पृथ्वीनारायण शाहबाट कालु पाँडेको मान–अपमान | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पृथ्वीनारायण शाहबाट कालु पाँडेको मान–अपमान

राजकुमार दिक्पाल
लमजुङबाट छुट्टिएर गोरखामा जग बसाएपछि त्यहाँ विभिन्न थरघरका ब्यक्तिहरुलाई समेटेर द्रब्य शाहले राज्य सञ्चालन सुरु गरे । उनले ती थरघरमा अज्र्याल, खनाल, पन्थ (पन्त), बोहरा, पाँडे र राना मगरलाई समेटेका थिए । द्रब्य शाहको भारदारीमा नारायणदाश अज्र्याललाई राजगुरु, सर्वेश्वर खनाललाई राजपुरोहित, गणेश पाँडेलाई मन्त्री वा काजी, भगिरथ पन्थलाई सेनापति वा सरदार, केशव बोहरालाई भूमि विभाग र गङ्गाराम रानालाई न्याय विभागको अधिकारी बनाइएको थियो । तीमध्ये गणेश पाँडेका सन्तति भीमराज पाँडेका छोरा वंशिधर पृथ्वीनारायण शाहको समयमा काजी कालु पाँडेको नामले प्रशिद्ध भए ।

पृथ्वीनारायण शाहअघिका राजाहरुले गोरखाली फौजको नेतृत्व प्राय पन्थ र मगरहरुलाई दिदै आएका थिए । यी दुई जातिमा बेला बेलामा जस अपजस लिने दिने क्रममा हानाथाप हुन्थ्यो । नरभूपाल शाहको समयमा विराज थापा मगर र जयन्त राना मगर गरी दुई जना काजी थिए । दुई वटै काजी पदमा मगरले खाए भनी महेश्वर पन्त र भानु अज्र्यालले असन्तुष्टि जनाए ।

यी मगरले राज्यलाई थामेर मात्र खान सक्छन्, मगरको मात्र भर परेर हजुरको राज्य बढ्न सक्दैन’ भनेर महेश्वर पन्त र भानु अज्र्यालले नरभूपाल शाहको कान भरे । त्यसपछि विराज थापा मगरका छोरा रामकृष्ण थापा काजी पदबाट खोसिए । उनको ठाउँमा महेश्वर पन्त काजी भए । जयन्त रानाको पद चाहिँ कायमै रहृयो । (पन्त, दिनेशराज, ‘गोरखाको इतिहास’ पहिलो भाग–२०४१, पृ. २५९)

पृथ्वीराज थापाले चढाएको जाहेरीअनुसार विराज थापा परलोक भए पनि विराजका भाई र छोराले दुई वर्षसम्म र त्यसपछि महेश्वर पन्तसँग मिली आलो पालो गरी एक दुई बाली खाए । महेश्वर पन्त खोसिई जयन्त रानाले पाए । रामकृष्ण थापाको देहान्तपछि कालु पाँडे काजी भए । रामकृष्ण थापाका छोरा नरकेश्वर थापाले ददाङ्गी मात्र पाए । (पन्त, उही, पृ.२५९)

नरभूपाल शाहको समयमा एक पटक नुवाकोटमा आक्रमण भएको थियो । महेश्वर पन्त र जयन्त रानाले नेतृत्व गरेको गोरखाली फौज उक्त युद्धमा असफल भएर गोरखा फर्केपछि महेश्वरले नरभूपाल शाहलाई ‘हारका कारण मगरहरुको ढिलासुस्ती’ भएको बताइदिएपछि गोरखा आइनपुग्दै जयन्त राना पदच्यूतिमा परिसकेका थिए । त्यसपछि जयन्त गोरखा छाडी नुवाकोटतिर पलायन भई जयप्रकाश मल्लको बफादार उमराव भई बसे । (आचार्य, बाबुराम, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–२०६१ः७४)

यसरी बेला बेलामा गोरखामा हुने पन्त र मगरहरुबीचको हानाथापबाट चतुर राजा पृथ्वीनारायण शाह पनि दिक्क हुन पुगे । त्यसैले उनी गोरखाको नयाँ काजीको खोजीमा थिए । त्यतिबेला उनी आफ्नो राज्यविस्तार अभियान चलाउने योजनामा थिए । उनले राजमाता चन्द्रप्रभावतिसँग ‘मगरको भरले पनि र पन्तका भरले पनि मेरो काम भएन’ भन्दै ‘म काशी जाँदाखेरिको मेहनत देख्दा भीमराज पाँडेका छोरा कालु पाँडेलाई मुख्तियार गराए मेरो काम सिद्ध होला झैँ लागि रहेछ’ भनी सम्मति खोजे । (‘प्राचीन नेपाल’, संख्या २१–२०२९ कात्तिक, पृ. २०)

राजमाताबाट स्वीकृति पाए पनि गोरखाको काजी कसलाई बनाउने भनी उनले गोरखाका थरघर पञ्च बटुली ‘हाम्रा राज्यमा कज्याई दिन लायकको को होला ? आफ्नो चित्तमा लागेको कुरा जस्ताको तस्तै भन’ भन्ने हुकुम दिए । मूलुकको स्थिति बाध्न सक्ने, अन्य राज्यका राजाहरुसित सम्झौता गर्न सक्ने, संकट पर्दा जुक्ति निकाली समाधान गर्न सक्ने योग्य ब्यक्तिलाई काजी दिनुपर्ने सुझाव पृथ्वीनारायण शाहले पाए । बाइसी चौविसी राज्यका राजाहरुले पनि कालु पाँडेले बाँधेको घा (सन्धि) मान्छौंं भन्ने सम्मति पाएपछि पृथ्वीनारायण शाह कालु पाँडेलाई गोरखाको काजी बनाउन तयार भए । (‘प्राचीन नेपाल’, उही)

काजी स्वीकार गर्नुअघि कालु पाँडेले ‘कजाई खानु मेरो जियले मात्र होइन, मेरा दरसन्तान गादीको सोझो गरी काम चलाउन सकुन्ज्याल पाँडेले नै खानु भन्ने बन्देज होस’ भनी बिन्ति गरे । यो प्रस्ताव मञ्जुर गरी पाँडेको सन्तानको कज्याई नखोस्नु भनी पृथ्वीनारायण शाहले गोरखनाथ र काली (गोरखाकाली)को कसम खाए । (‘प्राचीन नेपाल’, उही)

कालु पाँडेलाई यतिले मात्रै पुगेन । उनले गोरखालीका मत पनि जान्न चाहे । उनले दरबारबाट फर्केपछि उपल्लो थरघरदेखि तल्लो विसे नगर्चीसम्मका घरमा गई ‘महाराजबाट मुख्तियार बक्स्यो खाऊँ कि नखाऊँ’ भनी सल्लाह मागे । जवाफमा गोरखालीहरुले ‘महाराजबाट बक्सेको शिर चढाई काम गर्नुपर्छ खानुहोस’ भन्ने सल्लाह दिए । यस्तो सल्लाह आएपछि कालु पाँडेले काजीको पगरी उठाए । (‘प्राचीन नेपाल’, उही)

कालु पाँडेसँगै गोरखाको काजी हुन लायक अर्का ब्यक्ति विराज बखति थिए । पृथ्वीनारायण शाह काशी भ्रमणमा जाँदा उनी पनि सँगै गएर उनको मन जितेका थिए । त्यसैले शास्त्रमा लेखिएअनुसार दुनिया जसदेखि राजी रहन्छ, उसैलाई काजी दिनु भन्ने सुक्तिअनुसार पृथ्वीनारायण शाहले दुनियादारमा कसलाई गोरखाको काजी दिदा उत्तम हुन्छ भनी सम्मति खोजेका थिए ।

उनको उपदेश(आचार्य, बाबुराम र योगी नरहरिनाथ, ‘बडामहाराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’–२०६१ः३७–३८) मा ‘दुनिञांबाट पनि कालु पांडेको र कालु पांडेलाई कजाईं दिनुभया हामी दुनिञादारमा छाहारि रहदो हो भन्या सल्लाहा दिया र. अब बाइसि चौविसिले क्या भन्छन् भनि बुझ्नु हुदा. बाइसि चौविसिबाट पनि कालु पांडेकै चाह रहेछ र कालु पाडेलाई कजाञि भया घाहा घराइस् बलियो राखन्यैछ भन्ने सल्लाह दिया. मेरो मनमा ता विराज बषेति लाई कजाई दिन आटेको थियो. तर ज्याधा बुद्धि कालु पांडेकै ठह¥यो र कालु पांडेलाई कजाञि भयाका हो’ भन्ने परेको छ ।

यसरी दुनियादारबाट सम्मति पाएपछि पृथ्वीनारायण शाहले कालु पाँडेलाई काजी नियुक्ति गरेका थिए । कालु पाँडेले काजी पद ग्रहण गरेपछि उनका लागि ४० मुरी अन्नका साथै वार्षिक ४० देखि ४५ रुपैयाँ तलब तलब तोकिएको संकेत मिल्ने पत्र इतिहासकार दिनेशराज पन्त (पन्त, दिनेशराज, ‘पूर्णिमा’ पूर्णाङ्क ६०–२०४१ माघः ३४) ले प्रकाशमा ल्याएका छन् ।

पत्रको ब्यहोरा यस्तो छः
श्री ५ बहामहाराजाबाट नवाकोट अंमल् नहुँदै मूल् कजाञी कालु पाडेलाई वक्सनु हुंदा जागीर प¥याको दुइ षेत चालीस् मुरी र चाली पैतालीस् रुपैया उठ्न्या घर्तिगाउ । यस पत्रअनुसार गोरखाको नुवाकोटमा अधिकार नहुँदै अर्थात् वि.सं. १८०१ अघिनै काजी कालु पाँडेले पृथ्वीनारायण शाहबाट जागिर स्वरुप ४० मुरी अन्नवाली आउने जग्गा र ४० देखि ४५ रुपैयाँ उठ्ने घर्तिगाउँको खेत जागि पाएको देखिन्छ ।

कालु पाँडेले पृथ्वीनारायण शाह युवराज हुँदै उनको मन जितेका थिए । पृथ्वीनारायण शाहको आफ्ना जेठान दिग्वन्धन सेनसँग विवाद भएको बेला दुलही अन्माउँदा पहिरेको हिराको हार र चढेको हात्तीको दावीका गर्न प्रोत्साहन गर्ने मात्र होइन, लमजुङसँग सन्धि गर्ने कार्यको अघिसरा पनि कालु पाँडे नै थिए । उनैले अनेक जुक्ति लगाई ललितपुर पुगेर त्यहाँका प्रमानहरुबाट हर्जनाका रुपमा धन हात पारी वि.सं. १८१३ कात्तिक ८ गते नुवाकोट फर्केर पृथ्वीनारायण शाहको तत्कालको आर्थिक संकट पनि टारिदिएका थिए । (आचार्य, उही, पृ २३७–२३८)

कालु पाँडेको अपमान
पृथ्वीनारायण शाह कहिलेकाहिँ निक्कै ठूलो राजहठ देखाउँथे । कालु पाँडे पृथ्वीनारायण शाहभन्दा ९ वर्ष जेठा थिए । उनको जन्म वि.सं. १७७० ताका भएको थियो । (कर्माचार्य, गंगा (हाडा), ‘सिनास जर्नल’ वर्ष ३१, अंक २–२००४ जुलाईः३४१)

कर्माचार्य (उहीः३४५–३४६) अनुसार नुवाकोटको महामण्डल गोरखालीको कब्जामा परिसकेको र त्यो युद्धमा आफ्ना छोरा शंखमणि मारिएपछि पुत्रशोकका साथ त्यहाँका उमराव जयन्त राना बेलकोटमा बसेका थिए । उनी गोरखालीसँग मुकाविला गर्न आफ्नो शक्ति एकत्रित गर्दै कान्तिपुरमा पत्राचार पनि गर्दै रहेका थिए । उनको यो अवस्था देखेर पृथ्वीनारायण शाह एकाएक उत्तेजित भइहाले । उनी कसैलाई खबर नगरी सिमित सेनाका साथ पालकीमा चढेर जयन्तमाथि हमला गर्न दौडी हाले ।

जयन्तका विश्वासी मल्ल सेनाहरुले उनीमाथि बाणको बर्षा गर्न लागे । कालु पाँडेले पनि दौडादौड गरेर घोरघाटमा पृथ्वीनारायणलाई भेट्टाए । कालुले ‘हडबडमा लडाई छेडिहाल्नु हुँदैन’ भनी के मात्र बिन्ति बिसाएका थिए, पृथ्वीनारायण शाहले ‘तैले लडाई सिकाउलास र म लडाई गरुँला’ भनी पालकी अगाडी बढाए । उनी शत्रु सेनाको शिविर नजिकै पुग्दा शत्रुपक्षबाट बाणको भारी वर्ष भयो । खतरा आइपरेपछि पृथ्वीनारायण शाह युद्धस्थलबाट फर्कन लागेका थिए, तर कालु पाँडेले छेडिइसकेको युद्धबाट फर्कनु हुँदैन, त्यो भयो भने शत्रुपक्षको मनोबल बढ्छ भनी सम्झाएर युद्ध जारी राखे । जयन्त राना पक्राउ परेपछि युद्ध थामियो ।

वेलकोटमा गोरखाली पक्षको ठूलो क्षति भएको थियो । घाइते सैनिकतर्फ नजर फिजाएर जीतको अवसरमा पनि पृथ्वीनारायण शाहको अनुहार मलिन देखिएपछि कालु पाँडेले कारण सोधे । आफ्नो सेना ध्वस्त भएकोमा भूल सुधार गर्दै उनले कालु पाँडेलाई ‘अबदेखि कटकका कुरामा विना तेरा सल्लाह गन्र्या छैन’ भन्दै कालुको पीठमा धाप दिएर पक्राउ परेका जयन्तलाई साथमा लिएर बेलकोटबाट नुवाकोट फर्के । (कर्माचार्य, उही, पृ. ३४६)

कालु पाँडेप्रतिको अर्को अपमानको सन्दर्भ पनि स्मरणीय छ । कालुको कुरा नसुन्दा पृथ्वीनारायण शाहकै झण्डै ज्यान गएको थियो । उनलाई कीर्तिपुर हात लिन हतारो थियो । वि.सं. १८१२ को असारमा जयप्रकाश मल्लले ललितपुरका मुख्य प्रधान कालीदाशलाई मराएको केही महिनापछि त्यहाँका राजा राज्यप्रकाश मल्लको पनि देहान्त भयो । जयप्रकाश मल्लको ललितपुरको राजगद्दिमाथि दावी थियो । तर कालीदाशका छोरा देवीदाशले विष्णु मल्ललाई ललितपुरको राजा बनाए । ललितपुर राज्यभित्र खिचातानी चलिरहेको दाउ छोपेर पृथ्वीनारायण शाहले सरदार तुलाराम पाँडेका साथ गोरखाली सेना पठाई लामीडाँडाको पूर्व सिमानामा ललितपुरको अधिकारमा रहेको दहचोकगढीमा अधिकार जमाए । (आचार्य, बाबुराम, ‘पूर्णिमा’ पूर्णाङ्क ५०–२०३८ भदौ, पृ. ६)

पृथ्वीनारायण शाह त्यहीँ दहचोक गढीमा गोरखाली फौजलाई तैनाथ राखेर कीर्तिपुर आक्रमण गर्ने पर्खाईमा थिए । तर वि.सं. १८१४ मा भएको कीर्तिपुरसँगको पहिलो युद्धमा कालु पाँडे स्वयम् मारिए भने पृथ्वीनारायण शाहलाई कीर्तिपुरेहरुले लखेट्दा उनले पुतुवारहरुको सहयोगमा बडो मुस्किलले आफ्नो ज्यान बचाएका थिए । कालु पाँडेले तत्कालिन परिस्थितिलाई गम्भीरतापूर्वक नियालेर युद्धका लागि समय अनुकूल नभएको बताइरहेका थिए । उनले उपत्यकाका तीन वटै राज्य एक भइरहेको अवस्थामा कीर्तिपुर आक्रमण गर्नका लागि समय प्रतिकुल भइरहेको बताइरहेका थिए । कालुको कुरा सुनेर पृथ्वीनारायण शाह क्रुद्ध भए ।

त्यसपछि पृथ्वीनारायण शाहले कुलानन्द जैसीलाई युद्धको साइत निकाल्ने आदेश दिए । तर कुलानन्दले ‘अहिले हजुरको दिनदशा पनि उस्तो असल छैन । कीर्तिपुर हान्ने साइत पनि पाइएको छैन । कीर्तिपुर हान्ने उद्योग नगरी बक्स्योस । जहिले साइत ठहर्ला उहिले बिन्ति गरी पठाऊँला’ भने । दहचोकगढी कुरेर बसेका हरिवंश उपाध्ययले पनि तत्काल कीर्तिपुरमा विजय पाउन सम्भव नभएको बिन्ति बिसाए । तर क्रुद्ध बनेका पृथ्वीनारायण शाहले दुवैलाई नराम्ररी हप्काएर ‘तिमीहरु दुवै कालेको मूतमा बगेका रहेछौ’ भन्दै बालकृष्ण जैसीलाई युद्धको साइत हेर्न लगाए । (‘प्राचीन नेपाल’ संख्या २२–२०२९माघ, पृ. ११)

राजाको यस्तो हठ र क्रोध देखेर दिक्क मान्दै ज्योतिष कुलानन्द ढकाल लमजुङतिर गए । बालकृष्ण जैसीले साके १६७९ (वि.सं. १८१४) जेठ १९ गते शनिबारको साइत निकालिदिए । फेरि पनि कालुले पृथ्वीनारायण शाहसमक्ष ‘महाराज, अझ पनि म बिन्ति गर्छु, कीर्तिपुरका मद्दतलाई तीनै राजाका लस्कर आएका हुनाले हाल कीर्तिपुर बलियो छ, तसर्थ हान्नु ठीक छैन । पछि यी तीन राजालाई फोरी हान्नु वेश हुन्छ’ भनी बिन्ति बिसाए । तर पृथ्वीनारायण शाहले कालुलाई ‘तलाईँ मर्न गाह्रो लाग्यो कि’ भनी फेरि हप्काए । त्यसपछि कालुले ‘मैले मरी हजुरको सब्य हुन्छ भने म मर्छु’ भनी मुखमा पञ्चरत्न हालेर आफ्ना नावालक छोरा वँशराज पाँडेलाई पृथ्वीनारायण शाहको जिम्मा दिएर उनी युद्धका लागि कीर्तिपुरतर्फ अघि बढे ।

कालु पाँडेको मृत्यू र गोरखालीको हार
उपत्यका जित्न चाहनेका लागि कीर्तिपुरको डाँडो ठूलो चुनौति थियो । कीर्तिपुरको हालको वस्तीमध्ये त्यतिखेर ६० प्रतिशत कम थियो । उत्तर पश्चिम पाखो र दक्षिण पनि आधाभन्दा बढी भाग जङ्गलले ढाकिएको थियो । जङ्गलमा रुख काट्नु, हाँगा छाँट्नु, बाँदर, सर्प मार्नु पुरै वर्जित थियो । सम्पूर्ण वस्ती पर्खालले घेरिएको थियो । हालको गागल, पालिफल, नाय्त्व र बाहिरी गाउँको ढोका मात्र तलसम्म आएका थिए । अन्य आठ वटा ढोका भिरालो या डाँडामाथि थिए । दहचोकबाट कीर्तिपुरको डाँडो डेढ घण्टा हिडाईंमा पुगिन्छ । वल्खु खोला तरेर जङ्गल छिचोली गढको रुपमा रहेको पर्खाल वा ढोका फोडी वा गढपर्खाल उक्ली कीर्तिपुरमा हमला गर्नु कठीन कार्य थियो । कीर्तिपुर हान्न कालु पाँडेको नेतृङ्खवमा आएको गोरखाली सेनाले पश्चिम पाखोमा आई ढोका ढक्ढक्याउन थाले । घेरा हाले । (श्रेष्ठ, शुक्रसागर, ‘कीर्तिपुरको सांस्कृतिक तथा पुराताङ्खिवक इतिहास’–२०५७, पृ. १५)

युद्ध गढपर्खालमा नभई उत्तर र पूर्वी फाँटमा हुन पुग्यो । पाटन र भक्तपुरका सैनिक बागमति नदी तरी भाजंगल हुँदै आए । कान्तिपुरका सैनिक बल्खु तरी हालको नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास)तर्फ बढ्दै आइरहेका थिए । गोरखाली सेना ती दुवै सैनिकलाई छेक्न तल ओर्लनु परेको थियो । फलस्वरुप हालको स्टेडियमदेखि दक्षिण सुन्दरीघाट पश्चिम कीर्तिपुर डाँडादेखि झःख्यः र नरलफाँटमा घमासान युद्ध भयो । (श्रेष्ठ, उही, पृ. १६)

बालकृष्ण जैसीले निकालिदिएको साइतअनुसार वि.सं. १८१४ जेठ १९ गते उज्यालो नहुँदै खानपिन सकेर कालु पाँडे १२ सय जति सैनिक आफ्नो साथमा लिई दहचोक गढीबाट तल झरे । सैनिक दलका पछि आफ्ना अँगरक्षकसहित स्वयम् पृथ्वीनारायण शाह पनि दहचोकबाट तल झरे । कीर्तिपुरदेखि उत्तरपश्चिमको झम्सिखेल चौरमा गोरखाली सैनिक दल जम्मा हुँदा जयप्रकाश मल्लको नेतृङ्खवमा कान्तिपुरको सैनिक दल पनि आइपुग्यो । गोरखाली र कान्तिपुरको सैनिकहरु युद्धरत रहेको अवस्थामा मध्यान्हमा ललितपुर र अपराहृन भक्तपुरका सैनिकहरु युद्धमा सामेल हुन आइपुगे । गोरखाली सैनिकहरुले नै दपेटा दिइरहेको अवस्थामा अचानक शत्रुपक्षबाट छुटेको काँड कालु पाँडेको शिरमा प्रहार भयो । उनी ढले । सेनापति नै ढलेपछि गोरखाली सैनिक तितरबितर हुन थाले । (गंगा कर्माचार्य (हाडा) ‘सिनास जर्नल’ वर्ष ३१ अंक १–सन् २००४ जुलाई, पृ.३५०)

खुँडा प्रहार गरिएकोले कालु पाँडेको मृत्यू भएको भन्ने अर्को विश्वास पनि छ । युद्ध चलिरहेको बेला काजी धनवन्तका छोरा वीरनरसिंहले उनको गर्दनमा खुँडा प्रहार गरी शिर छिनालिदिएका थिए । शिर विनाको उनको सरीर ५० फिट जति दगुरेपछि ठक्कर लागेर अड्कियो । तैपनि उनको हातमा तरबार छँदै थियो । (कर्माचार्य, उही, पृ. ३५१)

आखिर कालु पाँडेले भनेजस्तै भयो, युद्धको परिणाम पनि । अलि परबाट युद्धको दृश्य हेरिरहेका पृथ्वीनारायण शाहले आफ्ना सैनिकलाई फर्कन आदेश दिए । युद्ध मैदानमा कालु पाँडेको मृत्यू भएपछि कीर्तिपुरे फौजले पृथ्वीनारायण शाहलाई लखेट्न थाल्यो । त्यो लखेटाईमा पर्दा एक जना कीर्तिपुरे फौजले पृथ्वीनारायण शाहको गर्धनमा ताकेर खुँडा प्रहार गर्नै लागेका थिए । तर कसैले ‘सेनाले राजालाई मार्नु हुन्न, राजालाई राजाले मार्नुपर्छ । होइन भने धर्मविपरित हुन्छ’ भनेकाले उनी दहचोकसम्म पुगेर बच्न सफल भए । (कर्माचार्य, उही, पृ. ३५२)
दहचोक पुगेर ‘काल्याले त भन्याथ्यो मेरो हट्ले लडाई विग¥यो’ भन्दै पृथ्वीनारायण शाह ठूलो पश्चाताप गर्दै विह्वल बनेका थिए ।

कालु पाँडेको समाधि
युद्ध थामिएपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले कालु पाँडेको शिर मात्र काटेर लगेका थिए । मल्ल सेनाले गोरखाली सेनाको ढाल, तरवार, खुँडा आदि कीर्तिपुरको बाघ भैरव देवालयमा टाँसिदिए । मन्दिरको माथिल्लो भागमा टाँसिएको हेलमेट, तरवार कालु पाँडेका थिए भन्ने विश्वास गरिन्छ । भाजंगलमा रहेको एक थुम्कोलाई स्थानीय बासिन्दाहरु कालु पाँडेको थुम्को भनेर विश्वास गर्छन् । जयप्रकाश मल्लले काटेर लगेको कालु पाँडेको शिर घुमाएर कीर्तिपुरेले प्रदर्शन गरेको र विजयले मात्तिएको उक्त भीडले प्रदर्शनका लागि बाघ भैरवको मन्दिरमा उक्त शिर झुण्ड्याइदिएको भनाई पनि कहिँकहिँ रहेको छ । (कर्माचार्य, उही, पृ. ३५१–३५२)

दहचोकको सबैभन्दा अग्लो ठाउँमा कालु पाँडेको समाधि रहेको छ । कालु पाँडेकै अन्तिम इच्छाअनुसार गोरखा र कीर्तिपुर टड्कारै देख्न सकिने ठाउँमा उनको शिर गाडी समाधिस्थल बनाइएको थियो । तेस्रो पल्टको प्रयासपछि कीर्तिपुर विजयपछि वंशराज पाँडेले राजाको आदेश पाई दहचोकमा उनको स्मृतिमा समाधिस्थल बनाइएको पनि हुनसक्छ । (कर्माचार्य, उही, पृ. ३५४)

पृथ्वीनारायण शाहमा यसको थकथकी पछि सम्म रह्यो । माझकिरातको युद्धमा तयारी रहन आग्रह गर्दै सरदार रामकृष्णलाई पृथ्वीनारायण शाहले लेखेको पत्रमा पनि उनको यस किसिमको पश्चाताप झल्कन्छ । उनले लेखेको पत्रमा ‘जब कीर्तिपुरमा कालु पाँडे मारिए, म दुःखी भएँ । मलाई नेपालको तीन सहर जित्न सक्दिनँ कि भन्ने भएको थियो । तर तिम्रो बुद्धिमानी र तरबारले त्यो काम फत्त भयो…’ भन्ने परेको छ । (रेग्मी, महेशचन्द्र, ‘रेग्मी रिसर्च सेरिज’ वर्ष ४ अंक ५–सन् १९७२ मे, पृ.९४–९५)

कालु पाँडे मारिनुमा पृथ्वीनारायण शाहको राजहठ मुख्य जिम्मेवार देखिन्छ । तत्कालिन प्रतिकुलतालाई मध्यनजर राखेर पृथ्वीनारायण शाहलाई तत्काल कीर्तिपुर आक्रमण गर्ने समय आइसकेको छैन भन्दा राजाबाट अपमानपूर्ण खप्की खाएर युद्धमैदानमा ओर्लदा सम्भवतः कालु पाँडेको मनमा धेरै उत्साह थिएन । उनी त मारिए नै कीर्तिपुरको पहिलो युद्धमा गोरखालीको ठूलो क्षति मात्र भएन, पृथ्वीनारायण शाहकै ज्यान जोखिममा परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);