प्रधानमन्त्री ओलीमा हिटलर प्रवृति देखियो : नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानमन्त्री ओलीमा हिटलर प्रवृति देखियो : नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली तर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले अपनाएको शैली हिटलरी भएको टिप्पणी गरेका हुन् ।

यस्तै प्रधानमन्त्री बनाउन जसले भर्‍याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पुर्याईदिएको पनि नेता नेपालको टिप्पणी छ । उनले प्रधानमन्त्री ओलीले केही खास मान्छेहरुलाई किनेर भजनमण्डली बनाएको पनि आरोप लगाए । आफ्नो आदेश अनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने उनको तर्क छ ।

नेता नेपालले संसदले राम्रो भूमिका निर्वाह गर्दै गर्दा पनि आफ्नो समर्थनमा नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई नै घाँडो ठानेको बताए । यस्तै उनले आफूले दिएको आदेश पालना नहुँदा पार्टीलाई नै भत्काइदिने कोसिस गरेको पनि आरोप लगाए । तर नेपाली जनतामा सामना गर्ने क्षमता रहेकाले अन्त्यमा गलत प्रवृतिको हार हुने उनको भनाई छ ।

नेता नेपालले आफूले सकेसम्म सबैलाई सुधार्ने कोसिस गर्ने बताए । अहिले आफूले कुनै व्यक्तिको विरोध गरेको नभई गलत प्रवृतिको विरोध गरिरहेको पनि स्पष्ट पार्दै ।

विगतमा राजतन्त्रले सताएको र त्यसलाई पार लगाएपछि गणतन्त्र स्थापना भएको तर पनि प्रतिगमनले नछोडेको अनुभुति भएको नेता नेपालको भनाई छ । तर अन्त्यमा सत्य कै जित हुने विश्वास आफूहरुको रहेको उनले बताए ।

देशलाई आर्थिक क्षेत्रको प्रगतिमा, आर्थिक समृद्धिको दिशामा लैजान र गरिवी, अभाव, बेरोजगारी यी सबै समस्याहरुको समाधान गर्ने कुरामा सुशासनको अपेक्षा आफूहरुले गरेको पनि नेता नेपालले बताए । यस्तै समाज परिवर्तनका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पनि नेता नेपालले बताए ।

समाजका राम्रा कुरालाई प्रोत्साहित गर्ने र नराम्रा कामलाई निरुत्साहित गर्दै सुन्दर समाज निर्माण गर्ने कुरामा लाग्न पत्रकारहरुलाई नेता नेपालले सुझाव दिए । देशको विभिन्न कालखण्डमा अधिकारका निम्ति भएको राजनीतिक क्रान्तिमा पत्रकारिता जगतले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);