्माण र नीति निर्माणको अर्थमा वरदानकै रुपमा लिने गरिन्छ । किनभने हाम्रो जस्तो संवैधानिक स्वरुप भएको देशमा बहुमतको अवस्था वास्तवमा धेरै नै कठिन छ । तथापी जनताले कम्युनिष्ट पार्टीहरुको गठबन्धनलाई ठूलो बहुमत दिए । जनअपेक्षा स्थिर सरकार र सुव्यवस्थाको थियो, कमसेकम देशको नीतिनिर्माण र कार्यान्वयनमा नेतृत्वलाई कसैको मुख ताक्न नपरोस् भन्ने थियो । सधैंभरि छिमेकीहरुबाट पीडित देशको राजनीति कमसेकम आफ्नो नेतृत्वबाट काठमाडौँबाटै हुनसक्छ कि भन्ने थियो, तर नेतृत्व गणमा सत्तामोह यसरी विकास भयो कि, धैर्यता र संयमता त कुन चरा को नाम हो ? पत्तै भएन । भाषणमा देखिने नेताहरुको निर्दोषपन व्यवहारमा कहिल्यै देखिएन ।

झन्डै एक बर्ष देखिको सदन–सडकको रस्साकस्सीको अर्थ र उपादेयता नै जनताले बुझ्न सकेनन् । संघर्ष के का लागि थियो? किन थियो? लाखौं मान्छे सडक मा किन उतारियो? ‘हामी यहाँ छौं’ भन्दै गरिएको चिनारी सहितको आन्दोलनको औचित्य कसरी प्रमाणित होला ? त्यतिमात्र होइन, एकले अर्कालाई इंगित गर्दै उफारेका स्वरहरुले जन्माएका उत्ताउलो अवशेषहरु समाप्ती तर्फ सजिलै जाला वा तुष बनेर भविष्यको तानाबाना बुन्नमै व्यस्त रहला ? वास्तवमा यी सबै गतिविधिले इगोको रुप धारण ग¥यो भने यो सिंगो पुस्ताले देशको राजनीति संगालेको देख्न पाउला ?

प्रधानमन्त्री र तत्कालीन नेकपाबीचको नेतृत्व लडाईंले यो अवधीलाई यति विकृत बनाइदियो कि, स्वयं राजनीतिकर्मीलाई समेत आफ्नो मुख जनतालाई कसरी देखाउने भन्ने गम्भीर संकट पैदा भयो । आधा आधाको सत्ता राजनीति नै कारक देखिएको यो अवधिले अन्तर्राष्ट्रिय महामारीलाई समेत माथ गरिदियो । झन्डै वर्ष दिन देखि कुनै न कुनै कारणबाट थलिएको मुलुक नेताहरुको पौठेजोरीले अरु बढी निराशमय बन्नपुग्यो । यत्रो कसरतको कुनै न कुनै अर्थ त निक्लिनुपर्ने हो ।

अन्तिममा गएर जसको हातमा सत्ता थियो, उसैको हातमा फेरि पनि रह्यो । संसद् विघटनलाई प्रतिगमन भनियो, त्यो अवस्था अझ प्रबल बन्दैछ । तत्काल सत्ताबाट हटाउने कसम खानेहरु पुनः सँगै काम गर्ने अभिलाषा राख्नुपर्ने अवस्था देखियो । अनेकौ घुर्की र आक्रोश उधारोमा गएर थाती लाग्यो । विपक्षी पार्टी आफ्नो संवैधानिक भूमिकामा समेत अब्बल रहन सकेनन् । सभामुख संवैधानिक गरिमा भन्दा पनि पार्टीको दायित्व निर्वाह मै व्यस्त बनेको देखियो । जुनजुन पक्षका बीच घनिष्टता छ भनिन्थ्यो, त्यहाँ नै एकले अर्कोलाई धोकेबाजको पगरी लगाएको देखियो ।

यसप्रकार नेतृत्वको एकवर्षको अवधि शून्यतामा झर्न पुगेको छ । लडाईं र आक्रोशले सबै नेताहरुको उचाई घटाइदिएको छ । बालुवाटार, खुमल्टार यात्रा निरर्थक देखिएको छ । विदेशीको हस्तक्षेप पनि बेकार बनेको छ ।

अब नेतृत्वले आआफ्नो भूमिकाको गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ, संयमता नभएको राजनीति खोक्रो आडम्बरमा परिणत भएको दृष्टान्तलाई सबैले बुझ्नु जरुरी छ । सत्तामात्र राजनीतिको लक्ष्य होइन, राजनीतिक नेतृत्व जनसेवक बन्न सक्यो भने सत्तामा रहनेले भन्दा बढी सम्मान पाउन सक्छ भन्ने आत्मबोध पलाउनु जरुरी छ ।

राजनीतिमा सबै कुरा सम्भव हुन्छ भन्ने परिभाषामा विराम लगाउनुपर्छ । राजनीतिको धर्म र कर्म दुवै हुन्छ भन्ने बुझ्नुपर्छ । आज जजसको राजनीति धरापमा देखिएको छ, त्यसबाट सबैले सिक्नु जरुरी छ । छिर्के हानेर गरिने अस्थायी राजनीतिक कर्मलाई सबैले बिराम दिनसक्नु पर्छ । पुरानो गलत कुरालाई बिर्सदैं सुनौलो भविष्य तर्फको यात्रा तय गर्न ढिला भैसक्यो, अबको समय निरर्थक नबनाऔं ।

Leave a Reply