डा.गोविन्द केसी, संघर्ष एक – उपलव्धी अनेक (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डा.गोविन्द केसी, संघर्ष एक – उपलव्धी अनेक (भिडियोसहित)

संघर्ष एक –उपलव्धी अनेक, नाम र पात्र एक – उपलव्धी अनेक


चिकित्सा क्षेत्रको सुधारको माग राखी अनसनरत डा. गोविन्द केसीको मागलाई अनसन बसेको २७ औं दिनको मध्यरातमा सरकारले सुनिदिएको छ । ६ बुँदे माग राखी १९ औं पटक अनसन बस्नु भएका डा.केसी र सरकारबीच ८ बुँदे सम्झौता भएपछि अनशन तोडिएको छ । स्वास्थ्य अवस्था जटिल भएपछि भएको सम्झौताले दुर्घटना हुनबाट मुलुकलाई बचाएको त छ नै, सम्झौता कार्यान्वयनको अवस्था अब के होला भन्ने चासो सर्वत्र छ । चिकित्सा क्षेत्रमा देखिएको विकृति, विसंगति र माफियातन्त्रको अन्त अब होला त ?

अन्तत् नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीको बीच सम्झौता भइ अनशन तोडिएको छ । सम्झौता अनुसारको प्रगति समीक्षा गर्नुभन्दा पनि यो सम्झौताले अनशनरत डा.केसीको जीवन रक्षा गरेको छ । सरकार पनि एउटा गम्भीर नैतिक संकटबाट बचेको छ । डा. केसीको यो १९ औं अनशन हो । चिकित्सा क्षेत्रमा भएका विकृति विसंगतिलाई औंल्याउँदै सिंगो जीवन नै चिकित्सा क्षेत्रलाई समर्पण गर्दै विचित्रको साहसका साथ अघि बढेका डा. केसी अनशनकै माध्यमबाट पटक पटक आफ्नो माग सम्बोधन गराउन सफल देखिन्छन ।

चिकित्सा क्षेत्रलाई केही वर्ष अघिसम्म सम्मानित पेशाको रुपमा देखिन्थ्यो । डाक्टरहरु जिउँदो भगवान मानिन्थे । माफियाकरण, व्यवसायीकरणमा परिणत भएसँगै बदनाम हुँदै गएको चिकित्सा क्षेत्रलाई पूर्ववत् अवस्थाको रुपमा विकसित गर्न सम्भव नहोला । तथापी पटक पटक भएका सम्झौताहरु कार्यान्वयन हुनसके भने स्वास्थ्य क्षेत्रमा परिवर्तन अवश्य हुनेछ । चिकित्सा क्षेत्रका समस्याहरु अनशनकर्ताको माग माग अनुसार चुड्किको भरमा समाधान हुने खालका छैनन् । दवाव नपुगेर समस्याहरु चुलिएका पनि होइनन् ।

सरकारकासँग साधन र श्रोतको कमी भएसँगै प्रवेश गराइएको निजी क्षेत्र नाफाखोर हुँदै माफियातन्त्रतर्फ उन्मुख भएकैले विकृति र विसंगति जन्मिएको हो । विकृति र विसंगति हटाउनमा सम्झौता कारक हुन सक्ने देखिन्छ । तथापी कतिपय कुराहरु अव्यवहारिक पो छन कि ? यसतर्फ पनि सोच्न जरुरी छ । झण्डै २८ औं दिन अनशन गर्नुहुने डा.गोविन्द केसी सम्झौतासँगै केही सांकेतिक उपलव्धी सहित आफ्नो कर्म क्षेत्रमा जानु त होला, तर सम्झौता कार्यान्वयन गर्न सरकारको साधन र श्रोतले कति साथ देला, त्यो चाहीं कार्यान्वयन भएपछि मात्र देख्न सकिन्छ ।

कसैसँग नडराउने, आफ्नो लक्ष्यप्रति दृढ, लोभलाभ भन्दा पर भएपछि मानिसमा अदम्य साहस र निष्ठा बढ्दो रहेछ

डा.केसी संघर्षशील व्यक्तित्व हुनुका साथै निडर र साहसी पनि देखिएका छन् । कसैसँग नडराउने, आफ्नो लक्ष्यप्रति दृढ, लोभलाभ भन्दा पर भएपछि मानिसमा अदम्य साहस र निष्ठा बढ्दो रहेछ । कर्णाली क्षेत्रका गाउँगाउँमा गरिब र निमुखा जनता समक्ष आफ्नो सीप र कौशल देखाउँदै उनिहरुका आस्थाका केन्द्र बन्न सफल डा.केसीलाई आफ्नो व्यक्तिगत जीवनबारे सोच्ने फुर्सद देखिंदैन ।

कमजोर साधन र श्रोत, निवृत्त अनि वृद्ध शरीर कसैले सोच्नै नसक्ने प्रकारको क्रियाशीलता । उनको जीवनीबाट देशका नव युवाहरुले धेरै कुरा सिक्न जरुरत छ । उनी नक्कली अभियन्ता होइनन् । उनलाई कसैले परिचालन गरेको छैन । उनको कार्यक्षेत्र माइतीघर मण्डला पनि होइन । उनको भविष्यप्रतिको व्यक्तिगत सपनाहरु पनि छैनन् । तथापी देश र जनताको निमित्त उनी कहिल्यै थकित पनि देखिंदैनन् । इतिहासमा विरलै देख्न सकिने यस प्रकारका एक अभियन्ता हुन डा. केसी । त्यसो त उनका संघर्षका पाइलाहरुलाई सनकपूर्ण र उक्साहट भन्दै आलोचना गर्नेहरुको कमी पनि छैन ।

डा.केसीको जीवनीबाट नेपाली जनताले सिक्नु पर्ने महत्वपूर्ण कुरा भनेको आफ्नो निष्ठाको निरन्तरता हो

जो सत्तामा रहन्छ त्यसले प्रतिपक्ष देख्ने राजनीतिक आरोप पनि लगाइने गरिन्छ । जसले जे भने पनि नेपाली जनताले उनलाई सच्चा देशभक्त नागरिकको रुपमा हेर्छन । उनका संघर्षशील पाइलाहरु पनि त्यसैतर्फ उन्मुख छन् । अनसन गर्दैमा सबै कुरा पूरा हुन्छ भनेर सोच्नु पनि हुँदैन । डा.केसीको जीवनीबाट नेपाली जनताले सिक्नु पर्ने महत्वपूर्ण कुरा भनेको आफ्नो निष्ठाको निरन्तरता हो । आज नेपालीहरुलाई आफ्नो पेशा के हो ? आफ्नो अधिकार के हो ? जस्ता कुराहरु पनि कसैले सिकाइ दिनु पर्ने जस्तो देखिंदै गएको छ ।

हरेक क्षेत्रमा बढेको भ्रष्टाचारले गाउँगाउँ बस्ती बस्ती आक्रान्त छ । आफ्नो नजिकैको सडकमा ग्राभेल भन्दै माटो खन्याइ दिने विकासे अभियानप्रति समेत जनता मुकदर्शक छन् । आफ्नो लागि भन्दै आएको विकासे कामप्रति सचेतना छैन । जसले जे गरे पनि हुन्छ । नाम विकास राखिदिए हुन्छ । यस्तो विसंगतिपूर्ण परिवेशमा डा.केसीबाट प्रेरणा लिंदै गाउँगाउँमा बोलि दिने केही अभियन्ताहरु निस्कन सके भने विकासले गति लिन सक्थ्यो । भ्रष्टाचार रोकिनमा सहयोग मिल्थ्यो ।

फलस्वरुप स्वावलम्बी समाजको निर्माण हुन सक्थ्यो । तर उल्टो भूमिका निर्वाह गर्दै लाभ र हानीको हिसाबमा बनेका अभियन्ताबाट यी र यस्ता कुराहरुको परिकल्पना गर्न सकिंदैन । आफ्नाका गन्ध पनि सुगन्ध हुने परिपाटीबाट सबै मुक्त हुन सक्नुपर्छ । राम्रोलाई राम्रो अनि ठीक र बेठिकको स्पष्ट दृष्टिकोण राख्न सकिएमा सबै नेपालीको भूमिका अभियन्ताको जस्तो देखिन सक्छ ।

यो शिक्षा हामीले डा.गोविन्द केसीको जीवनीबाट प्राप्त गर्न सक्छौं । संघर्ष एक –उपलव्धी अनेक, नाम र पात्र एक – उपलव्धी अनेक । यही विशेषताको नाम नै डा.गोविन्द केसी हो । प्राप्त सफलताको निमित्त हार्दिक शुभकामना ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);