Our Network

मंसिर २३ २०७८, बिहीबार

सामुदायिक अस्पतालको एम्बुलेन्समा चामल ढुवानी

काठमाडौं, २८ भदौ । एम्बुलेन्सको प्रयोग बिरामी बोक्न हुन्छ । तर, दोलखा सामुदायिक अस्पतालको एम्बुलेन्स भने चामल ढुवानीमा दुरुपयोग भएको छ । बुधबार काभ्रेको बनेपामा चामल र दाल लोड गरिरहेको अवस्थामा एम्बुलेन्स भेटिएको हो ।

एम्बुलेन्सले चामल ओसार्न लागेको जानकारी पाएपछि ट्राफिक प्रहरीले रोक्यो । जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले एम्बुलेन्सले चामल बोकेको सूचना पाएपछि तत्काल कारबाही गरिएको बताए । ‘एम्बुलेन्समा भएको चामल अर्को गाडीमा राखेर पठाइयो, एम्बुलेन्स चालकलाई सचेत गरेर छाडियो,’ दाहालले भने ।

तर, दोलखा सामुदायिक अस्पतालका सञ्चालक अमृतबहादुर बुढाथोकी भने एम्बुलेन्स खाली भएकाले दाल–चामल राखेर चरिकोट लैजान लागिएको बताउँछन् । भक्तपुरको मध्यपुर अस्पतालमा बिरामी पुर्याएर फर्किने क्रममा खाली एम्बुलेन्समा बनेपाबाट दाल–चामल हालेको बुढाथोकीले बताए । चरिकोटस्थित गौरीशंकर बालगृहका लागि १० बोरा चामल र एक बोरा दाल ढुवानी गरेको उनले नयाँ पत्रिकालई बताए । ‘२९ भदौमा हुने साक्षर दिवसका अवसरमा १९ जना अनाथ बालबालिकालाई निःशुल्क वितरण कार्यक्रम रहेकोले १० बोरा चामल र १ बोरा दाल एम्बुलेन्समा ढुवानी गरेको हो,’ बुढाथोकीले भने ।

दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक भने एम्बुलेन्समा चामल ढुवानी गर्नै नमिल्ने बताएका छन् । ‘एम्बुलेन्समा बिरामी बोक्ने हो, खाली फर्के पनि दाल चामल ढुवानी गर्न पाइँदैन,’ प्रजिअ पाठकले भने, ‘मलाई अझै आधिकारिक जानकारी प्राप्त भएको छैन । तर, त्यस्तो गरिएको हो भने कारबाही हुन्छ ।’बिरामी बोक्न आनाकानी गर्ने, तर अन्न ढुवानीमा एम्बुलेन्स प्रयोग भएको भन्दै चरिकोटका स्थानीयले पनि आपत्ति जनाएका छन् । ‘एम्बुलेन्स दुरुपयोग गर्न पाइँदैन । अन्य गाडी र ट्रक हुँदाहुँदै चामल बोक्न किन एम्बुलेन्सको दुरुपयोग भयो । यो विषयमा छानबिन हुनुपर्छ,’ चरिकोटका मानबहादुर थामीले आक्रोश पोखे ।

एम्बुलेन्स खाली भएकाले चामल हालेको हो
अमृतबहादुर बुढाथोकी
सञ्चालक, दोलखा अस्पताल
मध्यपुर अस्पतालमा बिरामी पुर्याएर फर्किएको एम्बुलेन्स खाली थियो । बनेपाबाट चरिकोटमा १० बोरा चामल र १ बोरा दाल ल्याउनुपर्ने थियो । खाली एम्बुलेन्समा चरिकोटसम्म ल्याउन दाल–चामल हालेको हो । गौरीशंकर बालगृहलाई निःशुल्क वितरण गर्ने खाद्यान्न हो ।

एम्बुलेन्समा चामल बोक्न पाइन्न
सागरमणि पाठक
प्रमुख जिल्ला अधिकारी, दोलखा
एम्बुलेन्समा बिरामी बोक्ने हो, खाली फर्के पनि दाल–चामल ढुवानी गर्न पाइँंदैन । मलाई अझै आधिकारिक जानकारी प्राप्त भएको छैन । तर, त्यस्तो गरिएको हो भने कानुनी कारबाही हुन्छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।