भारतीय मनोविज्ञान र निकृष्ट सञ्चार माध्यम (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारतीय मनोविज्ञान र निकृष्ट सञ्चार माध्यम (भिडियाेसहित)

सम्पादकीय
काठमाडौं, २६ असार । दुई छिमेकी राष्ट्रका सम्मानित व्यक्तित्वहरुलाई जोडेर प्रसारणमा आएको भारतीय संचार माध्यमहरुको निकृष्ट प्रलापसँगै थुप्रै प्रश्नहरु उब्जिएका छन् । वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोट माग्ने काममा राम्रैसँग परिचालित यी संचार माध्यमहरु मुख्यतः उनैको मनोविज्ञान बोल्ने गर्छ भन्ने गरिन्छ ।

यसरी हेर्ने हो भने, भारतले छिमेकीहरुलाई कस्तो दृष्टिले हेर्दाे रहेछ ? उनीहरुको सूचना प्रणाली कस्तो रहेछ ? विश्वकै महान भनिएको भारतीय प्रजातन्त्र कस्तो रहेछ ? हिन्दूस्थानलाई नै कलंकित गर्ने हिन्दू संस्कृतिलाई उनीहरुले कसरी बुझेका रहेछन ? त्यहाँको जनताले यस्तो मिडियाबाट कस्तो प्रकारको सन्देश प्राप्त गर्दाे रहेछ ? आदि इत्यादि थुप्रै प्रश्नहरु उव्जिएका छन् । हरेक देशको मिडिया त्यो देशको सत्ता र जनता दुबैको आँखा मानिन्छ । आँखा नै यस्तो भएपछि त्यो देशले के देख्ला ? के बुझ्ला ? अनि कस्तो व्यवहार गर्ला ? सधैं छिमेकीहरुप्रति अनुदार देखिने भारतीय सत्ता कस्तो प्रवृत्तिबाट आक्रान्त छ र निरन्तर कुटीतिक असफलतासंगै दुरदशाको गतिमा निरन्तर स्खलित हुँदै गएको छ भनेर सजिलै बुझ्न सकिने यी तथ्यहरु हुन् ।

नेपालमा निरन्तर रुपमा कमजोर हुँदै गएको आफ्नो वर्चस्वलाई पुन स्थापित गर्नको निमत्त हरेक हथकण्डाको उपयोग गर्न पछि नपरेका भारतीय सत्ताले अब के बुझ्न जरुरी छ भने, अब नेपालमा उनीहरुले सोचेको जस्तो, उनीहरुको वर्चस्व नेपाली जनताले कहिल्यै स्वीकार्दैनन् । अब जनस्तरबाटै उसको गतिविधिको निगरानी हुनेछ, नियमन हुनेछ र प्रतिरोध हुनेछ । यसको सुरुवात अहिले जनस्तरबाट भारतीय च्यानलहरुलाई बन्द गर्ने आवाज सहित बन्द हुन पुगेबाट प्रष्ट भएको छ । चिनियाँहरुको इसाराले नेपालमा भारतीय च्यानल बन्द भएको भन्ने समाचार सम्प्रेषण गर्ने भारतीय संचार माध्यमहरुले के बुझ्नु जरुरत छ भने, अझै पनि यो बन्द गर्ने काममा चिनियाँ त कुरै छोडौं, नेपालको सरकारले समेत मौनता सांधेको छ । यो त जनस्तरको स्वतस्फूर्त प्रतिरोध मात्र हो ।

नेपाल र भारत भाइभाइको सम्बन्ध भनेको, सिंह र हिरणको बीचको सम्बन्ध जस्तै हो भन्ने कुरा, नेपाली जनताले भलीभांती बुझिसकेका छन् । आज संचार क्षेत्रमा भएको तिव्र भारतीय अतिक्रमणसंगै नेपाल भित्र फस्टाउंनै नसकेका कला संस्कृतिहरु, प्रतिभाहरु कसरी निरिह छन भन्ने कुरा नेपाली जनताले बुझिसके । आफ्नो देशको सम्पूर्ण बजार छिमेकीलाई दिए वापत उनहीहरुबाटै अपमानित र गालीगलौज सहनु परेको पीडा नेपाली मनलाई राम्रैसँग बिजेको छ । बाढी आउँदा खुलाउन नसकिने कोशीको बाँध होस वा दिनानुदिन सीमानामा मच्चाइएको बितण्डा होस, त्यो सबैको असर सचेत नेपालीले राम्रैसंग बुझिसके ।

अब यी सबै गतिविधिमा स्वतस्फूर्त रुपमा प्रतिरोध गर्ने निर्णयमा नेपालीहरु पुगेकाले, अब स्थायी रुपमै भारतीय संचार माध्यमहरु बन्द हुनसक्छन । कोशी बांधको चाबी अब नयाँ बन्न सक्छ । सम्बन्धित सीमा क्षेत्रका नगरपालिका र गाउँपालिकाहरुले जनपरिचालन गरेर सीमानामा पर्खाल आफै लगाउन सक्छन । नेपालको विभिन्न समयमा नेपाली जनतालाई गुमराहमा पारेर नेपालका तत्कालिन सत्ताधारीहरुलाई प्रभावमा पार्दै अतिक्रमित प्राकृतिक साधन, श्रोत र नदी नालाको हिसाब पनि अब जनताले नै जनस्तरमा गर्न सक्छन । भारतीय सिनेमाको पहुँच अब नेपालमा नहुन सक्छ ।

नेपाली जनताले यस्ता कार्यक्रमका लागि अब सरकारको मुख समेत ताक्ने छैनन्, भारतीयहरुको त कुरै छोडिदिउँ । यो सबै अब नेपाली जनताको अगाडि बाध्यता बन्दै गएको वस्तुस्थितिको उपज हो । इतिहासदेखि नै सिंहको रुपमा रहेको भारतीय सत्ताले हिरण बन्न विवश नेपाललाई गरेको सम्पूर्ण कुकृत्यको अब नेपाली जनताले भलीभांती हिसाब गर्नेछन् । इतिहासकै पराक्रमी पूर्खाद्धारा प्रशिक्षित नेपाली जनता कहिल्यै कायर देखिएनन् , देखिने पनि छैनन् । यो वास्तविकतालाई बुझेर सबै पक्ष सचेत हुन सके, भविष्यको जोखिमबाट बच्ने महत्वपूर्ण अस्त्र बन्न सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);