कोरोना भयावह बन्दैछ, सकेसम्म घरबाहिर ननिस्कन अनुराेध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

कोरोना भयावह बन्दैछ, सकेसम्म घरबाहिर ननिस्कन अनुराेध

बाँके । पछिल्लो समय बाँके जिल्ला कोरोना भाइरसबाट निकै प्रभावित बनेको छ । बाँकेमा संक्रमितका मृत्यु हुने दर पनि बढ्दै गएको छ । पहिलो लहरको सिकाइबाट स्थानीय सरकारहरु मिलेर नेपालगञ्जमा ८० बेडको आइसोलेशन बनाएका थिए । उद्योगीव्यवसायीसँग मिलेर उपमहानगरले अर्को ६५ बेडको आइसोलेशन पनि बनाएको थियो ।

कोरोना संक्रमितको उपचार अहिले तीदुईवटा आइसोलेशनमा भइरहेको छ । ‘हामीले बनाएका आइसोलेशन जम्मा १ सय ४२ बेडका छन्, धेरै संक्रमितलाई अक्सिजन नै चाहिने अवस्था भएकाले त्यो पनि अपुग भएको छ’ – बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले बताईन् ।

आइसीयू र भेण्टिलेटर चाहिने संक्रमित धेरै भएकाले अस्पतालमा बेड अभाव नै चुनौती बनेको उनको भनाई छ । ‘पहिले होम आइसोलेशनमै बसेर पनि संक्रमण निको हुने अवस्था थियो, अहिले त्यस्तो छैन, उपमहानगरभित्र भेटिएका अधिकांश कोरोना भाइरस संक्रमित अस्पताल भर्ना गर्नैपर्ने अवस्थाका छ’ –उपप्रमुख मगरले बताईन् ।

भारतसँग सीमानाका जोडिएकाले नेपालगञ्ज संक्रमणको उच्च जोखिममा छ । भारतमा अहिले कोरोना महामारीको सुनामी आइरहेको छ । सो सुनामीको केही हिस्सा भारतबाट आउनेहरु मार्फत नेपाल भित्रिएको छ । भारतमा पछिल्लो समय देखिएको कोरोना भाइरस कडा छ । सो भाइरस नेपालमा पनि देखिकाले चुनौती थपिएको छ ।

संक्रमितले अस्पताल भरिएपछि सर्वसाधारण उपचारबाट वञ्चित हुने अवस्था देखिएको छ । ‘खुल्ला नाका हाम्रो चुनौती हो, हामीले जमुना नाकामा हेल्थ डेक्स राखेका छौँ, तर अन्य धेरै खुल्ला नाका छन्, दैनिक हजारौँ मानिस आउजाउ गर्छन्, रोक्नै सकिँदैन’– उपप्रमुख मगरले भने ।

अहिले नेपालगञ्जमा संक्रमितका लागि अत्यावश्यक अक्सिजन ग्यासको समेत अभाव हुन थालेको छ । नगरपालिकाले अक्सिजन सहितको आइसोलेशन बनाउन लागेको भएपनि अक्सिजन नै नपाइएको मगर बताउनुहुन्छ । ‘बजारमा अक्सिजनको सिलिण्डर नै छैन, सिलिण्डर व्यवस्थापन गरेर महानगरले २ सय ५० बेडको आइसोलेशन सञ्चालन गर्न लागेको छ’– उनले भने ।

सर्वसाधारणको चरम लापरबाही र आफूहरुले कडाइ गर्न नसक्दा संक्रमण समुदायमै फैलिएको समेत उपप्रमुख मगरको भनाई छ । उनका अनुसार अहिले उपमहानगरले १ सय २० बेडको सामुदायिक आइसोलेशन सञ्चालनमा ल्याएर संक्रमितलाई राखेको छ ।

होम आइसोलेशनमा बस्नेको संख्यापनि यतिकै छ । संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले एकसातादेखि लकडाउन जारी गरेको छ । लकडाउन अवधिभर बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र अत्यावश्यक पसल खोल्ने व्यवस्था मिलाइएको छ ।

कोरोना फैलन नदिनका लागि उपमहानगरले कन्ट्याक्ट ट्रेसिङ गर्ने बताउँदै उनले भने – ‘बढी जोखिम क्षेत्रमा ट्रेसिङको काम थाल्छौं ।’ नागरिकले ध्यान नदिए र सहयोग नगरे कोरोना नियन्त्रण गर्न नसिकने स्थानीय जनप्रतिनिधिको निष्कर्ष छ ।

‘व्यवस्थापन पक्षमा हामीले काम गरिरहेका छौँ, अहिलेको स्थितिमा सरकारले चाहेर मात्र पनि हुँदैन, जनताको ठूलो भूमिका हुन्छ, हामीले लकडाउन गरेका छौँ, घरबाट बाहिर मात्रै ननिस्किदिए पनि धेरै सहयोग हुन्छ’ – मगरले बताए । सकेसम्म घरबाट बाहिर ननिस्किन उपप्रमुख मगरले सर्वसाधारणलाई विशेष अनुरोध समेत गरिन् ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);