स्थानीय सरकारका उदाहरणीय काम : आफू चढ्ने गाडी बिरामी बोक्न प्रयोग | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

स्थानीय सरकारका उदाहरणीय काम : आफू चढ्ने गाडी बिरामी बोक्न प्रयोग

काठमाडौं । कोभिड संक्रमण बढ्दै गएपछि स्थानीय तहका जनप्रतिनिधिले आफू चढ्ने गाडीलाई बिरामी बोक्ने गाडीको रुपमा प्रयोग गर्न सुरु गरेका छन् ।

कोभिड संक्रमित बिरामीलाई उपचार गर्न ट्याक्टरमा राखेर स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै निधन भएको समाचार सार्वजनिक भएपछि जनप्रतिनिधिले आफू चढेको गाडी बिरामी बोक्न प्रयोग गर्न सुरु गरेका छन् ।

डडेलधुराको अमरगढी नगरपालिकाले उपमेयर चढ्ने गाडी बिरामी बोक्न प्रयोग गरे लगत्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरप्रमुख र उपप्रमुख दुवै चढ्ने गाडीलाई बिरामी बोक्ने काममा प्रयोग गर्न सुरु गरेको छ ।

यस अघि सो नगरपालिकाका दुईवटा एम्बुलेन्स र नगर प्रहरीको गाडी बिरामी बोक्ने काममा प्रयोग हुँदै आएकोमा प्रमुख र उप्रमुख चढ्ने गाडी पनि बिरामी बोक्ने काममा नै प्रयोगमा ल्याउन सुरु गरिएको नगरप्रमुख वाशुदेव घिमिरेले बताए ।

सो नगरपालिकाले संक्रमितको उपचारको लागि अक्सिजन सहितको ४० बेडको आइसोलेशन सुरु गरिसकेको छ । जहाँ अहिले २२ जनाभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । सो नगरपालिकाको सभा हल र अतिथिकक्षलाई समेत आइसोलेशन कक्ष बनाउने गरी काम सुरु गरिसकेको छ ।

प्रदेश १ को सुनसरी स्थित बराह क्षेत्र नगरपालिकाले पनि नगरप्रमुख र उपप्रमुखको गाडी बिरामी बोक्ने काममा लगाउन सुरु गरेको छ । गाडी चालकहरुलाई पाइआएको पारिश्रमिकमा ५० प्रतिशत जोखिम भत्ता थप गरी नगरपालिकाका दुईवटै गाडी बिरामी बोक्ने काममा प्रयोगमा ल्याइएको नगरप्रमुख निलम खनालले जानकारी दिए ।

अहिले नै अवस्था भयावह नभए पनि भोलिलाई हेरेर अहिले नै काम सुरु गरेको उनले बताए । सो नगरपालिकामा हाल २१ जनामा संक्रमण देखिएको छ । ‘बिरामी लैजान एम्बुलेन्स नपाएर ट्याक्टरमा लैजाँदा ज्यान गएको खबर सुनेपछि मैले यस्तो निर्णय गरेको हुँ’, खनालले भने ।

नियमित गाडी नचल्दा बिरामीलाई स्वास्थ्य संस्थामा जान नै समस्या परेपछि यस्तो निर्णय गर्नु परेको उनले बताए । गर्भवती, सुत्केरी महिला, अशक्त बिरामी, अपाङ्ता भएका मानिस त्यतिकै मर्ने भए, अस्पताल जानै पाउँदैनन्, धेरै सोचविचार गरेर उपलब्ध वडाध्यक्षज्यूहरु, प्रशासनिक कर्मचारी, चालक समेतलाई राखेर हामीले निर्णय गरेका हौँ’, उनले बताए ।

नगरपालिका भरि यातायात साधन जान सक्ने सबै ठाउँमा ती गाडीले बिरामीलाई ल्याउने र लैजाने गर्ने छन् । सबै पालिकाका गाडी यो संकटको बेलामा यसरी प्रयोग गर्न सके बिरामीलाई उपचारको लागि लैजान सहज हुने उनको भनाई छ ।

नगरपालिकाले संक्रमितको उपचारको लागि नगर अस्पताल स्थापना गरेको छ । नगर अस्पतालमा चौबिसैघण्टा सेवा दिने गरी चिकित्सक सहितका कर्मचारी खटिएका छन् ।

स्वास्थ्यकर्मी र स्वास्थ्यका कर्मचारीको लागि खाने बस्ने सहितको सबै व्यवस्था अस्पतालमा नै नगरपालिकाले गरेको छ । नगर अस्पतालले अहिले कुनै पनि सेवा बन्द गरेको छैन । कर्मचारीलाई जोखिम भत्ता समेत नगरपालिकाले व्यवस्था गरेको छ ।

आइ.एन.ए

Leave a Reply