खुला नाका र विदेशबाट भित्रने यात्रुका बारेमा सरकारले प्रभावकारी नियमन नगर्नाले नेपाल यतिबेला कोरोना जोखिमको केन्द्रमा पुग्ने स्थितीमा आईपुगेको छ । स्वयं स्वास्थ मन्त्रालयले आगामी ६३ दिन मुलुककै लागि कठिनपुर्ण रहेको बताएपछि सहजै अनुमान लगाउन सकिन्छ, नेपालमा कोरोना संक्रमण दर कुन तहमा विस्तारित हुँदै गएको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनु्सार पनि यतिबेला मुलुकमा कोरोना संक्रमण दर २१ दशमलव ५५ प्रतिशत पुगेको र यो बढ्दो क्रममा रहेको छ । मुलुकमा लागु गरिएका स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गरिए ६३ दिनपछि भने संक्रमण क्रमशः घट्दै जाने बताईरहेको स्वास्थ मन्त्रालयले यसमा सरकारीस्तरबाट फैलन नदिनका लागि अबलम्बन गर्नुपर्ने प्रयासमा उ आफैं कति प्रभावकारी रह्यो त्यो भने खुलाउन सकेको छैन ।
मुलुक कोरोनाको जोखिमको कुन तहमा छ भन्ने कुरा पछिल्लो २४ घन्टामा देशभर गरिएका आठ हजार ५५ पिसिआर परीक्षणमा १ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि हुनुले पनि पुष्टि गरेको छ । यसै अवधीमा संक्रमणकै कारण ११ जनाको मृत्यु भएको छ । मुलुक यतिबेला कोरोनाको पहिलो लहर पार गरेको भएपनि दोस्रो लहरको चपेटामा फस्न पुगेको छ । र सरकार आफैं भने नागरिकलाई स्वास्थ मापदण्ड अपनाउन अनुरोध गरिरहेको छ तर, यो दोश्रो वेभको श्रोतमाथीको नियन्त्रण र नियमनमा भने ऊ आफैं प्रभावकारी हुन सकेको छैन ।
यतिबेला छिमेकी मुलुक भारत कोरोनाको दोश्रो लहरको हब नै बन्न पुगेको छ । भारतमा कोरोना भाईरस संक्रमणले माहामारी कै स्वरुप ग्रहण गरिहँदा अन्य राष्ट्रहरुले भारतबाट आउने सम्पुर्ण हवाई सेवाका उडानलाई धमाधम रोक लगाई रहँदा नेपालले भने उडानलाई निरन्तरता दिंदै आएको छ । यतिबेला भारतको उत्तरप्रदेश, दिल्ली र महाराष्ट्र कोरोनाको हब कै रुपमा विकसित हुँदै गएको र दिल्ली काठमाण्डौ उडान भने निरन्तर नै रहनुले पनि कोरोना संक्रमणले सजिलै काठमाण्डुसम्म विस्तारित हुने मौका पाएको छ ।
योसँगै नेपाल भारतबिचको खुला सीमाना भएर दोहोरो आवत जावतले पनि कोरोना संक्रमण सहजै नेपाल भित्रने अबस्था रहेको छ । तर, सरकार भने आफुले निर्वाह गर्नैपर्ने नियमनकारी भूमिकामा चुक्दै गएको छ । आफ्ना कमजोरी लुकाउनकै लागि नागरिकमा जवाफदेहीता पन्छाएर आफु जोगिने काम गरिरहेको छ । खुला सीमा नाका कै कारण यतिबेला सीमावर्ती शहर बीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी र कञ्चनपुर कोरोनाको संक्रमणको उच्च जोखिममा रहेका छन् ।
रोजगारीका लागि भारत गएका नेपालीहरु भारतमा कोरोना संक्रमणले महामारीको स्वरुप ग्रहण गरेसँगै नेपाल फर्कनेहरुको लर्को बढेर गएको छ । भारतका बिभिन्न शहरमा रहेका यि नेपाली स्वदेश फर्किएसँगै कोरोना संक्रमण समेत भित्रने भएकै कारण पनि सरकारको ध्यान सीमा नाकामा केन्द्रित हुनु आबश्यक भईसकेकोमा सरकार आफैंले भने त्यस तर्फ कुनै चासो राखेको पाईदैन ।
छिमेकी मुलुक भारतमा कोरोनाको यो नयाँ भेरियण्ट फैलिँदै गर्दा यो नेपाल नै छिर्न सक्दैन भन्ने जस्तो गरेर सरकारीस्तरमा कुनै तयारी भएको पाईएको छैन । भारत र त्यसका नेपालसँग सिमा जोडिएका राज्यहरुमा महामारी फैलिइसकेको अवस्थामा समेत सिमानामा स्वास्थ्य जाँच र आइसोलेशनको कुनै व्यवस्था सरकारले गरेकै छैन । सरकारले सीमा क्षेत्रमा शुरु गरेको परिक्षण झारा टार्ने हिसाबको मात्रै देखिएको छ ।
त्यही भएर यतिबेला नेपालकै मध्यपश्चिम र सुदुरपश्चिमका सीमावर्ती शहर र बस्तीहरुमा संक्रमण उच्च दरमा फैलन थालेको देखिन्छ । बाँकेमा त स्थानीय प्रशासनले लकडाउनको घोषणा नै ग¥यो । यो अबस्थामा संक्रमण फैलिंदै जाँदा पनि सरकारले पर्याप्त मात्रामा परीक्षण बढाउन सकेको छैन । कन्ट्याक्ट ट्रेसिङ शून्यसरह छ । आइसोलेशन केन्द्रहरू बनाउने कुरा कुरामै सिमित छ ।
स्वास्थ्य मन्त्रालयकै कतिपय विज्ञहरुले हाल नेपालमा देखिएको कारोना भाईरस संक्रमण युके भेरियन्ट रहेको र यो समुदाय स्तरमा फैलिईसकेकाले वर्तमान अबस्थाकै जस्तो लापरवाही कायमै रहे आगामी असार मसान्तसम्म संक्रमितको संख्या ६ लाख पुग्ने बताइरहेका छन् । गत बर्ष एक संक्रमितले थप दुईजनालाई संक्रमित गराउने स्तरको भाईरस संक्रमण रहेको भएपनि यो पटक देखिएको भेरियण्टबाट एक जनाले चार जनासम्मलाई संक्रमित बनाउने भएकैले पनि संक्रमण र यसले सिर्जनागर्ने महामारी कतिसम्म भयावह बन्ला सहजै अनुमान लगाउन सकिन्छ ।