अब फेरि यस्तो नहोस् (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अब फेरि यस्तो नहोस् (भिडियाेसहित)

विक्रम सम्वत २०७२ साल बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भुकम्पमा परेर ५ हजार १ सय ६२ जनाले ज्यान गुमाएका थिए भने भुकम्पकै कारण भएको भौतिक क्षतीको हिसाब नै छैन । विनासकारी भुकम्पले धनजनको क्षती बनाएको घटना भएको ६ बर्ष बितिसकेपनि भुकम्प प्रभावितहरु अहिलेसम्म पनि त्रासदीपुर्ण स्थितीमै छन् । २०७२ वैशाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११ बजेर ५६ मिनेटमा बारपाकलाई केन्द्रविन्दु बनाई ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यही भूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि मानविय र भौतिक क्षती पुगेको थियो । पुरातात्विक दृष्टिले सबैभन्दा बढी क्षती काठमाण्डौ उपत्यकाले ब्यहोनु परेको थियो । भूकम्पले युनेस्कोको विश्व सम्पदा सुचीमा रहेका ६१ दशमलव ८८ मिटर अग्लो धरहरासँगै शताब्दी पुराना कैयौं ऐतिहासिक भवन, स्मारक, मठमन्दीरहरू भग्नावशेषमा परिणत भएका थिए ।

भूकम्पकै कारण सगरमाथामा गएको हिउँ पहिरोमा परेर नेपाली र विदेशी गरी २२ जना पर्वताराहीको मृत्यु भएको थियो भने यो हिमपहिरो सगरमाथामा आएको सबैभन्दा घातक हिमपहिरो बनेको थियो । लाङटाङ उपत्यकामा गएको हिउँ पहिरोमा परि २५० जना बेपत्ता भएका थिए । भूकम्पकै कारण नेपालको कयौँ जिल्लाका हजारौँ गाउँ तथा बस्तीका सर्वसाधारणहरूको भूकम्पले धक्का दिँदा भत्किएका घरले किचेर र पुरिएर मृत्यु वरण गर्न पुगेका थिए ।

मुख्यरूपमा देशको भूविज्ञान र शहरीकरणका कारण भूभौतिकीविद तथा अन्य विशेषज्ञहरूले दशकौँदेखि नेपालमा ठूलो भूकम्प जानसक्ने भन्दै चेतावनी नदिएका पनि हैनन् । तर, विशेषज्ञहरुले चेताउँदै आएको तथ्यलाई सरकारले नजरअन्दाज गरिदिंदा ७२ सालको भुकम्पमा मुलुकले अकल्पनीय क्षती ब्यहोर्नु परेको थियो । जसलाई आज मुलुकभरि अप्रिय सपनाका रुपमा नेपालीहरुले सम्झिएका छन् ।

भुकम्पपछिको यो बिचमा सरकारले प्रभावितहरुको पुनस्र्थापना, भत्केका संरचनाहरुको पुननिर्माणमा देखाएको सकृयता प्रशंसनीय बन्न पुगेको छ । जनताको चहराई रहेको घाउमा मल्हम दल्ने काम भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले सरकार र स्वयं प्रधानमन्त्री ओलीको सपना नै बनेको धरहरा भग्नावशेषबाट उठेर पुनः उपत्यकाको शानका रुपमा ठडिन सफल भएको छ । यस अर्थमा प्रधानमन्त्री ओलीको, “म बनाउँदछु मेरो धरहरा” भन्ने सपना साँच्चै नै यथार्थमा परिणत भएको छ ।

भूकम्पका कारण क्षत विक्षत गाउँहरुले यतिबेला पुनर्जिवन पाईसकेका छन् । भुकम्पको ईपिसेण्टर बनेको बारपाकको जनजीवन पुरानै लयमा फर्किएको छ । बस्तीले पुनर्जीवन पाएको छ । भुकम्पसँगै चर्चामा आएको बारपाक अब पुरानो ढाँचामा हैन आधुनिक शैलीमा सजिएको छ । ढुंगाको गारो, ढुंगाकै छानो भएका घर भएको बारपाक यतिबेला अग्ला पक्की सिमेण्टको गाह्रो भएका घरहरुले सजिन पुगेको छ । भूकम्पपछि सबैभन्दा देखिने परिवर्तनै यतिबेला पीडितका घरहरु बनेका छन् ।

बिगतमा भुगर्भविदहरुले बारम्वार दिंदै आएको चेतावनीलाई बेवास्ता गर्दा पनि २०७२ को भुकम्पका कारण मुलुकले क्षती ब्यहोर्नु परेपछि पछिल्ला दिनमा भने सरकारी स्तरबाटै पनि केही हदसमम सचेतना अपनाउने अभ्यास शुरु भएको देख्न सकिन्छ । घर निर्माण गर्दा भुकम्प प्रतिरोधी हुनै पर्ने भन्दै सरकारले भवन निर्माण संहितालाई अनिवार्य नै बनाएको छ । जसले गर्दा भुकम्पका ससाना झड्का कै कारण कुनै अप्रिय क्षती हुनबाट बचाउने अपेक्षा गरिएको छ । पुनर्निमाण र पीडितलाई राहत पु¥याउनका लागि सरकारले देखाएको तदारुकतालाई सम्मान गर्नै पर्ने हुन्छ ।

विपद आईपर्दा सेवाका लागि मैदानमा उत्रनेहरु थुप्रै हुन्छन् । यसमा विरलैमात्र सेवाभावले पीडितको सेवामा उत्रिएका हुन्छन् । ७२ सालको भुकम्पपछि पनि यस्तै देखियो । पीडितको सेवाका नाममा भुकम्प प्रभावित क्षेत्रमा उर्लिएका कतिपय गैह्र सरकारी संस्था र तिनका विदेशी साझेदारहरुका लागि भुकम्प प्रभावितहरु कमाउने साधन बनेको समाचार बाहिर नआएको हैन । कतिपय अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाका लागि विपद उनिहरुको स्वार्थपुर्तीको माध्यम पनि बन्न पुग्यो । यसका बावजुद कतिपय संस्थाहरुको सेवा भाव र सरकारी संयन्त्रले देखाएको सकृयताले भुकम्पले दिएको पीडा बिर्सन पिडितहरुलाई सहयोग नै गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);