राजाको सतिमा कमारो केटो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राजाको सतिमा कमारो केटो

राजकुमार दिक्पाल,
दुलही लिन मकवानपुर पुगेका पृथ्वीनारायण शाहको आफ्ना जेठान दिग्वन्धन सेनसँग झगडा भएपछि उनी रित्तो हात गोरखा फर्के । उनी टिष्टुङ, पालुङ र चित्लाङको बाटो गरी फर्कने क्रममा चन्द्रागिरि भञ्ज्याङमा आइपुग्दा नेपाल राज्य (काठमाडौं उपत्यका)माथि उनको आँखा प-यो । उनलाई उनका पण्डितहरु भानु जोशी र कुलानन्द जोशीले पनि त्यहाँको राजा हुन उकासे ।

त्यहीँ बेला पाल्पाली राजा गन्धर्व सेनका उत्तराधिकारी छोरा उद्योत सेन विभिन्न तीर्थस्थलको तीर्थयात्राका क्रममा गोरखनाथको पनि दर्शन गर्न गोरखा राजदरबार आइपुगेका थिए । उद्योत सेन पृथ्वीनारायण शाहका मामा हुन् । पृथ्वीनारायण शाहले मामासमक्ष नेपाल राज्यको राजा हुने मनसुवा प्रकट गरे । मामा उद्योतले यसका लागि सबैभन्दा पहिले लमजुङ राज्यलाई खुसी बनाउन र त्यो राज्यसँग सन्धि गर्न उपाय सुझाए ।

सिनास जर्नल “कन्ट्रीब्यूसन टू नेप्लीज स्टडी”को वर्ष ३१ अङ्क २ (जुलाई,सन् २००४ः३४२)मा गंगा कर्माचार्य (हाडा)ले लेखेको “काजी कालु पाँडे र किर्तिपुरको पहिलो युद्ध” शीर्षकको लेखमा राजा नरभुपाल शाहको समय १७९७ मा गोरखा–लमजुङबीच सन्धि हुँदा लमजुङका राजा रिपुमर्दन शाह मन्त्रीका साथ त्यस सन्धिमा उपस्थिति भएका, गोरखाली दलको नेतृत्व कालु पाँडेले गरेका र सन्धिमा युवराज पृथ्वीनारायण शाह राजा नरभुपाल शाहको छाप बोकेर चनाखा मानिसका साथ चेपेघाटमा उपस्थित भएका उल्लेख छ । यो सन्धिका क्रममा लमजुङले चलाएको काजमा गोरखा र गोरखाले चलाएको काजमा लमजुङका सरदारले सघाउने वाचा बन्धन बाँधियो ।

यसबाट तत्कालिन राजा नरभुपाल शाह राजकाजमा निस्क्रिय वा उदाशिन हुँदै आएका र उनले गर्नुपर्ने काम उत्तराधिकारी छोरा पृथ्वीनारायण शाहले गरिरहेका देखिन्छ । पृथ्वीनारायण शाहले यस्तो काम गरिरहेको बेला उनी केवल १७-१८ वर्षका किशोर थिए ।

शाह वंशीय राजाहरुको इतिहास अध्ययन गर्दा पृथ्वीनारायण शाह निक्कै सुरा र चतुरा देखिन्छन् भने उनका बुवा नरभुपाल शाह चाहिँ हुतिहारा वा विन्दास ।

ढिलो सन्तानोत्पादन
गोरखा राज्यमा राजा पृथ्वीपति शाहले शासन चलाइरहेका बेला राजपरिवारमा पारिवारिक किचलो भयो । खासमा राजा पृथ्वीपतिको आफ्ना अर्का छोरा रणशार्दूलप्रति अलि बढी प्रेम थियो । रणशार्दुल अन्य छोराको तुलनामा सुयोग्य र लोकप्रिय पनि थिए । आफ्ना युवराज दाजु बीरभद्रसँग उनको मनोमालिन्य बढ्दै जाँदा उनले आत्महत्याको बाटो रोजे ।

यसपछि राजा पृथ्वीपति र र युवराज बीरभद्र शाहबीच पनि मनोमालिन्य बढ्दै गयो । यस्तो अवस्थाबाट विरक्तिएर बीरभद्र भक्तपुरका राजा भुपतिन्द्र मल्लको दरबारमा आई केही समय पाहुना भएर ब्यतित गरे । तर उनी पनि राजा हुन नपाई परलोक भए ।

इतिहास शिरोमणि बाबुराम आचार्यले “श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको जीवनी” (२०६१ः१७)मा उल्लेख गरेअनुसार भक्तपुरमा रहँदा त्यहाँको हावापानी नफापेपछि बीरभद्र ज्वरोले ग्रस्त भए । उनलाई गोरखा ल्याउँदै गर्दा विक्रम सम्वत १७५३ मा आरुघाटमा उनको देहान्त भयो ।

विरक्तिएर भक्तपुरतिर लाग्दा बीरभद्रले आफ्नी दुई पत्नीलाई माइतीघर तनहुँमा राखेका थिए । बीरभद्रको देहान्त भएको केही समयपछि उनका छोरा नरभूपाल शाहको जन्म भएको थियो । उनी जन्मेको टुङ्गो लागेपछि राजा हुन हानाथाप गरिरहेका पृथ्वीपतिका दुई छोरा दलू शाह र उद्योत शाहको मुख टालिएको थियो ।

आचार्य (२०६१ः६८–६९)अनुसार विक्रम सम्वत १७७१ मा नरभूपाल शाहको विवाह खाँचीकी राजकुमारी चन्द्रप्रभावतिसँग भयो, त्यसको दुई वर्षपछि पाल्पाकी राजकुमारी कौशल्यावतिसँग विवाह भयो । तर २२ – २३ वर्षको उमेरसम्म नरभूपालबाट सन्तान नभएपछि उनको थप दुई विवाह भयो । तीमध्ये पर्वतकी राजाकी भतिजी बुद्धिमति र तनहुँ मावली घरानाकी सुभद्रावति नरभूपाल शाहसँग रानीका रुपमा लगनगाँठोमा बाँधिए ।

नरभूपाल २६ वर्षका हुँदा माहिली रानी कौशल्यावतिको गर्भबाट उनका उत्तराधिकारी छोरा पृथ्वीनारायण शाह जन्मे । यसबाट नरभूपालको सन्तानोत्पादन त्यो समय र त्यसमा पनि राजपरिवारमा ढिलो भएको देखिन्छ ।

उनी पहिलो पटक विवाह बन्धनमा बाँधिएको दुई वर्षपछि अर्थात विक्रम सम्वत १७७३ साउन महिनामा गोरखाका राजा भएको र उनले २६ वर्ष ८ महिना राज्यभोग गरेको इतिहासकार दिनेशराज पन्तले “गोरखाको इतिहास” पहिलो भाग (२०४१ः२४३) मा उल्लेख गरेका छन् ।

नरभूपाल शाहले यतिका वर्ष शासन गरे तापनि गोरखा राज्यको शासन उनकी निसन्तान जेठी महारानी चन्द्रप्रभावतिले गरेकी थिइन् । उनैले पृथ्वीनारायण शाहलाई हुर्काउने, बढाउने र राजकाज सिकाउने गरेकी थिइन् । राजा नरभुपालको त राजकाजमा त्यति ठूलो सक्रियता नै थिएन ।

नरभुपाल शाहको विवाहको ६ वर्षपछि पहिलो सन्तानका रुपमा विक्रम सम्वत १७७९ पुस २७ गते पृथ्वीनारायण शाह जन्मे ।

त्यसपछि नरभूपालका २२ जना सन्तान जन्मेको देखिन्छ । नरभुपालका तीन आधिकारिक रानीका साथै एक जना भित्रिनीबाट यी ती सन्तान जन्मिएका हुन् भनी पुरातत्व विभागको मुखपत्र “प्राचीन नेपाल” (कात्तिक, २०२९ः६)मा उल्लेख छ । तीमध्ये जेठी रानी चन्द्रप्रभावति निसन्तान भइन् । माहिली कौशल्यावतिबाट पृथ्वीनारायण, दलमर्दन , पृथ्वीपति , पद्मकुमारी र विशालवदना जन्मे ।

साहिली रानी बुद्धिमतिबाट वृन्दकेशर, सुरप्रताप, पद्मवदना, इन्दुवदना, सर्वावति र हेमन्तकुमारी जन्मे । यस्तै कान्छि सुभद्रावतिबाट महोद्दामकिर्ति, दलजीत, लक्ष्मवति, पद्मनेत्रा र सुरतकुमारी जन्मे । उनका कान्छि भित्रिनीबाट रणरुद्र, भीमरुद्र, केसीमर्दन, रणसुर, जगतप्रदीप, प्रणसन्ना र विन्दुवासना जन्मेका देखिन्छ ।
यसबाट उनी १२ छोरा र ११ छोरीका बाबु भएका देखिन आउँछ ।


कमारो केटासँग जङ्गलबास
गोरखा दरबारमा रानी चन्द्रप्रभावति र युवराज पृथ्वीनारायण शाह आफ्ना विश्वासिला भारदारहरुका साथ राजकाजमा सक्रिय सक्रिय थिए । यता नरभुपाल शाह चाहिँ एक जना कमारो केटोका साथ जङ्गलतिर घुमिहिड्थे । इतिहासकारहरुले उनी जीवनको उत्तराद्र्धमा निक्कै विछिप्त बनेका थिए भनी उल्लेख गरेका छन् । राज्यविस्तारमा उतिसाही ध्यानदृष्टि नदिने उनले एक पटक नुवाकोटमा आक्रमण गरेका थिए । तर त्यो लडाईमा उनको हार भयो ।

पन्त (२०४१ः२६२–२६३)अनुसार विक्रम सम्वत १७९२को माघ महिनाअघि नरभुपाल शाहले नुवाकोट आक्रमण गरेका थिए । महेश्वर पन्त र जयन्त रानाले आक्रमणको जिम्मा लिएका थिए । महेश्वर पन्तले हारको कारण मगरहरुको असहयोग मुख्य भएको राजासमक्ष जाहेर गरेपछि जयन्त राना लगायत मगरहरु गोरखाबाट पलायन भई यत्रतत्र लागे । पछि जयन्त कान्तिपुरका राजा जयप्रकाश मल्लको बफादार भएर नुवाकोटको उमराव भएर बसेका थिए । पृथ्वीनारायण शाहको १८०१को नुवाकोट आक्रमणमा पहिले जयन्तका छोरा शङ्खमणि मारिए, पछि जयन्तलाई गोरखाली सेनाले पक्राउ गरी छाला काढेर मारे ।

नुवाकोट आक्रमण असफल भएपछि नरभूपाल चाहिँ विछिप्त बनेका र एक कमारो केटोका साथ जङ्गलतिर गएर बस्ने गरेका थिए ।

आचार्य (२०६१ः८६)ले खरिदार शेरमान सिंहको लेखोट उद्धृत गर्दै उल्लेख गरेअनुसार तत्कालिन गोरखा राज्यका पण्डित गौरेश्वरले राजा नरभुपाललाई पुनश्चरण सुनाउँदा उनले रिसाउँदै मन्त्र रोक्न आदेश दिएका थिए । राजाको यस्तो आदेशपछि पण्डित गुरुले मन्त्र अगाडी बढाउने कुरा पनि भएन ।

राजकाजमा नरभूपालको यस्तो उदाशिनता देखेर काजी महेश्वर पन्तले त उनको सट्टा युवराज पृथ्वीनारायणलाई गद्दिमा राख्नुपर्ने बिन्ति पनि दरबारमा जाहेर गरेका थिए । तर यस्तो प्रस्ताव राख्ने उनी आफै पृथ्वीनारायण शाहबाट दण्डित हुन पुगे ।

पृथ्वीनारायण शाहको दोस्रो विवाह भइरहेको समय (फेब्रुअरी १७४० मा नरेन्द्रलक्ष्मीसित) नरभूपाल शाहको मानसिक चिन्ता अझ बढेको थियो । उनी प्राय एक नोकर केटोसाथ जङ्गलमा बस्थे । त्यसैबेला काजी महेश्वर पन्तले पृथ्वीनारायण शाहलाई मुकुट पहि¥याउन प्रस्ताव राखे । तर उनको प्रस्तावको विरोध भयो । यस्तो अवस्थामा रानी चन्द्रप्रभावतिले नोकर केटोलाई हातमा लिई नरभुपाल शाहलाई दरबारमा झिकाई आफ्नो बशमा राख्नु परेको थियो भनी आचार्य (२०६१ः९७)ले उल्लेख गरेका छन् ।

पन्त (२०४१ः२४३) अनुसार नरभुपालको विक्रम सम्वत १७९९को रामनवमीको दिन देहान्त भयो ।

उनी सिकिस्त विरामी भएपछि उनलाई बुङ्कोटघाटमा लगियो । त्यहीँ उनको मृत्यू भयो । त्यो बेलाको प्रचलनअनुसार मतृकका पत्नी सति जानु पथ्र्यो । तर नरभुपालका साथ उनका चार रानीमध्ये कान्छि महारानी सुभद्रावति सति गइन् । बरु उनका प्रिय कमारो केटो आफ्ना इच्छाले “मालिकको सेवा गर्न परलोक जान्छु” भनेर बेग्लै चितामा चढी भस्म भए भनी आचार्य (२०६१ः१००) ले उल्लेख गरेका छन् । अझ त्यो समयको प्रचलनअनुसार सन्तानविहीन महारानी चन्द्रप्रभावति सति जानु पथ्र्यो । तर उनी सति गइनन्, पृथ्वीनारायण शाहलाई राजकाजमा सघाउँदै रहिन् ।

यसरी इतिहासका पानाहरुमा उल्लेखित नरभुपाल शाहको जीवनको उत्तराद्र्धका समयका उनको चरित्र पढ्दा के उनी पछिल्ला समय समलिङ्गी प्रेममा डुबेका त थिएनन् भन्ने आशङ्का गर्ने ठाउँ रहेको देखिन्छ ।

इतिहासकार महेशराज पन्तले भने इतिहासप्रधान पत्रिका “पूर्णिमा”को पूर्णाङ्क ६३ (चैत्र, २०४१ः१–५)मा “मालिक मर्दा केटी होइन, केटो सति गएको विषयमा” शीर्षकको लेखमा नरभुपालको समयका र उनीभन्दा अगाडीका राजाहरुको समयमा केटाहरु पनि सति गएका उदाहरण पेश गर्र्दै यो राजपुत परम्पराको अवशेष भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्,“हिन्दु धर्मको रक्षा गर्न भनी राजपुतनाबाट पहाड पसेको भनी प्रख्यात भएको गोरखाली राजवंशका एक राजा नरभूपाल शाह परलोक हुँदा एक जना केटोले प्राण त्याग गरेको घटना राजपूत परम्पराको अवशेषका रुपमा देखिन आएको छ ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);