दैनिक उपभोग्य वस्तुकाे स्टक तीन महिनासम्म पुग्ने छ : आपूर्ति विभाग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दैनिक उपभोग्य वस्तुकाे स्टक तीन महिनासम्म पुग्ने छ : आपूर्ति विभाग

काठमाडौं । चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।

वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्ने गरी बजारमा स्टक रहेको जानकारी दिए ।

उपभोग्य खाद्यवस्तुको आपुर्ति सहज रुपमा भइरहेको पौडेलले बताए । महानिर्देशक पौडेलले बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद नगर्न पनि आग्रह गरे । खाद्यपदार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उनको भनाई छ ।

दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मुल्यवृद्धि भएको खण्डमा मुल्यवृद्धि गराउनेलाई कारबाही गरिने महानिर्देशक पौडेलले बताए । बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रुपमा अनुगमन गरिरहेको उनकोे भनाई छ ।

दैनिक उपभोग्य वस्तुको आयातमा कुनैपनि प्रकारको समस्या नभएको पनि पौडेलले स्पष्ट पारे । दैनिक उपभोग्य वस्तुहरु, मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उनको भनाई छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपूर्तिकाे समस्या नभएपनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक रुपमा मुल्यवृद्धि भइरहेको बताए । विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नु पर्ने उनको भनाई छ ।

यस्तो परिस्थितिमा बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित कारागारसम्मको कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);