सत्य, निष्ठा र आदर्शका मूर्तिमान स्वरुप डा.गोविन्द केसी | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

सत्य, निष्ठा र आदर्शका मूर्तिमान स्वरुप डा.गोविन्द केसी

काठमाडौं , १५ भदौ । सत्य र निष्ठा कति बलियो हुन्छ भन्ने दृष्टान्त अन्यन्त्र खोज्नु जरुरत छैन । डा.गोविन्द केसीलाई हेरिदिए पुग्छ । सरकार र प्रशासकहरुका लागि धेरै पहिलेदेखि टाउको दुखाई बन्दै आएका डा.केसीसँग त्यस्तो के कुरा छ ? जसले सधैंभरी सरकारलाई आतंकित गर्दछ । वृद्ध, निवृत्त अनि एक्लो जीवन । न अगाडि आफन्त, न पछाडि आफन्त, न वृद्ध शरीरलाई हेरचाह गर्ने सहयोगीहरु, न स्थायी घरबास नै । उनीसँग भएको भनिएको एउटा मात्र पेशागत सीप जसको कारण उनको दैनिकी चलेको छ । त्यसो त उनी वरिष्ठ चिकित्सक हुन । उनी जस्ता चिकित्सकहरुले उनकै अगाडि गर्नु नगर्नु जे गरेर भएपनि अपूmलाई कायापलट गर्न सफल भए ।

सिंगो चिकित्सा पेशा व्यापारीकरण भएको प्रसंग कसैबाट लुकेको छैन । चिकित्सकहरु कै कारण थुप्रै मान्छेहरु अकालमा नै मृत्युवरण गर्न पुगेका दृष्टान्तहरु छरपस्ट तब भए जब बन्दाबन्दीका कारण अस्पतालहरु बन्द भएसंगै पशुपतिमा जलाइने मृतक संख्या उल्लेख्य रुपमा घटन पुग्यो । चिकित्सा क्षेत्रमा बढेको यस्ता विकृति विसंगतिलाई चुनौती दिंदै प्रत्येक वर्ष जस्तो भोक हडताल गर्ने डा.केसी सत्य र निष्ठामा यति अब्बल देखिए कि, अब उनका हरेक कृयाकलाप राज्यको निगरानीको विषय बन्न पुगेको छ ।

आफ्नो सेवाबाट निवृत्त भएसँगै उनले देशका दूरदराजका जनतालाई सेवा गर्ने पवित्र कर्म शुरु गरे । उनी जस्ता चिकित्सक देख्नु मात्र पनि ठूलो उपलव्धी सम्झनु पर्ने कर्णाली प्रदेशका विकट जिल्लाका जनतालाई सेवा दिन जाँदा समेत समन्वय नगरेको भन्दै स्थानीय गाउँपालिकाका जनप्रतिनिधिहरुबाट अभद्र व्यवहार भएको सुन्नु पर्दा हामीले कस्तो संविधान बनायौं ? जसले प्रत्याभूति गरेको नागरिकले आफ्नो सीप र दक्षता अनुसार गर्न पाउने आफ्नो मौलिक कामलाई समेत बल प्रयोग गर्न संविधानद्धारा नै स्थापित जनप्रतिनिधिहरु लाग्न पुगे ।

गाउँ गाउँमा सिंहदरबार भनेको त, गाउँगाउँमा कहीं राणा दरबार त पुगेको छैन ? टिके र पिर्के सलामी खाँदै जनतालाई शासकीय अनुभूति राम्रैसँग गराउन उद्यत यो शासन सत्ताको शिकार डा.गोविन्द केसी समेत पर्नु एउटा निर्लज्ज संयोग नै मान्नुपर्छ । सत्य र निष्ठाको पर्यायवाची बन्दै आएका डा.केसी हेर्दा निरीह छन् । हातमा लौरो, झोलामा औषधी, भण्डै वर्षाै पुरानो एक जोर कपडा अनि सुकेको शरीर । तर संसार नै बदलौंला जस्तो देखिने अचम्मको उत्साह, त्याग, समर्पण अनि कसैसंग नडराउने निडर व्यक्तित्व । यी हतियारहरु यति प्रवल हुँदा रहेछन कि, यसको अगाडि थुप्रै बाहुबल रुपी शक्तिहरु कायर जस्ता देखिंदा रहेछन ।

एक निहत्था व्यक्तिको निमित्त थरथर काँप्नुपर्ने प्रशासकहरु देख्दा सत्यको संधै विजय हुन्छ भन्ने पुरानो आख्यान वास्तवमै सत्य नै रहेछ भन्न सबै बाध्य हुन्छन । केही समय अघिदेखि राज्य र प्रशासकहरु जनताले राम्रो मानेका मान्छेहरुसँग डराउने विचित्रको प्रशासकीय स्वरुपमा देखिने गरेका छन् । भ्रष्टाचार भयो भनेर औल्याउँदा थुनिनु पर्ने, डा.गोविन्द केसीले ग्रामीण जनता समक्ष पुगी उपचार गर्न खोज्दा अपमानित हुनुपर्ने, लकडाउनको बेला राहात वितरण गरेकै कारण ज्ञानेन्द्र शाहीहरु भागेर हिंड्नुपर्ने, यो कस्तो संस्कार देश भित्र मौलाउँदै छ ।

जस्तो विउ रोप्यो त्यस्तै फल लाग्छ भनेझैं विकृतिले विकृति नै ल्याइ रहेकै त छैन ? सत्य र निष्ठामा हिंड्ने मान्छेहरु आँखाको तारो बन्नु पर्ने वर्तमान अवस्थालाई हेर्दा, यही स्वरुपले निरन्तरता पायो भने अबको केही वर्षमा नै नेपाली समाजले सोच्दै नसोचेको परिणाम भोग्नुपर्ने लगभग निश्चित देखिन्छ । देशले अपनाएको शासकीय स्वरुप भित्र मौलाएको विकृति र विसंगति अनि भ्रष्टाचारका कथाहरु अब कसैले ध्यान दिनु पर्ने विषय जस्तो नै लाग्न छाडेको छ ।

गाउँगाउँमा विकास गरिएका शक्ति केन्द्रहरु, आफैं भ्रष्टाचारका दलदलमा फसेका छन् । प्रजातन्त्रको पर्याय बन्नुपर्ने पारदर्शीता कहीं छैन । विकृति र विसंगतिले धनी बनेका केही मनुवाहरु राजनीतिमा पनि शक्तिशाली बनाइएका छन् । सम्पूर्ण प्रशासन तन्त्र यिनीहरुकै इशारामा चल्छ । अनि यस्तो भएपछि सिद्धान्त र निष्ठा भन्नेहरुको अवस्था गोविन्द केसीको जस्तो हुनु अस्वभाविक होइन । याद गरौं, नेपाली जनताले सोचेको त्याग र बलिदानबाट स्थापित शासन व्यवस्था यस्तो होइन । आन्तरिक रुपमै सबै पक्ष नसुध्रिने हो भने, जनताले एक दिन यस्तो विकृतिको डटेर प्रतिकार गर्नेछन । आफूले परिकल्पना गरेको निष्ठा र आदर्शको समाज आफैंले निर्माण गर्ने छन् ।

Leave a Reply