गोरखा दरबारमा भूटानी लामाको पूजा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गोरखा दरबारमा भूटानी लामाको पूजा

राजकुमार दिक्पाल
भौगोलिक हिसावले नेपालसग भूटानको सिमाना जोडिएको छैन । तर नेपाल र भूटानबीचको सम्बन्ध निक्कै पुरानो छ । यी दुई देशबीचको सम्बन्धको खास कारण बौद्ध धर्म हो । तिब्बतमा बौद्ध धर्म नेपालबाट प्रवेश गरेको हो, र तिब्बतबाट भूटानमा बौद्ध धर्म प्रवेश भयो । तिब्बतको डुग्पा सम्प्रदायका बौद्ध विद्वानहरुले भूटानमा बौद्ध धर्म प्रवेश गराएको इतिहास पाइन्छ ।

लोव पोन नादो (सन् १९७७ः९०) लाई उद्धृत गर्दै इतिहासकार रमेश ढुंगेलले उल्लेख गरेअनुसार लामा ङग्–वङ्–नम्–ग्याल खाम प्रदेशस्थित रालुङ गुम्बाका विद्वान भिक्षु थिए । उनी तिब्बतका डुग–प (डुग्पा) धर्मका मुख्य संस्थापकमध्येका लामा ये–से दोर्जेका भाईतर्फका वंशज थिए ।

डुग्पा सम्प्रदायका विद्वान कुन–खेन्–पेमा कार्पोका अवतारको रुपमा उनले आफूलाई दावा गरेका थिए । तर उनका विराधी शक्तिशाली तिब्बतका देपा चङ्–पका सहयोगमा अरु लामाहरुले उनलाई पेमा कार्पोको अवतार स्वीकार नगर्नाले उनी रालुङ गुम्बा छाडेर तात्कालिन ल्हो–मोन् प्रदेश अर्थात् भूटानमा आएको उनको जीवनी तथा भूटानको इतिहासबाट जानकारी मिल्छ । भूटानमा उनलाई श्याव–ढुङ–रिन्–पो–छे ङग्–वङ्–नम्–ग्याल रुपमा चिनियो । (ढुंगेल, रमेश, ‘सिनास जर्नल’ वर्ष १६, अंक २–सन् १९८९ जुलाई, पृ.१६९–१७०)

नेपालमा प्राचीनकालमै बनेका स्वयम्भूनाथ तथा बौद्धनाथ जस्ता विशाल बौद्ध धार्मिक तीर्थहरुका कारण पनि भुटानी बौद्ध धर्मालम्वीहरु नेपाल आउने गर्थे । वि.सं. १६९३–१७६५ को बीचमा जार्चेन चोस्जे दामचो पैडकर (दम्–छ्यो–पे–कर) नामका लामाले नेपाल आई भूटानी गुम्बा स्थापना गरेका थिए । त्यसैताका नेपालका राजा र मन्त्रीले स्वयम्भू र बोधनाथ (बौद्धनाथ)मा भूटानीहरुलाई धार्मिक मामलामा स्वायत्तता प्रदान गरेका थिए । (शर्मा, डिल्लीराज,‘सिनास जर्नल’ वर्ष १७ अंक २–१९९० जुलाई, पृ. १६०)

बौद्ध धर्ममार्फत् नेपाल र भूटानबीच सांस्कृतिक सम्बन्ध राजकीय रुपमा जोडिन पुग्यो । भूटानका तात्कालिक लामाहरुका तात्कालिक लामाहरुका तान्त्रिक ख्याती र उनीहरुका धार्मिक कार्य र काठमाडौं उपत्यकाको बौद्ध शिक्षा तथा संस्कृतिको केन्द्र स्वयम्भूनाथको माध्यमले नेपाल–भूटानबीचको सम्बन्धको थालनी हुन पुग्यो । भूटानका प्रथम धर्मराजले सन् १६२४÷२५देखि सम्बन्ध राख्न थालेका थिए । यसै क्रममा गोरखा दरबारभित्रको दाजुभाईको कलह निराकरण गर्नका लागि भूटानी लामालाई गोरखा ल्याउन राम शाहले एउटा दूत पठाएको र धर्मराजाले त्यहाँका प्रशिद्ध लामा दम्–छ्यो–पे–करलाई गोरखा पठाएका थिए । (ढुंगेल, उही, पृ.१७०)

यतिमात्रै होइन, भूटानका खाली जग्गाहरुमा आवाद गर्न भूटानी राजाले गोरखालीहरु भूटान लगेका थिए । भूटानी स्रोतअनुसार भूटानका पहिलो धर्मराजा श्याव्–ढुङ ङग्–वाङले आफै दुई पटक गोरखा र काठमाडौंको भ्रमण गरेका थिए । सन् १६६४ को भ्रमणकालमा चारै वर्ण ब्राहृमण, क्षेत्री, वैश्य, शुद्र (कामी, दमाई, सार्कीसमेत्) गोरखालीका ४०÷५० परिवारलाई भुटानको जग्गा गुल्जार गराउन लगेका थिए भनी कोएल्लो (सन् १९६७ः१२), सिंह (१९७२ः२१–२२) र हृवाइट (१९०९ः२९१)ले उल्लेख गरेका छन् । यसपटकको भुटान बसाई जाने गोरखाली जनताको नेतृत्व विशन थापा मगरले गरेको ‘विपिनदेव ढुंगेलद्वारा संकलित अप्रकाशित स्रोत’मा उल्लेख छ । (ढुंगेल, उही, पृ. १७१–१७२)

जायजन्मका लागि बौद्धपूजा
गोरखाली राजा पृथ्वीपति शाहका एक छोरा रणशार्दुलले आत्महत्या गरे । यसपछि राजा पृथ्वीपति र युवराज बीरभद्र शाहबीच मनोमालिन्य हुँदा बीरभद्र भक्तपुरका आफ्ना दौतरी राजा भूपतिन्द्र मल्लकहाँ पाहुना लाग्न गएका थिए । तर उनी विरामी परी गोरखा फर्कदा गण्डकी किनार आरुघाटमा वि.सं. १७५४ मा उनको देहान्त भयो । बीरभद्रले आफू भक्तपुर जाँदा आफ्ना दुई रानी (दिग्विजय सेनका बहिनी)लाई माइतिघर तनहुँमा पठाइदिएका थिए ।

उनको देहान्त भएको केही दिनपछि उनकी दोस्री मल्लिकादेवीको कोखबाट नरभूपाल शाह जन्मेको खबर गोरखामा आइपुगेको थियो । गोरखाको भावी राजा को हुने भन्ने हानाथाप चलिरहेको बेला नरभूपाल जन्मेको खबरले त्यो विवाद पनि सेलाएर गयो । तर राजा दिग्विजय सेनले आफ्ना भाञ्जालाई व्रतवन्धको समय नआएसम्म नौ दश वर्ष तनहुँमै राखे । (आचार्य, बाबुराम, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–२०६१, पृ.१६)

तनहुँबाट गोरखा आएपछि वि.सं. १७६३ मा उनी युवराज घोषित भए । (आचार्य, उही, पृ. २१)

उनको खाँचीकी राजकुमारी चन्द्रप्रभावतिसँग वि.सं. १७६२ मा पहिलो विवाह भएको थियो । उनी राजा भएपछि पाल्पाली राजा गन्धर्व सेनकी छोरी कौशल्यावतिसँग दोस्रो विवाह भयो । उनको क्रमशः पर्वतका राजाकी भतिजी बुद्धिमतिसँग तेस्रो र तनहुँकी मावली घरानाकी सुभद्रावतिसँग चौथो विवाह भयो । तर २२–२३ वर्षको उमेरमा पनि नरभूपालका सन्तान नभएका कारण गोरखा दरबारमा चिन्ता फैलिएको थियो । (आचार्य, उही, पृ. ६८)

यसरी चिन्ता फैलिरहेको बेला माहिली रानी कौशल्यावतिले देवा धर्मा (भूटान)बाट एक जना लामालाई ल्याएर उपाय गरे सन्तान हुनेछ भन्ने सपना आफूले देखेको दरबारमा बताइन् । सोही व्यहोरा खोली लामालाई बोलाउन भूटानतर्फ लालमोहर पठाइयो । तर लामा व्यस्त भएकोले हाललाई आउन नसक्ने खबर पठाए । जस्तोसुकै जरुरी काम छाडेर भए पनि आउनुहोस भनी फेरि एक सरदारका साथ खबर पठाइयो ।

उनै सरदारका साथ भूटानी लामा गोरखा आइपुगे । उनलाई बडो सत्कारका साथ खानपिनको बन्दोबस्त गरि गोरखा दरबारमा राखियो । लामाले उपाय (बौद्ध पूजा, तान्त्रिक अनुष्ठान आदि) गरेपछि कौशल्यावतिको गर्भ रह्यो । गर्भ रहेको सात महिनामा पृथ्वीनारायण शाहको जन्म भयो । (‘प्राचीन नेपाल’, संख्या २३–२०३० वैशाख, पृ.४)

आचार्यले बीरभद्रको देहान्त वि.सं. १७५४ मा भएको र त्यसको केही दिनपछि मल्लिकादेवीको कोखबाट तनहुँमा नरभूपाल शाहको जन्म भएको भन्ने उल्लेख गरेबाट नरभूपाल शाहको जन्म साल वि.सं. १७५४ ठहर्छ । रानी कौशल्याको कोखबाट पहिलो सन्तानका रुपमा विक्रम सम्वत १७७९ पुस २७ गते जन्म भयो । यसरी हेर्दा यी बाबु छोराबीचको उमेरमा २५ वर्षको अन्तराल हुन्छ । गोरखा राजपरिवारमा त्यो समय १६÷१७ वर्षकै उमेरमा सन्तान उत्पादन हुने चलन चलेको विचार गर्दा नरभूपाल शाह ढिलो उमेरमा बाबु बनेको देखिन्छ ।

यसैगरी सन्तान उत्पादनका हिसावले चन्द्रप्रभावतिभन्दा एक वर्षपछि कौशल्यावतिसँग विवाह गरेको मान्दा पनि पनि नरभूपाल शाहले विवाह गरेको ६ वर्षपछि उनलाई सन्तानलाभ भएको देखिन्छ ।

नरभूपाल शाहकी रानीमध्ये चन्द्रप्रभावति निसन्तान थिइन् । उनकी तीन रानी र एक भित्रिनीबाट जम्मा २३ सन्तान जन्मे । तीमध्ये १२ जना छोरा र ११ जना छोरी भए । (‘प्राचीन नेपाल’ संख्या २१–२०२९ कात्तिक, पृ. ५–६)

यसरी पृथ्वीनारायण शाहको जन्म भएपछि नरभूपाल शाह खुसी भए । आफ्नो सन्तान नहुँदा भूटानी लामा (लोपा लामा)को आशिर्वाद पाएपछि पृथ्वीनारायण शाहको जन्म भएकोमा प्रभावित भएर ती भूटानी लामालाई उनले वि.सं. १७९८ मा एउटा ताम्रपत्र जारी गरेर गोरखाको नक्थली गुम्बा लोपा लामालाई र छोङ लामालाई चुमावन, घेलिङ, चुमेगाउँ र गोथान गरी पाँच वटा गुम्बा दान गरे । (शर्मा, उही, पृ. १५८)

नरभूपाल शाहको समयमा केरुङ र झुँगाको दोसाँध झुँगा थानामा रहेका गोरखाली फौजलाई भोटको फौजले घेरिराखेको अवस्थामा भूटानी लामाले सन्धि गरिदिएको रिझवापत नरभूपाल शाहले भूटानी लामाले चलाएको गुम्बालाई नक्थली र पुँझो गाउँका जग्गा दिएको भूटानबाट पठाएको वि.सं. १८७४ को पत्रमा उल्लेख छ । (पन्त, दिनेशराज, ‘गोरखाको इतिहास’ पहिलो भाग–२०४१, पृ.२४४)

पृथ्वीनारायण शाहबाट गुम्बाको थमौति
भूटानी लामाहरुको प्रभाव पृथ्वीनारायण शाहमा पनि परेको देखिन्छ । उनले आफ्नो समयमा एक लालमोहर जारी गरेर ६ वटा गुम्बाको विर्ता थामिदिएका थिए । (‘प्राचीन नेपाल’, संख्या ६१ देखि ६४–२०३७ पुस–२०३८ साउन, पृ.२८)

लालमोहरको ब्यहोरा यस्तो छः
आगे. गिनु दुन पाम्दार्लामा पुंजि घुंम्वा. वांथाली घुंम्वा. नाग¥या घुंवा. लिस्यावुघंवा. उंमा घुंवा. चरिकोट घुंवा ल्होभा लामाले मारव कसि पठाया छन्. सो हामिले थामि वक्सिउ. घुंवा घुंवाका साषा माथिको अंवल गिनहुन पांवार्लामाले गर्नु. घुंवा घुंवाको पुरानु षायल विर्ता समेत थामी वकसीउं इतिसम्वत् १८१८ फाल्गुन वदि ९ रोज ६ शुभम्

साके १७०८ (वि.सं. १८४३) तिर देवा धर्मा (भूटान)का लामा आई उनका पुर्खालाई हिजो नरभूपाल शाहको समयमा सन्तान नहुँदा झिकाएको र लामाले मागेको दिन्छु भनी वचन दिएका सम्झना गराएको देखिन्छ । उनीहरुले आफ्ना पुर्खा लामाले गर्दा पृथ्वीनारायण शाह पैदा भएका तर नरभूपाल शाहको वचनअनुसार आफूहरुले केही पनि नपाएको भनी बिन्ति गर्दा ती भूटानी लामालाई १५÷२० खेत र १५÷२० गाउँ लालमोहर गरी विर्ता दिइयो । यसरी पाएको सबै जमिन स्वयम्भूमा गुठी राखेर ती लामा भुटानतर्फ विदा भएका थिए । (‘प्राचीन नेपाल’, संख्या २३–२०३० वैशाख, पृ.१०)

यसैगरी पृथ्वीनारायण शाहको समयमा थमौति गरिदिएका ६ वटा भुटानी गुम्बाहरुलाई गिर्वाणयुद्ध विक्रम शाहले पनि थमौति गरिदिएका थिए । उनले वि.सं. १८५८ अगहन (मंसिर)मा लालमोहर जारी गरी थमौति गरिदिएका थिए । (पन्त, दिनेशराज, ‘पूर्णिमा’ पूर्णाङ्क ७१–२०४५ असार, पृ.११०–१११)

गोरखा राजवंश सनातनी हिन्दु धर्मको शैवभित्र पनि शाक्त परम्परालाई मान्ने राजवंश हुन् । तर तत्कालिन गोरखा राज्यका राजपरिवारले भूटानी लामाको आध्यात्मिक शक्तिप्रति पनि भक्तिभाव राखेर उनीहरुको आशिर्वाद लिएको स्पष्ट हुन्छ ।

यसैबाट प्रभावित भएर उनीहरुले भूटानी लामाहरुले चलाएको गुम्बाहरुलाई थमौति गर्ने र विर्ता दिने कार्य गरे । अहिले पनि स्वयम्भू क्षेत्रमा भूटानी बौद्ध गुम्बाहरु छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);