काठमाडौँ । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले करिव ६ करोड रुपैया बराबरका सुविधा सम्पन्न लक्जरियस बस सञ्चालनमा ल्याएको छ । कम्पनीले पोखरा महानगरपालिका–२५ हेम्जा मिलनटोलबाट बिहान ६ बजे छुट्ने यी बसहरू नेपालकै सुविधा सम्पन्न बसमध्ये रहेको दाबी गरेको छ । पोखरा पर्याङमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नयाँ बसको शुभारम्भ गर्नुभयो । पोखरा आफैंमा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य हो । यहाँबाट मुक्तिनाथलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा सञ्चालन हुने सुविधासम्पन्न यातायात सेवाले पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ । लामो समयदेखि यात्रुहरूको प्रतिक्षाको विषय बनेको यो सेवा विशेष सुविधाहरू सहित सञ्चालनमा आउन लागेको हो । कम्पनीका अध्यक्ष टीकाराम अधिकारीकाअनुसार नयाँ सञ्चालनमा आउने बसहरूमा यात्रुको सहजताका लागि बसभित्रै शौचालय (वासरुम), चिया तथा कफीको सुविधा उपलब्ध हुनेछ । यात्रुहरूबाट सेवा सञ्चालनका सम्बन्धमा बारम्बार सोधपुछ भइरहेकाले आगामी भदौ ३ गतेलाई सेवा प्रारम्भ गर्ने आधिकारिक मिति तय गरिएको कम्पनीले जनाएको छ । गुणस्तरीय र सुविधायुक्त यात्रा सुनिश्चित गर्दै यात्रुहरूको अपेक्षा पूरा गर्ने प्रतिवद्धता समेत अध्यक्ष अधिकारीले व्यक्त गर्नुभएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सिटौलाले नेपालको पर्यटकीय राजधानी पोखराबाट काठमाडौंका लागि शुरु भएको यो सेवा नेपालकै मात्र नभई एशियाकै उत्कृष्ट पर्यटकीय सवारी साधनमध्ये पर्ने दाबी गर्नुभयो । प्रतिसवारी साधन करिव २ करोड रुपैयाँ लगानी भएको जानकारी दिँदै उहाँले लगानीको सुरक्षा र गुणस्तरीय सेवामा जोड दिनुभयो । सिटौलाले अबको यातायात क्षेत्र प्रविधिमैत्री हुनुपर्ने उल्लेख गर्दै महासंघले जीपीएस प्रणाली, क्यासलेस भुक्तानी र अनलाइन टिकेटिङलाई प्राथमिकतामा राखेको बताउनु भयो ।
उद्घाटन गरिएका बसका चालकहरू ‘पाइलट’ र सहचालकहरू ‘एयर होस्टेस’ को पोसाकमा सुसज्जित हुनुलाई सिटौलाले यातायात क्षेत्रमा नयाँ संस्कारको शुरुवात भएको बताउनु भयो । उहाँले पोशाकसँगै व्यवहारमा पनि उच्च व्यावसायिकता र विनम्रता अपनाउन कर्मचारीहरूलाई आग्रह गर्नुभयो । साथै, उहाँले कार्यक्षेत्रमा खटिएका चालक र सहचालकको सुरक्षाको विषयमा राज्य गम्भीर हुनुपर्ने माग राख्नुभयो । सडक दुर्घटना वा अन्य विवादमा चालकमाथि हुने भौतिक आक्रमण र दुव्र्यवहार रोक्न प्रहरी वा ट्राफिक प्रहरीलाई सरह नै चालक वर्गलाई पनि कानुनी सुरक्षा प्रदान गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।




