कोरोना महामारीमा तनाव नलिऔं, सकारात्मक बनौं (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

कोरोना महामारीमा तनाव नलिऔं, सकारात्मक बनौं (भिडियाेसहित)

सरकारले जारी गरेको निषेधाज्ञा र तीव्र गतिमा फैलिइरहेको कोरोना महामारीले यतिबेला जनमानसमा त्रास बढाएको छ । अहिलेको त्रास कोरोना संक्रमणको मात्र नभइ संक्रमित भएको खण्डमा के गर्ने भन्ने अन्योलले पनि सृजना गरेको देखिन्छ । विशेषगरी अस्पतालहरुमा बेड नपाउने अवस्था, अक्सिजनको सिलिन्डर सिमित रहेको लगायतका खबर बाहिरिएकाले पनि आम जनमानसलाई मानसिक तनावको अवस्था बनेको हो ।

तर यहीबीच जनस्वास्थ्य विज्ञहरुले महामारीको अवस्था भएपनि अहिले डराउनु भन्दा सकारात्मक सोचको विकास गर्नु उपयुक्त हुने सुझाव दिइरहेका छन्, जुन मननयोग्य छ । कोरोना संक्रमण हुनासाथ अस्पताल नै जानु पर्ने अवस्था नहुने भएकाले सतर्कता अपनाउँदा पनि संक्रमणको सामना गर्न सम्भव हुने जनस्वास्थ्यविद्हरुको मत छ । औसत रुपमा ८५ प्रतिशत कोरोना संक्रमितहरु घरेलु उपचारले नै ठीक हुने तथ्यांक छ ।

संक्रमितमध्ये १५ प्रतिशतले मात्र अस्पतालसम्म जानु पर्ने र करिब तीन प्रतिशतलाई मात्र सघन उपचार चाहिने भएकाले तत्कालै हतास हुनु नपर्ने उहाँहरुले प्रष्ट्याइरहनु भएको छ । ‘दुखमा आत्तिनु हुन्न’ भन्ने नेपाली उखानलाई यतिबेला मनन गर्नुपर्ने देखिन्छ । हो, अहिले संकटको अवस्था छ, तर जसरी रात पछि बिहानी हुन्छ, त्यसरी नै यो महामारी पनि सकिनेछ । अहिलेको कठिन अवस्थामा आम जनमानसले व्यक्तिगत तहबाटै सतर्कता अपनाए पक्कै पनि महामारीले ठूलो क्षति पु¥याउन सक्दैन ।

नेपालको विगतले समेत यही सिकाइरहेको छ । यसअघि कोरोना महामारी फैलिएको अवस्थामा सरकार र जनताको तहबाट भएको संयुक्त प्रयासले नेपालले कम क्षतिमा महामारीबाट मुक्ति पाउन सकेको थियो । विश्वको तथ्यांक तुलना गर्दा नेपालमा मृत्युदर पनि कम थियो भने, क्रमिकरुपमा संक्रमण दर पनि छिट्टै नै नियन्त्रणमा आएको थियो । यो महामारी नेपालमा मात्र नभइ विश्वव्यापी रुपमा फैलिइरहेको छ ।

विश्वकै समस्या भएकाले यसबाट बच्न सरकारी तवरबाट मात्र नभइ व्यक्तिगत रुपमा समेत प्रयास आवश्यक रहन्छ । शरीरको रोग प्रतिरोधी क्षमता बढाउनका लागि घरेलु विधि अपनाउने, नियमित व्यायाम गर्ने लगायतका प्रयास गरेको खण्डमा पनि संक्रमणबाट जोगिने सम्भावना उच्च रहने अध्ययनहरुले देखाइरहेको छ । यतिबेला ध्यान दिनै पर्ने भनेको पक्ष मनोविज्ञानको हो । महामारीका समय जनमानसमा मनोवैज्ञानिक समस्या देखिने अध्ययनले देखाइरहेको छ ।

विशेषगरी आवश्यकता भन्दा चिन्ता लिने, महामारीका समयमा खराब जीवनशैली जिउने प्रवृत्तिले समेत यस्तो अवस्था आउने देखिन्छ । यसका लागि सकारात्मक जीवन जिउन सिक्नका लागि विज्ञहरुले सुझाव दिइरहेका छन् । खाली समय परिवारसँगको आत्मियता बढाउन, भर्चुअल रुपमा सामाजिक सम्बन्धलाई बलियो बनाउन प्रयोग गर्न समेत सकिन्छ । अहिलेको समयमा सकारात्मक हुन सके, यसले जीवन नै परिवर्तन हुने सम्भावना रहन्छ ।

अन्य पक्षबाट तनाव र बेफाइदा भएपनि व्यक्तिगत स्वास्थ्य, पारिवारिक जीवन र सामाजिक संजालको लागि समय दिन भने सकिने अवस्था छ । यसको अधिकतम उपयोग गर्न सके महामारीको चोट थोरै भएपनि कम नै हुन्छ । विश्वका अन्य मुलुकले महामारीको तेस्रो लहरसम्म व्योहोरेको अवस्थामा नेपालले अहिले दोस्रो लहरको सामना गरिरहेको छ । यो परीक्षाको घडीको रुपमा समेत रहेको छ ।

यस्तोमा सरकारले आग्रह गरेको न्युनतम स्वास्थ्य मापदण्ड पूरा गर्नु र सरकारले जारी गरेको निषेधाज्ञाको इमान्दारीपूर्वक पालना भएमा यो महामारीले पु¥याउने क्षति न्यून हुने पक्का छ । सोहीकारण अहिलेको समयमा डर र त्रासको जालोमा बेरिएर नकारात्मक हुनुभन्दा सतर्क र सचेत हुन आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);