ती रानीहरु जसलाई परपुरुषको वात लाग्यो | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०७९, मंगलबार

ती रानीहरु जसलाई परपुरुषको वात लाग्यो

राजकुमार दिक्पाल,
नेपालमा शासन गर्दा कहिलेकाहिँ राजाभन्दा रानी शक्तिशाली र विवादास्पद भएका इतिहास पाइन्छ । मल्लकालमा रानीहरु रजल्लदेवी र नायकदेवी शक्तिमा थिए ।

यही कालमा राजा प्रताप मल्लकी बुहारी ऋद्धिलक्ष्मी राजमाता हुँदा उनी चारित्रिक रुपमा विवादास्पद देखिइन् । जयप्रकाश मल्लकी रानी राज्यवति आफ्ना हजुरिया मन्त्री गरुडसिंह भडेलसङ्ग सल्केको आशङ्का गरियो ।

पृथ्वीनारायण शाहकी बुहारी तथा राजा प्रतापसिंह शाहकी रानी राजेन्द्रलक्ष्मीमाथि पनि उनी एकल अवस्थामा हुँदा परपुरुषसङ्ग अनुचित सम्बन्ध राखेको आरोप लाग्यो ।

रानी सुवर्णप्रभासङ्ग करणी विराएको भनी मूलकाजी कीर्तिमानसिंह बस्नेतलाई काटेर मारियो । राजा राजेन्द्रकी कान्छी रानी राज्यलक्ष्मी नेपालको इतिहासमा सबैभन्दा विवादास्पद रानी रहिन् ।

उनकै महत्वाकाङ्क्षाका कारण कोतपर्व र भण्डारखाल पर्व मच्चियो । उनीमाथि जनरल गगनसिंह र कप्तान दलबहादुर थापासङ्ग अनुचित सम्बन्ध रहेको र बनारस निर्वासनको समय गर्भपतनसमेत गरेको आरोप लाग्यो ।

नेपाली इतिहासको यस्तै सेरोफेरो यहाँ उल्लेख गरिएको छ ।

रानीसङग काजीको उठबस
कान्तिपुरका प्रशिद्ध राजा थिए, प्रताप मल्ल । उनको मृत्युपछि कान्तिपुरको गद्दिमा को बस्ने भने विषयमा निक्कै विवाद भयो । प्रताप मल्लको चाहना थियो, आफ्नो मृत्युपछि आफूलाई मन परेकी रानीतिरका छोरा महिपतेन्द्र कान्तिपुरको राजा होऊन् ।

तर प्रताप मल्लका नातेदारसमेत रहेका पाटनका राजा श्रीनिवास मल्लले भने महिपतेन्द्रका दाजु नृपेन्द्र मल्ल हुँदाहुँदै उनका भाईलाई राजा बनाउन नहुने अभियान चलाए ।

दुई पक्षको संघर्षपछि अन्ततः महिपतेन्द्रका दाजु नृपेन्द्र कान्तिपुरका राजा बनाइए । उनको विक्रम सम्वत १७३७ मा १८ वर्षको उमेरमा मृत्यू भएपछि उनका भाई पार्थिवेन्द्र मल्ल कान्तिपुरको राजगद्दिमा बसे ।

कान्तिपुरका शक्तिशाली भारदार चिकुटीको पलायन र हत्यापछि कान्तिपुर राजदरबारमा चौतारा लक्ष्मीनारायण जोशी शक्तिशाली बनेर निस्के । उनी जति शक्तिशाली थिए, उत्तिकै खतरनाक पनि । वि.सं. १७४४ मा राजा पार्थिवेन्द्रको अचानक मृत्यु भयो ।

खानामा बिष मिसाई पार्थिवेन्द्र र उनकी आमाहरुलाई सिध्याउने उद्देश्यले यो षडयन्त्र रचिएको थियो । तर पार्थिवेन्द्रकी आमा चाहिँ बचिन् । राजालाई खानामा बिष मिलाई आफ्ना राजालाई मारेको थाहा पाएर कान्तिपुरका प्रजा कान्तिपुर दरबार घेर्न पुगे ।

यसैलाई अवसर बनाएर आफ्नो शत्रु नाश गर्न लक्ष्मीनारायण अघि सरे र विष काण्डको दोष पलायन भई बसेका पूर्व चौतारा चिकुटीमाथि लगाए । चिकुटीलाई कुटी कुटी मारियो । बास्तवमा खानामा बिष प्रयोग गरेर राजा पार्थिवेन्द्रलाई मार्ने षडयन्त्रको रचनाकार चाहिँ उनै लक्ष्मीनारायण थिए ।

यसरी एकातिर चौतारा लक्ष्मीनारायण शक्तिशाली बनेर देखा परे भने आठ वर्षका बालक भुपालेन्द्र राजगद्दिमा राखिए । यहिँ अवसरमा पार्थिवेन्द्रकी रानी अर्थात् भुपालेन्द्रकी आमा राजमाता ऋद्धिलक्ष्मी र लक्ष्मीनारायणबीच हिमचिम बढ्दै गयो । त्यसबेला लक्ष्मीनारायणको शक्ति र प्रभाव निक्कै ठूलो थियो ।

कतिसम्म भने लक्ष्मीनारायण आफ्नो घर पनि नगई दरबारमै खाने र सुत्ने गर्थे । राजाकै गहना र पहिरन लगाएर राजाकै पलङमा सुत्ने गर्थे । हरबखत उनी राजमाता ऋद्धिलक्ष्मीसङ्गै रहने गर्थे । लडाईमा पनि जादैनथे (‘प्राचीन नेपाल’ सङ्ख्या १९–वैशाख २०२९ः२।काठमाडौको जैसीदेवल मन्दिर उनै चौतारा लक्ष्मीनारायणले धर्मकर्मस्वरुप बनाउन लगाएका हुन् ।

यसरी शक्तिशाली भएर दरबारमा राजमातासङ्ग हिमचिम मच्चाइरहेका लक्ष्मीनारायणको ने.सं. ८१० भदौमा खसहरुद्वारा हत्या गरियो । लक्ष्मीनारायणको हत्या भएको खबरले आकुल ब्याकुल भएकी ऋद्धिलक्ष्मी राजकुलबाट बाहिर निस्केकी थिइन् ।

त्यसपछि बेइज्जत हुने डरले सबैले सम्झाईबुझाई उनलाई भित्र लगेका थिए । ऋद्धिलक्ष्मीले लक्ष्मीनारायणको रगत चाँदीको भाँडामा उठाउन लगाई मुर्दा पठाएर सँस्कार गर्न लगाएकी थिइन् (‘प्राचीन नेपाल’ सङ्ख्या १९–वैशाख २०२९ः३)

राजा भुपालेन्द्र मल्लले आफ्नी ब्यभिचरणी आमा ऋद्धिलक्ष्मीलाई सिन्धुपाल्चोकको पूर्व सिमाना तौथली नामक वस्तीमा कैद गराएका थिए र उसै गाउँमा कैद गरी माटोमा मिसाएका थिए (आचार्य, उहीः६५)

राज्यवति–गरुडसिंह भँडेल सम्बन्ध
कान्तिपुर राज्यको आन्तरिक शक्ति सङ्घर्षका क्रममा जयप्रकाश मल्ल राज्यच्यूत हुन पुग्दा उनका छोरा उनका आठ वर्षका छोरा राजगद्दी बसे । उनकी आमा राज्यवति (जयलक्ष्मी) बालक राजाको संरक्षिका बनिन् ।

काठमाडौं उपत्यका वरिपरि गोरखाली सेनाले घेराबन्दी गरिसकेको अवस्थामा ललितपुर भागेका तौढिकले ललितपुर र गोरखालीको त्रास देखाई वेकम्मा जयप्रकाश मल्ल राजा भइरहेमा गोरखालीले गोकर्ण मौजा दखल गरी दुवै राजधानीलाई खत्तम गराउँछन् भनी दुवै सहरका नवयुवकलाई हातमा लिई कान्तिपुर राजभवनमा हमला गरी वि.सं. १८०३ असोज ११ गते राती जयप्रकाश मल्ललाई पक्रे । उनी ललितपुर राज्यमा शरण परे । तौढिक मन्त्री बने (आचार्य, बाबुराम, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–२०६१ः१७५)

जयप्रकाश मल्ललाई सत्याच्यूत बनाउने मन्त्री तौढिकलाई राज्यवतिले क्रमशः त्यति भाउ दिन छाडिन् । उनलाई सामान्य भारदारमा राखी गरुडसिंह भँडेललाई हजुरिया मन्त्री बनाइन् । इतिहास शिरोमणि बाबुराम आचार्यले गरुडसिंहलाई रानी राज्यवतिको नाठा भनेका छन् ।

रानी र मन्त्रीबीचको अनाचार देखेर जोरवरसिंह नामका पुराना भारदारले काठमाडौंका सैनिकलाई जयप्रकाश मल्लको पक्षमा ल्याई उनलाई काठमाडौं डाके । राज्यवतिले उनलाई रोक्न पठाएको सैनिकले उनकै स्वागत गरेर राजभवनमा प्रवेश गराइदिए ।

त्यसपछि पुनस्थापित राजा जयप्रकाश मल्लले रानी राज्यवतिलाई कठोर कैद गरी भोकै मराए । तौढिकले आत्महत्या गरे । यिनका पक्षका भारदारहरु भागे (आचार्य, बाबुराम, ‘पूर्णिमा’ पूर्णाङ्क ५०–भदौ २०३८ः४)।

राजेन्द्रलक्ष्मीमाथि गम्भिर आरोप
विक्रम सम्वत १८३४ मंसिर ४ गते राजा प्रतापसिंह शाह बिते । यसअघि नै राजकुमार बहादुर शाह दरबारबाट धपाइएका थिए ।

प्रतापसिंहको मृत्यूपछि बहादुर शाह नेपाल बोलाइए । तत्कालित बालक राजा रणबहादुर शाहको नायव भएर राजमाता राजेन्द्रलक्ष्मीले शासनको बागडोर सम्हालिरहेकी थिइन् । पछि देवर–भाउजु मिलेर शासन चलाइरहेका थिए । तर यिनीहरुबीच विस्तारै मनमुटाव सुरु भयो र ठूलो शक्ति संघर्ष चर्कन थाल्यो, नेपालको दरबारमा । शक्तिसंघर्षमा कहिले राजेन्द्रलक्ष्मीको हात माथि हुन्थ्यो, कहिले बहादुर शाहको ।

शक्ति संघर्ष चलिरहेको बेला राजमाता राजेन्द्रलक्ष्मीमाथि एउटा निक्कै गम्भीर प्रकृतिको आरोप लाग्यो । त्यो उनको चरित्रमाथिको आरोप थियो । काजी सर्वजीत रानासँग अवैध प्रेमप्रसँग चलाएको गम्भीर आरोप लगाइएको थियो, उनीमाथि । प्रतापसिंह शाहको एक वर्षको आसौच नसकिदै राजेन्द्रलक्ष्मीले तत्कालिन समाजले नपचाउने उत्ताउला कामहरु देखाउन थालेकी थिइन् ।

विस्तारै काजी सर्वजित राना र उनका बीच अवैध प्रेमप्रसँगको गाईंगुईं पनि सुनिन थाले । उनीबारेको यस्तो हल्ला र उनका गतिविधि पृथ्वीनारायण शाहका विश्वासयोग्य भारदार श्रीहर्ष पन्त लगायतलाई सह्य भएन ।

राजेन्द्रलक्ष्मी र सर्वजीतबीचको अवैध सम्बन्धका बारेमा बोल्न लगाउन दरबारभित्रै चारजना सुसारे केटाहरुलाई पोलाहाको रुपमा खडा गरियो । भूतपूर्व चौतारा दलजीत शाहले यिनै आरोपमा काजी सर्वजीतलाई दरबारकै एउटा कोठामा कटाइदिए भने राजेन्द्रलक्ष्मी चाँदीको नेल ठोकिएर दरबारभित्रै कडाईका साथ नजरबन्दमा परिन् (आचार्य, बाबुराम, ‘नेपालको संक्षिप्त वृत्तान्त’–२०६३ः२१४)

मूलकाजीलाई रानीसङ्ग करणीको आरोप
स्वामी महाराज रणबहादुर शाह देश छाडी काशीबासमा थिए । उनकी जेठी रानी राजराजेश्वरी पनि काशीतिरै थिइन् । त्यसैले रणबहादुरकी माहिली रानी सुवर्णप्रभा बालक राजा गीर्वाणयुद्धविक्रमको नायव भएर देशको शासनभर लिएर काठमाडौंमा बसेकी थिइन् ।

वि.संं. १८५७मा रानी सुवर्णप्रभाले कीर्तिमानसिंह बस्नेतलाई मूलकाजी बनाइन् । उनले आफूखुसी पजनी गर्दा अन्य भारदारको मनमा चिसो पस्यो । उनको रानीसङ्ग घनिष्टता बढ्दै गएर सङ्गै बसउठ हुँदा मूलकाजीसङ्ग रानी बसिन् भन्ने हल्ला चल्यो ।

केही भारदारहरुको मिलेमतोमा रानीसङ्ग करणी विराउने भनी बात लागेका कीर्तिमानसिंह बस्नेतलाई रातको समय निरकञ्चन खवास र सामदत्त साही हत्यागन तयार भए । वि.सं. १८५८ असोज वदी ६ मा रातको समय दरबारबाट निस्केर हात्तिसारको बाटो जाँदै गरेका मूलकाजीलाई काटेर खवास र साही फरार भए ।

यस घटनापछि सुवर्णप्रभाले ठूलो कचहरी बोलाइन् । चौतरियाहरु शेरबहादुर शाही र बम शाहले भारदारहरुलाई केरकार गरे । षडयन्त्रमा संलग्न चौतरिया श्रीकृष्ण शाहलाई मधेश भगाइयो । दामोदर पाँडेले जनै छोएर धर्म भाके । चौतरिया विदुर शाहीलाई लुकाएर जोगाइयो । काजी रणजित पाँडे र रणकेशर पाँडेलाई मुगलान पु-याएर काटियो । काजी देवदत्त थापाको आँखा झिकियो । सरदार प्रतिमन राना, खजाञ्ची गर्भु खवास, सरदार इन्द्रसिंह खवास निर्ममतापूर्वक काटिए । सरदार प्रवल राना फलामको पिँजडामा कोचिए (नेपाल, ज्ञानमणि, ‘नेपालको महाभारत’–२०५२ः४८–४९)

रानीसङ्ग काजीको यस्तो सम्बन्ध
विक्रम सम्वत १९०३ असोज बदी ९ मा भएको कोतपर्वपछि नेपालको राजनीतिले अर्कै मोड लियो । त्यसपछि राणाहरुले एक सय चार वर्षसम्म एकछत्र जहानियाँ शासन चलाए । तत्कालिन महारानी राज्यलक्ष्मीले गगनसिंहको हत्यारा पत्ता लगाउन दिएको आदेश र त्यही आदेश पालना गर्ने जंगबहादुरले आफ्ना भाईहरुको सहयोग लिएर कोतपर्व मच्चाए ।

रानीका अति विश्वासपात्र तत्कालिन जनरल गगनसिंहको रातको ९÷१० बजे उनकै निवासमा हत्या गरियो । हत्या कसले ग¥यो हालसम्म कसैले यकीन गरेर भन्न सकेका छैनन् । पर्सिभल ल्याण्डनको पुस्तक “नेपाल”मा राजा राजेन्द्रले सुरेन्द्र र उपेन्द्रलाई बोलाई गगनसिंहलाई मारेर परिवारको इज्जत बचाउन भनेको थिए (राज, प्रकाश ए., ‘कोतपर्वकी महारानी राज्यलक्ष्मी’–२०६१ः२४)

वि.सं. १८९८ मा सौता साम्राज्यलक्ष्मीको देहान्त भएपछि राज्यलक्ष्मी शक्तिशाली बन्न पुगिन् । त्यसबेला उनी २४ वर्षकी नौजवान थिइन् । उनी २८ वर्षको हुँदा त राजा राजेन्द्रबाट राजपरिवारका सदस्यवाहेक अन्य सबैलाई सजाय गर्ने, देश निष्कासन गर्ने र पजनी गर्ने अधिकारसमेत प्राप्त गरेकी थिइन् (राज, उही)।

तर आफ्ना अति विश्वासपात्र जनरल गगनसिंहको हत्या र जंगबहादुरको उदयपछि उनको शक्ति छिन्नभिन्न भयो र २९ वर्षको उमेरमा त बनारस निर्वासित हुन प-यो ।

गगनसिंहको हत्यापछि महारानी राज्यलक्ष्मी गगनसिंहको घर यट्खा पुगिन् । त्यतिखेर उनको हातमा नाङ्गो तरबार थियो । गगनसिंहको घरमा पुगेर महारानीले आदेश दिइन्,“यिनको लास उठाउन हुँदैन । मुण्डको मुण्ड नजोरी मान्दिनँ । विनाकसुर बिना हुकुमले भारदारको खेलले मारे । अब श्री ५ महाराजलाई बक्साई निसाव गर्छौं ।”

त्यतिखेर दाउ छोपेर बसेका जंगबहादुरले ‘मलाई हुकुम बक्से ददा जनरल गगनसिंहलाई मार्ने भारदार पत्ता लगाई सजाय गर्दा हुँ’ भनी आदेश मागे । रानीबाट आदेश भयो,‘हुन्छ जंगबहादुर लौ मार । तलाईं हुकुम भयो ‘प्राचीन नेपाल’ सङ्ख्या २५ (कात्तिक २०३०ः१६)।’

अनि मच्चियो कोतपर्व । त्यसपछि नेपालको राजनीतिले अर्कै मोड लियो ।

आफ्ना छोरा रणेन्द्रलाई युवराज बनाउने ठूलो सपना थियो, राज्यलक्ष्मीको । यसका लागि उनले गगनसिंहलाई ठूलो विश्वासमा लिएकी थिइन् । माथवरसिंहको हत्यापछि १६ पल्टनमध्ये गगनसिंहको हातमा मात्र सात पल्टन थियो । यसबाट पनि गगनसिंह महारानीको अति विश्वास पात्र भएको स्पष्ट हुन्छ (‘प्राचीन नेपाल’ सङ्ख्या २५–कात्तिक २०३०ः१५)।

महारानी राज्यलक्ष्मी र गगनसिंहबीच राजनीतिक सम्बन्ध मात्र थिएन, प्रेम सम्बन्ध समेत थियो भनी कतिपय लेखकले लेखेका छन् । तीमध्ये एक हुन्, अम्बर्स ओल्डफिल्ड । उनले आफ्नो पुस्तकमा ‘माथवरसिंहको हत्यापछि राज्यको सम्पूर्ण अधिकार महारानी र उनका प्रेमी गगनसिंहको हातमा आयो’ भनी उल्लेख गरेका छन् (ओल्डफिल्ड, अम्बर्स, ‘स्केचेज फ्रम नीपाल’–सन् २००५ः३४४)

गगनसिंहको जन्म विक्रम सम्वत १८५३ मा भएको र राज्यलक्ष्मीको जन्म १८७४ (अनुमानित) भएको थियो (राज, उहीः २४) ।

यी दुईबीचको उमेर २१ वर्षको फरक थियो । यसो हुँदा यी दुई बीच प्रेम र ब्यभिचार थिएन कि भन्ने ठाउँ त छ, तर राज्यलक्ष्मीको निर्वासनपछि उनका छोराहरु रणेन्द्र र बीरेन्द्रलाई तत्कालिन राजा सुरेन्द्र र बुढा महाराज राजेन्द्रले राजगुरु विजयराज पाण्डेलाई लेखेको पत्रमा राज्यलक्ष्मीको गगनसिंहसँग मात्र होइन, दलबहादुर थापा नामका सैन्य अधिकारीसँग पनि यौनसम्बन्ध भएको र बनारसमा राज्यलक्ष्मीले तीन महिनाको गर्भपतन गराएको आरोपसमेत लगाइएको छ (पन्त, दिनेशराज, ‘पूर्णिमा’पूर्णाङ्क ७०–असोज २०४३ः३१–३७)

तीमध्ये १९०६ आषाढ सुदी १० रोज ७ मा राजा सुरेन्द्रले आफ्ना साहिला भाई रणेन्द्र र काँहिला भाई बीरेन्द्रका नाममा लेखेको पत्रमा दलबहादुर थापासङगको अवैध यौनसम्बन्धपछि उनकी आमा (राज्यलक्ष्मी)ले तीन महिनाको गर्भ तुहाएको र भाईहरुलाई पानी नै कटाउन पर्ने अवस्था आएकोले तुरुन्त पतिया लिन र पतिया नलिए भातभान्साबाट छुटाइने समेत उल्लेख गरिएको छ । पत्रको ब्यहोरा यस्तो छः

साँहिला भाई काहिला भाई
तिम्रो मुमालाई कालीदासका भाईले दलबहादुरसङ्गको ब्यभिचार हुँदा तीन महिनाको गर्भ तुहाएको म थाहा पाउँछु भनी हाम्रा हजुरमा बिन्ति गर्दा तिम्री मुमालाई झिकाइएको हो ।

तिम्रा मुमाले ६ महिनासम्म नआउँदा र बनारसमा रहेका तिम्रा नोकरीमा रहेका अरुले पनि यही कुरा यत्रतत्रबाट भन्दा साँचो रहेछ भन्ने सबैका मनमा प-यो । तसर्थ तिम्रा मुमालाई हाम्रा मुलुकमा रहन, हाम्रा आशा राख्न पर्वतेहरुले खानपान नगर्नु भनी हटाइबक्स्यौं । तिमीहरुले पनि भोरमा खानपान गरेको कुरामा धर्माधिकारको पतिया लिइहाल ।

पतिया नलिई मायामा काया हाल्यौ भने पछि तिमीहरुको विग्रला । तिम्रो र हाम्रो भात भान्सा जात पिण्ड जुठो फरक भयो । पतिया लियौ भने भातभान्सा फरक भएनौ । जस्तो अघि भाई हौ, त्यस्तै छदैछौ । राणा राजपुत हुँ गोरखाको पैदा हो भने जमामार्दि थामौला । मावली गोत्र गएछौ भने हामीदेखि फरक भयौ ।

पत्रमा उल्लेखित कालीदाश वैद्य हुन् भने दलबहादुर थापा चाहिँ सेनाका कप्तान हुन् ।

यस्तै बुढामहाराज राजेन्द्रविक्रम शाहले त दलबहादुरसँग मात्र होइन, राज्यलक्ष्मीको ब्यभिचार गगनसिंहसँग पनि भएको उल्लेख गर्दै राजगुरु विजयराज पाण्डे बनारस जाँदा राज्यलक्ष्मी गगनसिंह र दलबहादुरसँग बिग्रेको साल, महिना र दिनसमेत पत्ता लगाउन आदेश दिएका छन् ।

पत्रमा राज्यलक्ष्मीलाई जैसिंहकी बहिनी भने सम्बोधन गरिएकोले उनका दाजुको नाम जैसिंह रहेको स्पष्ट हुन्छ । १९०७ मार्ग सुदि ३ रोज ६मा लेखेको पत्रको ब्यहोरा यस्तो छ :

श्री ६ गुरुराज पण्डित विजयराज पडितको पाउमा प्रणाम । यसपाला तपाईं काशी जानु हुँदा काशी पुग्नु भई जैसिंका बहिनी गगनसिंह खवाससँग कुन साल कुन महिनाको कुन दिन विग्रेकी रहिछिन् ? दलबहादुर थापासँग कुन दिन कुन महिना कुन साल विग्रेकी रहिछन् ? जस्ताको तस्तै ठह¥याउनु भई जैसिंकी बहिनीको र दलबहादुरको कायलनामा लेखाई सही हाली दुवै कायलनामा लिइकन आउनु होला र म प्रायश्चित गरिबक्सुँला ।

Leave a Reply