सम्पादकीय
काठमाडौं, २८ असार । नेपालले आफ्नो देशको लागि दुई चार वटा निर्णय गर्दा विछिप्त बन्न पुगेको भारतीय सत्ताका मुखपत्रहरुले नेपाली जनता समक्ष माफी मागे छन् । हुनत, कुटनीतिक मर्यादा अनुसार अर्काे देशको संवेदनशील विषयमा संवेदनहीन भई गरिएको प्रलापप्रति सत्ताले नै माफी माग्नु पथ्र्याे ।
सामान्य नैतिक शिक्षाको घेरा भित्र नरहेको भारतीय सत्ताले नैतिकता र कुटनैतिक मर्यादा ख्याल गर्न सक्ने कुरै भएन । त्यसो त भारतीय सत्ताले नेपाली जनता समक्ष माग्नुपर्ने माफीको सूची धेरै लामो हुनसक्छ । माइक्रो व्यवस्थापनको नाउँमा नेपाललाई हरेक कोणले अनिर्णयको बन्दी बनाई नेपाली जनतालाई आफ्नो विकास गतिविधिमा संलग्न हुनबाट बंचित गर्दै ठूलो नोक्सानी पुर्याएवापत भारतीय सत्ताले कहिले माफी माग्ने ? आफ्नो संविधान बनाउँदा नाकाबन्दी लगाएबाट पुगेको क्षतिको लागि उसले कहिले माफी माग्ने ? उसको सरकारले नोटबन्दी गरेवापत उसको देशमा अवैध घोषणा भएको भारतीय रुपैंया नेपाली बैंकमा थुप्रिदा, सटहीसमेत गर्न नमानी पुर्याएको क्षतिको लागि माफी माग्नु पर्ने कि नपर्ने ?
सिमानामा बितण्डा मच्चाउँदै नेपालीलाई दुःख दिने अनि अन्तर्राष्टिय मान्यता विपरीत सडक निर्माणको नाउँमा ठूलाठूला ड्याम खडा गर्दै नेपाली भूमि जलमग्न बनाए बापत भएको नोक्सानीको लागि जिम्मेवारी लिनुपर्ने कि नपर्ने ? प्राकृतिक साधन र श्रोतलाई आफ्नो हातमा पार्नको निमित्त गरिएका हथकण्डाहरु, अनि नेपालले एक छत्र रुपमा आफ्नो बजार दिंदा पनि उसको देशबाट भित्रिने फलफूल र तरकारीको विषादी परीक्षणमा समेत अवरोध गर्दै, नेपालीलाई विषादीयुक्त तरकारी र फलफूल खान बाध्य पार्ने काम गरे वापत माफी माग्नु पर्ने कि नपर्ने ? कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता जस्ता नेपालको आफ्नो कब्जा गरेवापत भारतले माफी माग्नु पर्ने कि नपर्ने ?
यस्ता कुराहरु सम्झिदै जांदा, भारतले माफि माग्नु पर्ने विषयवस्तुहरुको सूची धेरै लामो हुनसक्छ । नेपाली जनताले आफ्नो मन मस्तिष्कमा यस्ता सूचीहरुको मनन राम्रैसंग गरिरहेका छन् । सार्वभौमिकता सानो र ठूलो हुने गर्दैन । नेपाली जनता समक्ष यी तमाम भारतद्धारा भएका कर्महरुको जवाफ एकदिन भारतले दिनैपर्छ ।
नेपालमा बलियो सत्ता देख्नै नसक्ने र संधैभरि आन्तरिक रुपमै कुनै न कुनै वितण्डा मच्चाउनका निमित्त, नेपाल भित्रै राजनीति गर्ने तर भारतको लागि संवेदनशील, भारतीय मन भएका नेताहरुलाई परिचालन गर्दै, राजनीतिलाई अस्थिर बनाउने भारतीय चालबाजीप्रति अब सबै नेतृत्वगण चनाखो हुनै पर्छ । एउटा राष्टिय मुद्दासंगै सिद्धान्त अनुसार चल्नु पर्ने कम्युनिष्ट पार्टी, बिना कुनै सैद्धान्तिक आधार व्यक्तिगत टकरावमा जांदा, देशले अहिले पनि ठूलो नोक्सानी व्यहोरी रहेको छ ।
थुप्रै समस्याहरुको बीचमा देशले ठूला ठूला निर्णयहरु गर्नुपर्ने अवस्था छ । ठूलो बहुमत सहित सत्तामा पठाएको पार्टीबाट जनताले धेरै ठूला ठूला अपेक्षा गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा गहकिलो निर्णय गर्दै, हरेक क्षेत्रमा छिमेकीद्धारा सृजित थुप्रै विकृतिहरुबाट जनता मुक्ति चाहन्छन, देश भित्र काम गर्ने वातावरण चाहन्छन, रोजगारीको निमित्त मरुभूमिमा जान नपरोस भन्ने चाहन्छन, आफनो देशको माटोलाई सुन बनाउन चाहन्छन, आफ्नो नेताहरुलाई अन्तराष्ट्रिय भिखारी होइन, समृद्ध देशको नेता भएको हेर्न चाहन्छन् ।
संसारमा हुने निर्णय प्रकृयामा आफ्नो देशको पनि उपस्थिति भइदिए हुन्थ्यो भन्ने चाहन्छन् । संसारबाट अपहेलित रहेको नेपाली पासपोर्टको अन्तर्राष्ट्रिय स्तरमा उच्च मूल्यांकन भइदिएको हेर्न चाहन्छन । सबै प्रकारको संभावनाले भरिएको यो देशको विकास आफ्नै खुटृामा उभिएर गर्न पाए हुन्थ्यो भन्ने चाहन्छन । अपमानित विदेशी अनुदानलाई राज्यले स्वीकार नगरोस भन्ने चाहन्छन् । यस्ता अपेक्षाहरु पूरा गर्नको निमित्त नेपालमा धेरै ठूलो कठिनाइ छैन ।
केवल राजनैतिक दलहरुको स्वाभिमानी इच्छा शक्ति भइदिए पुग्छ । कमसेकम स्थापित नेताहरुमा सत्तामोहको पारम्परिक रोगबाट अलिकति त्याग र जनताप्रतिको समर्पणभाव भइदिए पुग्छ । जनताको खुशीमा खुशी हुन सक्ने मनोविज्ञान विकास हुनसक्यो भने, नेपाल, अरु देशहरुले सयौं वर्षमा गर्न नसकेको विकास, १० वर्षमै गर्न सक्ने कुरा निर्विवाद छ । जनभावना बुझौं, देशी विदेशी तत्वहरुबाट सावधान रहौं, राज्य संयन्त्रलाई बलियो बनाउँदै, देशको लागि निर्णय गर्न सक्ने क्षमतामा विकास गरौं ।
कसैको दयामा टेकेर सत्तासिन हुने होइन, विदेशीको अगाडि उसका हरेक कामको डटेर जवाफ दिन सक्ने अवस्थामा आपूलाई उभ्यायो भने मात्र स्वाभिमानी झल्कन्छ । यस्तो सत्तासंग मात्रै छिमेकीले आफ्नो कमजोरी स्वीकार गर्न सक्ने अवस्था आउन सक्छ । देशको गर्विलो नागरिक बन्नको निमित्त हरप्रकारले समर्पित होऔं । अन्यथा इतिहासले कसैलाई पनि क्षमा गर्ने छैन ।