एजेन्सी। भारतमा आयोजना हुने भनिएको अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता संयुक्त अरब इमिरेट्स युएईमा सर्ने सभावना बढेको छ । भारतमा कोरोना भाईरसको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि विश्वकप युएईमा सर्ने सम्भावना बढेको हो ।
विश्वकप आगामी अक्टोबरबाट सुरु हुने तालिका रहेको छ । तर, भारतमा दैनिक ३ लाख भन्दा बढी कोरोना संक्रमित देखिन थालेपछि आइसीसीले टी–ट्वान्टी विश्वकप क्रिकेट आयोजना स्थलको विकल्प खोज्न थालेको बताइएको छ । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआई पनि प्लान ’बी’ अन्तर्गत विश्वकप युएईमा गराउन राजी भएको बताईएको छ ।
यस अघि बीसीसीआईले विश्वकप आयोजनाका लागि आईसीसीलाई ९ खेल स्थलको प्रस्ताव गरिसकेको छ । प्रस्तावित खेल स्थलमा अहमदाबाद, बेंगलुरु, चेन्नई, दिल्ली, धर्मशाला, हैदरावाद, कोलकत्ता, लखनउ र मुम्बई रहेको छ ।
बीसीसीआईले विश्वकप भारतमै गर्ने प्रयास गरिरहेको तर नसकिएको खण्डमा युएईमा आयोजना गर्न सहमत हुने बताएको छ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट २०२१ को अक्टोबरदेखि नोभेम्बरसम्म हुनेछ । विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।