खुला नाका कोरोनाको दोस्रो लहरको स्वागत द्वार नबनोस् (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

खुला नाका कोरोनाको दोस्रो लहरको स्वागत द्वार नबनोस् (भिडियाेसहित)

सन् २०१९ को नोभेम्बरको अन्त्यसँगै शुरु भएको कोरोना महामारीकै कारण बितेको एक बर्षमा विश्वमै कुल २६ लाख ६० हजार १ सय ३१ जनाले मृत्युवरण गरिसकेका छन् भने यो अवधिमा कुल १२ करोड ७४ हजार ३ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोनाकै कारण यसै अवधिमा नेपालमा तीन हजार चौध जनाले मृत्यु वरण गरेका छन् भने २ लाख ७५ हजार ३ सय १० जनामा कोरोना संक्रमण देखिएको थियो ।

गत बर्षको यसै समयबाट नेपालमा समेत महामारीका रुपमा फैलिएको कोरोनाकै कारण तहस नहस भएको मुलुकको आर्थिक क्षेत्रले लय पक्रन पनि सकेको छैन, तर यसको दोस्रो लहरको हल्लाले जनजीवनलाई नै आतंकित बनाईदिएको छ । छिमेकी मुलुक भारतका ठूला शहर र सीमावर्ती राज्यहरुमा कोरोनाको दोश्रो संस्करणको आतंक शुरु भएलगत्तै नेपालमा पनि त्रासको वातावरण सिर्जना भएको छ । कारोनाकै कारण थला परेको मुलुकको आर्थिक क्षेत्र र जनजिवनले भर्खरै लय मात्रै के लिन शुरु गरेको थियो, दोश्रो संस्करण फैलने अर्को त्रासले आम नेपालीका मनमा डेरा जमाउन थालिसकेको छ ।

मुलतः छिमेकी मुलुक भारतसँगको खुला सिमाना र रोजगारीका लागि दुबै देशका नागरिकको निर्वाध आवागमनकै कारण यतिबेला कोरोना संक्रमण सहजै नेपालमा फैलन सक्ने सम्भावनालाई नकार्न सकिन्न । यसमाथी भारतीय ठुला शहरमा कोरोना संक्रमणको दोश्रो लहर शुरु भएसँगै रोजगारीका लागि ति शहरमा गएका नेपाली नागरिकहरु ठुलै संख्यामा स्वदेश फर्कने क्रम बढेसँगै तिनैका माध्यमले संक्रमण नेपाल भित्रिने त्रास बढेको हो । नेपालका खुला नाका यतिबेला कोरानाका लागि स्वागतद्वार जस्ता बन्न पुगेका छन् ।

पछिल्लो समय विभिन्न सिमा नाकामा भारतबाट रोजगारी छाडेर घर फर्किनेको लामो लर्कोसँगै कोरोना भित्रने त्रास बढेको हो । भारतमा कोरोना संक्रमण पुनः बढेको तथा विशु पर्व समेत नजिकिएका कारण रोजगारीका लागि भारत पसेका सुदूरपश्चिमका नेपालीको घर फर्किने क्रम बढेसँगै त्यस भेगमा कोरोना संक्रमणम फैलने चिन्ता पनि बढेको छ । पछिल्लो पाँच दिनको अवधिमा भारतबाट आएका मध्ये ११ व्यक्तिमा कोरोना संक्रमण देखिनुले पनि त्यहाँको सम्भावित तस्वीरलाई प्रष्ट्याउँदछ ।

विभिन्न सिमा नाकामा भारतबाट फर्किनेको भीड बढ्न थालेसँगै कोरोनाको त्रास पनि बढेकाले समयमै सरोकारवाला निकायको ध्यान यसतर्फ नपुग्ने हो भने पहिलो चरणमा मुलुकले नभोगेको क्षती दोश्रो चरणमा भोग्न बाध्य हुनु पर्ने अबस्था यतिबेला छ । हाल फाट्फुट्ट रुपमा देखिएको कोराना संक्रमितहरुको संख्यालाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पुनः सावधानी अपनाउन गरेको आग्रह मात्रैले भने कोरोना संक्रमण रोक्न सघाउँदैन ।

यसकालागि जनतामा कसरी सचेतना जगाउने भन्नेमा समेत सरकारको ध्यान जानु जरुरी छ । यस्तै खुल्ला सिमानालाई ब्यवस्थित गरेर यतिबेलासम्म देखिएको निर्वाध आवागमनमा समेत नियन्त्रणको नीति अबलम्बवन गर्नु उतिकै जरुरी देखिएको छ । स्वास्थ मन्त्रालयले सामाजिक-भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग र साबुन पानीले हात धुन तथा सेनिटाइजर प्रयोग गर्न गरेको अनुरोध मात्रैले भने कोरोना संक्रमण फैलनबाट रोक्ने भन्ने चाहीं हैन ।

कोरोनाको दोश्रो लहर शुरु भएलगत्तै आम जनतामा पुनः लकडाउन हुने त्रासले डेरा जमाएको पाईएको छ । झट्ट सुन्दा धेरैले फेरी के को बन्देज भन्ने प्रश्न उठाउन सक्दछन् । यस्तोमा प्रश्न उठाउनेहरुले बुझ्नै पर्ने कुरा, अहिले हामी जसरी कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै निर्धक्क हिडिरहेका छौं र जोखिम कम हुँदै गएको महसुस गरेका छौँ, त्यसले जोखिम झनै बढाउन सक्छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएको र त्यसको प्रभावबाट खुल्ला सिमाना भएकै कारण नेपाल अछुतो रहने भन्ने कुरै हुँदैन ।

यस्तोमा सम्भव भएजति र हुनेसम्मका सावधानी अपनाउनु आबश्यक छ । सरकारले जनस्वास्थका लागि गर्नु पर्ने काममा बिना कुनै ढिलासुस्ती सजगता त अपनाउनै पर्दछ, योसँगै जनता आफु पनि रोगबाट बच्नका लागि अपनाउनु पर्ने सबै खाले सावधानी अपनाउन चुक्नु हुँदैन । सबै कुरा सरकारले नै गरिदेओस् भन्ने अपेक्षा जनताले राख्नु र जनता आफैं सचेत भएर रोगका विरुद्ध सावधानी अपनाउनु पर्दछ भन्ने सोच सरकारमा पनि हुनुहुँदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);