यस्तो थियो पृथ्वीनारायण शाहमा विराज बखेतीको प्रभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

यस्तो थियो पृथ्वीनारायण शाहमा विराज बखेतीको प्रभाव

राजकुमार दिक्पाल

नेपाली इतिहासमा प्रशिद्ध काजी कालु पाँडेले पृथ्वीनारायण शाह युवराज हुँदै कुटनीतिक भूमिका र युद्धकौशलमा नाम कमाउन सुरु गरिसकेका थिए । पृथ्वीनारायण शाहले बनारस भ्रमणबाट फर्केपछि गोरखाको नयाँ काजी कसलाई बनाउने भन्नेबारे परामर्श लिन सुरु गरे । गोरखाली परम्पराअनुसार गोरखामा पन्त र मगरहरुले काजी पाउँदै आएका थिए । यी दुईबीच कहिलेकाहिँ हानाथाप चल्थ्यो ।

खासगरी नुवाकोट आक्रमणमा पहिले नरभूपाल शाहको समयमा महेश्वर पन्त र जयन्त राना जाँदा उनीहरु असफल भई फर्केका थिए । पृथ्वीनारायण शाह राजा भएपछि महेश्वर पन्त र विराज थापा मगर पनि नुवाकोट दखल गर्न असमर्थ भएका थिए । त्यसैले ‘यी दुवैको भरले आफ्नो काम नहुने’ भन्दै उनले गोरखाको नयाँ काजीको खोजी गरेको स्पष्टिकरण दिएका थिए । (‘प्राचीन नेपाल’, सङ्ख्या २१–२०२९ कात्तिक, पृ.२०)


पृथ्वीनारायण शाह बनारस भ्रमणमा जाँदा कालु पाँडे गोरखा दरबार कुर्नेमा परेका थिए । महारानी चन्द्रप्रभावतिले कज्याइँ दिनका लागि कालु पाँडेको नाम अघि सारिन् । तर बनारस यात्रामा विराज बखेतीले पृथ्वीनारायण शाहको मन आफूतिर फर्काएका थिए ।

यस अवस्थामा उनले गोरखाका सबै भलादमीको राय लिन उचित सम्झेर भैयाददेखि विस्या दमाई (विसे नगर्ची)सम्मको राय लिँदा र चौबीसी तथा बाइसी राजाहरुले पनि यिनकै चाहना गरेको देखेर कालु पाँडेलाई गोरखाको नयाँ काजीको पगरी पहिराइदिए । (आचार्य, बाबुराम, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–२०६१, पृ.१५०–१५१)


पृथ्वीनारायण शाहको उपदेश (आचार्य, बाबुराम र योगी नरहरिनाथ, ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’–२०६१, पृ.३८) मा ‘…मेरो मन त विराज वषेतिलाइ कजाइ लिन आटेको थियो. तर ज्याधा वुद्धि कालु पांडेकै ठह¥यो र कालु पांडेलाई कजाञि भयाको हो…’ भन्ने परेबाट विराज बखेतीप्रति उनको अनुराग वा प्रभाव रहेछ भन्ने पुष्टि हुन्छ ।

तर नेपाली इतिहासमा जब पृथ्वीनारायण शाहले आफ्नो नयाँ रणनीतिअनुसार गोरखाको नयाँ काजी छान्ने बेलाको समयको सन्दर्भमा ‘हुन त उनले विराज बखेतीलाई काजी दिन चाहेका थिए, तर धेरैले कालु पाँडेलाई रुचाएका कारण उनैलाई काजी दिइयो’ भन्ने प्रसङ्गमा मात्र विराज बखेतीको चर्चा हुने गरेको छ ।

उनले आफू गोरखाली भारदार हुनुको नाताले केकस्ता कामले पृथ्वीनारायण शाहलाई प्रभावित बनाएका थिए भन्ने विषयमा भने कमै चर्चा हुने गरेको पाइन्छ । यस लेखमा उनको योगदान र उनले पृथ्वीनारायण शाहलाई पारेको प्रभाव बारे केही चर्चा गरिएको छ ।

बनारस भ्रमणमा विराज बखेती
पृथ्वीनारायण शाह वि.सं. १७९९ वैशाख ३ गते उनी गोरखाको राजसिंहासनमा बसे । आफ्नो राज्याभिषेकपछि उनी बनारस भ्रमणमा निस्के । आचार्य (उही, पृ. ११५) ले उनी सन् १७४३ अक्टोवर (असोज÷कात्तिक)तिर बनारस प्रस्थान गरेको अनुमान गरेका छन् । उनको ३६ सदस्यीय भ्रमण दलमा विराज बखेती पनि एक थिए । (आचार्य, उही, पृ. १२५–१२६) पृथ्वीनारायण शाहको बनारस भ्रमण बाहिरी रुपमा हेर्दा आध्यात्मिक जस्तो मात्र देखिन्छ ।

तर उनको भ्रमणको उद्देश्य त्यहाँ तीर्थस्थलको दर्शन मात्रै थिएन, तत्कालिन राजनीतिक परिस्थितिको विषयमा गहन अध्ययनका साथै युद्धका लागि बन्दुकजस्तो हतियार खरिद गर्नु पनि उनको बनारस भ्रमणको उद्देश्य रहेको थियो । आफू युवराज हुँदै नेपाल (उपत्यका)माथि आँखा लगाइसकेका उनी आफ्नो राज्यविस्तार अभियान प्रभावकारी रुपमा यथासक्य चाडै चलाउन चाहन्थे । बनारस भ्रमणबाट फर्कदा गोरखपुरको बाटो गरी पाल्पा हुँदै गोरखा उत्रने उनको योजना रहेको थियो ।

फर्कदा बाटामा पर्ने एक जगात भन्सार उठाउने चौकीदारले उनीहरुलाई भारी खोल्न कर लगाए । पृथ्वीनारायण शाहले ती कर्मचारीहरुको ब्यवहार आफ्नो अपमान सम्झेँ । कुरा बढ्दै जादा ती कर्मचारीहरुले हातै छाड्न थालेपछि उनीहरुलाई आफ्ना अङ्गरक्षकहरु लगाएर कटाइदिए । (आचार्य, उही, पृ.११८–११९) भन्सारका ती कर्मचारीहरुले पृथ्वीनारायण शाह चढेको घोडाको चारजाम पक्रने काम गरे ।

उनकै अगाडी रहेका गोरखाली अफिसर लक्ष्मीनारायण पाँडे, गुणनिधि पन्त, रामकृष्ण थापा र विराज बखेतीको तरबार खोस्न खोजे । पृथ्वीनारायण शाहले इशारा गरी उनीहरुलाई तरबार नदेऊ भन्ने आदेश दिए । त्यसपछि गोरखाली अफिसरहरुले तरबार चलाएर ती कर्मचारीहरुको ज्यान लिए ।(‘प्राचीन नेपाल’, उही, १६) आचार्य (उही, पादटिप्पणी, पृ.१३८–१३९) अनुसार आफूमाथि हातपात गर्ने भन्सारका कर्मचारीहरुमाथि पृथ्वीनारायण शाहको आदेश अनुसार तरबार चलाउनेहरुमा विष्णु शाह, तुला शाह, भद्र शाह, लक्ष्मीनारायण पाँडे, गुणनिधि पन्त, रामकृष्ण थापा ग्रान्जा, नन्दु उपाध्यय कडरिया, चामु खत्री, जसिवन्त राना, देवु राना, सोट्या बनुवा थापा, जसकर्ण बोहरा, मुढ्या थापा, शिवराम बस्नेत, चामु रोकाया, अंगद द्वारे, ठुन्या द्वारे, सतै द्वारे, मनिकंठ राना वुसाल, नैचराम द्वारे, धज्जमनि द्वारे, बलिभञ्जन मल्ल र विराज बखेती थिए ।

यो घटना बरुणा चौकीमा भएको थियो ।घटनापछि पृथ्वीनारायण शाहलाई त्यहाँका सुरक्षाकर्मीहरुबाट सुरक्षा चुनौति आउने भयो । उनी जोगिन आवश्यक भयो । पालकीमा चढेर हिड्दा उनको पहिचान खुल्ने र उनी निशानामा पर्ने अर्को भय भयो । त्यसैले पृथ्वीनारायण शाहले तत्कालै निकालेको जुक्तिअनुसार उनको भेषभुषा लगाएर राजाका रुपमा विराज बखेतीले पालकी चढेर यात्रा गर्नुपर्ने भयो ।

पृथ्वीनारायण शाह भने साधारण भारदार बनेर पैदल यात्रा गर्न तयार भए । तर भाई छोरा थरघरले जय बानियाँ नामका अर्का भारदारको अनुहार पृथ्वीनारायण शाहसङ्ग मिल्दोजुल्दो भएकोले उनैलाई राजाको भेष धारण गराई नक्कली राजा बनाई पालकी चढाइयो । सुरक्षित स्थानमा आइपुगेपछि जय बानियाँले भेष बदले । (‘प्राचीन नेपाल’, उही, पृ. १६)

बनारस सहरमा त्यो समय नागा वैरागीहरुको गुण्डादल यत्रतत्र हुन्थे । पृथ्वीनारायण शाहले त्यस्तै गुण्डादलका एक नाइके फेला पारे । उनलाई प्रशस्त धन दिने लोभ देखाई बुटवलसम्म सुरक्षित रुपमा पु¥याइदिन आग्रह गरे । गुण्डादलको सहयोगमा पृथ्वीनारायण शाहसहित गोरखाली टोली सुरक्षित रुपमा बुटवल उत्रन सफल भयो । यस्तो गुण्डादलले तीर्थस्थलहरुको दर्शनमा पनि अवरोध खडा गथ्र्यो । त्यसबेला बनारसमा ६ हजारजति गुण्डाहरु थिए ।

पृथ्वीनारायण शाहलाई विश्वनाथको दर्शन गर्न पण्डा र गुण्डाहरुले बाधा अड्चन पु¥याउँदा उनको टोलीमा गएका शिवरामसिंह बस्नेत र विराज बखेतीले तिनीहरुलाई दमन गर्न भूमिका खेलेका थिए । गोरखालीले विश्वनाथ र अरु तीर्थस्थलमा सजिलै प्रवेश पाएकोमा त्यहाँ पुगेका जाजरकोटका राजा हरि शाह पनि गोरखालीहरुप्रति प्रभावित भएका थिए । (बस्न्यात, डा. निरञ्जनमानसिंह, ‘गोरखापत्र अनलाइन’–२०७७ फागुन ८)

राजाको तरबार विराज बखेतीसङ्ग
बनारस भ्रमणका क्रममा पृथ्वीनारायण शाहले पूर्व योजनाअनुसार सिद्ध वैरागी गुलावरामसङ्ग पनि भेट गरेका थिए । उनी गोसाइस्थानको तीर्थ गरेर फर्कदा नुवाकोट आक्रमणका लागि खटिएका महेश्वर पन्तसङ्ग उनको भेट भएको थियो । ती वैरागीले ‘यस ढङ्गले नुवाकोट दखल हुन सक्दैन, तिम्रा राजालाई मसङ्ग भेट्न पठाऊ, उपाय म दिऊँला’ भनेर गएका थिए । त्यो सन्देश सुनेपछि पृथ्वीनारायण शाहले उनीसङ्ग भेट्न गर्ने इच्छा गरेका थिए । बनारसमा भेट हुँदा ती वैरागीले पृथ्वीनारायण शाहलाई प्रसादस्वरुप एक तरबार दिएका थिए । (आचार्य, बाबुराम, ‘पूर्णिमा’ पूर्णाङ्क ५०–२०३८ भदौ, पृ.१–२)

यो तरबारलाई पृथ्वीनारायण शाहले शमशेर तरबार भनेका छन् । हिउँदको बेला जाडो छल्न पाल्पाली राजा बुटवल झर्थे । उनीहरु फागुनको १५–२०सम्म बुटवल बस्थे । पृथ्वीनारायण शाहले आफ्ना मावली राज्यमा पाहुना भएर बास बस्ने विचार गरे । उनले युद्धको बन्दोबस्तीका लागि बन्दुकका साथै पाल पनि खरिद गरेका थिए । पाल बोक्ने मानिस आइनपुग्दा विराज बखेती उनीहरुको खोजीका लागि गएका थिए । बनारसमा उपहार पाएको शमशेर तरबार कहिले पृथ्वीनारायण शाहको हातमा त कहिले विराज बखेतीको हातमा हुन्थ्यो ।

बुटवल बासको बेला पनि एउटा अप्रिय घटना भयो । उनी शौचमा जाँदा अलि ठूलो आवाज आएकोले पाल्पाली राजाका केही रैतिले ‘साना मूलुकका कङ्गाली राजा कचपच कुरा खाँदारहेछन्, खाएपछि दर्द हुन्छ’ भनेको उनको कानमा पुगिहाल्यो । उनी क्रुद्ध भए । उनले शौच सक्ने बित्तिकै आफू मातहतका अंगद द्वारे र चौतारा द्वारेलाई आदेश दिई आफ्नो नराम्रो कुरा काट्नेलाई तत्कालै कटाइदिए । हो–हल्ला भयो । धेरै पाल्पालीहरु जम्मा भए ।

उनले वैरागी गुलावरामले प्रसाद दिएको शमशेर तरबारको खोजे । तर त्यस तरबार विराज बखेतीको हातमा भएको सुनेर उनी थप क्रुद्ध भए । थरघरले ‘हजुरैको काममा गएका हुन्’ भन्दा उनले ‘सिद्धबाट संग्राम पर्दा यो तरबार अगाडी ल्याउनु भन्ने आज्ञा भएको थियो, यस्तो बेला पाइन भने त्यसको के काम’ भन्दै उनी अर्को तरबार झिकी आफै अघि सरे । यो काण्डमा पाल्पालीका ६० देखि ८० जना परे । (‘प्राचीन नेपाल’, उही, पृ. १७)

यो कुरा पाल्पाली राजा गन्धर्व सेनकहाँ जाहेर भयो । उनी पृथ्वीनारायण शाहका मामा थिए । उनले यो समस्या समाधानका लागि ब्राहृमणहरुलाई पठाए । जसबाट गल्ती भएको हो, उसलाई क्षमादान गर्न भनेपछि पृथ्वीनारायण शाहले आफ्नो तरबार म्यानमा राखे । त्यसपछि उनका लागि भान्सा तयार भयो । खाना खादै गर्दा विराज बखेती भरिया लिएर आइपुगे । उनले विराज बखेतीलाई ‘सिद्धले दिएको तरबार यहीँ छाडी जानुपर्ने हो । आज तैंले बडो बखत चुकाइस् । यहाँ पाल्पालीसित कस्तो खडाजंगी प¥यो । अब त्यो तरबार तैंले लिन पाउँदैनस् । आजदेखि जसवन्त राना ग्याङ्मीलाई तैंले त्यो तरबार दिनू’ भन्ने हुकुम दिए । (‘प्राचीन नेपाल’, उही, पृ. १८)

पृथ्वीनारायण शाह बनारस भ्रमणबाट फर्की बुटवलमा बास गर्दा पाल्पाली राजा गन्धर्व सेन थिए कि थिएनन् भन्नेमा इतिहास शिरोमणि बाबुराम आचार्यले अन्योलता खडा गरिदिएका छन् । उनले ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१, पृ.११९)मा त्यसबेला गन्धर्व सेनको मृत्यू भइसकेको र उनको ठाउँमा उनको नाती मुकुन्द सेन (द्वित्तीय) पाल्पाका राजा थिए भन्ने उल्लेख गरेका छन् । उनैले ‘पूर्णिमा’ को सङ्ख्या ५० (२०३८ भदौ, पृ. २)मा बनारसबाट पृथ्वीनारायण शाह फर्कदा हिउँद हुनाले गन्धर्व सेन बुटवलमै थिए भनी उल्लेख गरेका छन् ।

यसरी बनारस भ्रमणको समयमा पृथ्वीनारायण शाहलाई प्रभाव पारी उनको विश्वास जितेका विराज बखेती पृथ्वीनारायण शाहले आफ्नो विजय अभियान सुरु गरेको नुवाकोटको युद्ध (वि.सं. १८०१ असोज १५)मा भाग लिएको देखिन्छ । चार ठाउँबाट नुवाकोट आक्रमण हुँदा उनी बलभद्र शाहले नेतृङ्खव गरेको अशोकबारीको मोर्चाबाट युद्धमा सक्रिय थिए । यस्तै महोद्दामकीर्ति शाहको नेतृङ्खवमा धर्मपानीको मोर्चाबाट कालु बखेती तथा भीमसेन बखेतीले यस युद्धमा सहभागिता जनाएका थिए । (‘प्राचीन नेपाल’, उही, पृ. २१)

यसरी आफ्नो समयमा एक गोरखाली भारदारका रुपमा सक्रिय रहेका विराज बखेतीलाई इतिहासमा कज्याइका चयन गर्ने प्रक्रियामा कालु पाँडेको छायाँका रुपमा मात्र हेर्नु न्यायोचित हुँदैन । उनको बारेमा थप सामग्रीहरु प्रकाशमा ल्याउनु जरुरी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);