यी हुन्, नुवाकोट युद्ध लड्ने मगर सेनाहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

यी हुन्, नुवाकोट युद्ध लड्ने मगर सेनाहरु

राज्याभिषेक हुनासाथ तीर्थयात्राका लागि बनारस यात्रामा निस्केका पृथ्वीनारायण शाह तत्कालिन राजनीतिक घटना र परिस्थिति बुझ्दै, बन्दुक जस्तो प्रभावकारी हतियार तथा पालजस्तो युद्धमा काम लाग्ने बन्दोवस्तीका सामग्री समेत खरिद गरेर गोरखा उत्रे ।

त्यसपछि उनको पहिलो काम भयो, गोरखाको सेनापतिका लागि एक भरपर्दा नवयुवकको नियुक्ति । त्यसैक्रममा आफ्नो रोजाई मात्र होइन, लोकसम्मतिले उनले कालु पाँडेलाई गोरखाको नयाँ काजीको पगरी पहिराए ।

कालु पाँडेअघि विराज थापा मगर गोरखाको काजी थिए । उनी बुढा पनि भइसकेकाले पृथ्वीनारायण शाह नवयुवक काजीको खोजीमा थिए (आचार्य, बाबुराम, ‘पूर्णिमा’ पूर्णाङ्क ५०– भदौ २०३८ः३) ।

बनारसबाट फर्कनेबित्तिकै उनले वरपरका छिमेकी राज्यसङ्ग रणनीतिक रुपमा शान्ति सम्झौताको पहल पनि सुरु गरे । यसका लागि तनहुँमा हरिहर पण्डित, श्री पाध्या कडरिया, लमजुङका लागि रणरुद्र शाह, लक्ष्मीनारायण पाण्डे र गुणनिधि पन्त, कास्कीका लागि गंगाधर पन्त र पाल्पाका लागि मणिकण्ठ रानालाई खलितापत्र र सरसौगातसहित दौडाए (‘प्राचीन नेपाल’, सङ्ख्या २१– कात्तिक २०२९ः२२) ।

उनले ‘ब्राहृमणको खेल, खसको झेल² मगरको पेट, कसैलाई नभेट’ भन्ने उखानलाई बडो ख्यालमा राखेर ब्राहृमणलाई खेल खेल्न, खसलाई झेल गर्न र मगरको पेट पनि एकै हुन नदिने नीतिका साथ राजकाज चलाउन सुरु गरेका थिए (‘प्राचीन नेपाल’, उहीः२४) ।

कालु पाँडेलाई काजीको जिम्मेवारी दिइसकेपछि सुरु भयो, उनको राज्यविस्तार अभियानको उद्योग । उनले गोरखाको रक्षाको भार रणरुद्र शाहलाई दिएर वि.सं. १८०१ साउनको अन्तिम साता उनले आफ्ना भाई महोद्दामकीर्ति शाह र काजी कालु पाँडेसहित १३ सय सैनिकलाई कुलो खन्ने बाहनामा कृषकको भेषमा खिन्च्यात उतारे ।

उनले नुवाकोटको उमराव भएर बसेका गोरखाका भूतपूर्व काजी जयन्त रानालाई आफूसङ्ग मिल्न आउन पनि सन्देश पठाइरहेका थिए । तर कान्तिपुरका नून खाइसकेका जयन्त भने नूनको सोझो गर्न नुवाकोटको रक्षार्थ थप सहयोग माग्न कान्तिपुर गएका थिए । यहीँ मौका पारेर पृथ्वीनारायण शाहले वि.सं. १८०१ असोज १५ गते डुङ्गाबाट आफ्नो सेना त्रिशुली पार गराई नुवाकोट उतारे । महामण्डलको रक्षार्थ जयन्तका छोरा शङ्खमणि बसेका थिए । शङ्खमणिलाई ढालिसकेपछि पृथ्वीनारायण शाहले नुवाकोटमा विजयोत्सव मनाए (आचार्य, उही) ।

त्यसबेला नुवाकोट जल्दोबल्दो र बलियो राज्य कान्तिपुरअधिनस्थ एक इलाका थियो । त्यसैले नुवाकोट कब्जा गर्नुको राजनीतिक महङ्खव ठूलो थियो । आफ्ना बाबु नरभूपाल शाहको समय र उनी राजा हुने बित्तिकै नुवाकोटमा गोरखाली आक्रमण भएको थियो । यी दुवै आक्रमणमा सफलता मिलेको थिएन ।

पहिलेका असफलताहरुको मनोवैज्ञानिक पीडा शान्त पार्न पनि उनको लागि नुवाकोट जित्नु अनिवार्य थियो । त्योभन्दा पनि सबैभन्दा ठूलो पक्ष आर्थिक थियो । पृथ्वीनारायण शाहले नुवाकोटको बाटो छेकेपछि तिब्बतसङ्गको कान्तिपुरका ब्यापार तथा आर्थिक सम्बन्ध छिन्नभिन्न पारी आफ्नो ब्यापार तिब्बतसङ्ग चलाउन सक्थे ।

यहीँ उद्देश्यहरुका साथ पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तार अभियानका क्रममा नुवाकोटमा हतारिएर हात हाली हाले ।

गोरखाली सेनाको लस्करमा मगरहरु
नुवाकोट आक्रमणका लागि पृथ्वीनारायण शाहको विशेष तयारी थियो । उनले गोरखाको रक्षार्थ रणरुद्र शाह, महेश्वर पन्त र कालु रानाजस्ता भारदारहरु राखेर आफ्नो सम्पूर्ण शक्ति र ध्यान नुवाकोट आक्रमणमा केन्द्रीत गरेका थिए ।

उनी आफै युद्धको मोर्चामा रहेर सैन्य परिचालनमा खटिएका थिए । आफ्ना साथ चौतरियाहरुका साथै नाम चलेका भारदारहरुलाई नुवाकोट आक्रमणमा सरिक गराएका थिए । यो आक्रमणमा मगर भारदार तथा सेनाहरुको लस्कर पनि लामै थियो ।


नुवाकोट आक्रमण गर्दा विभिन्न मुख गरी युद्धको मोर्चा परिचालन गर्दा पृथ्वीनारायण स्वयम्ले तीनधारेको बाटो पक्रिएका थिए । उनको मोर्चामा खट्ने मगर सेनाहरुमा नरकेशर थापा ग्रान्जी, कृष्णमणि राना वुसाल, सोठे नतुवा थापा, वसु राना, दलजित राना, लोहार राना, जसवन्त राना, सुगे राना, चन्द्रमणि राना वुसाल थिए ।

यस्तै देउरुप थापा पुलामी, रत्नमणि राना, वहावल राना, भिकरी राना तर्कुले, अहिवर्ण थापा साझ (सारु ?), महिकर्ण थापा सारु, जगवल सारु र धोके राना पृथ्वीनारायण शाहकै मोर्चामा रहेर नुवाकोट आक्रमणका लागि खटिएका थिए ।

यस्तै पृथ्वीनारायण शाहका माहिला भाई चौतरिया महोद्दामकीर्ति शाहको सैन्य नेतृङ्खवमा धर्मपानीबाट नुवाकोट आक्रमणका लागि अगाडी बढेको लस्करमा परशुराम आले क्रोकछाकी, मानसिंह आले, गणेश आले, अचल थापा ग्रान्जा र पहाड राना खटिएका थिए । यस्तै गेर्खुको बाटो भई अगाडी बढेको गोरखाली सेनाको नेतृत्व जहाँगिर शाहले गरेका थिए ।

उनको साथ देवु राना ग्याङ्मी, जैशि राना तार्कुले, प्रतिमन राना, ज्यामिरे थापा झारी, लछिमन राना, असना मिनहा आले, इन्द्रमणि राना मास्की, मन्दी थापा झारी, हृयाचल थापा रखाल, दले थापा रखाल, देउ राना वुसाल र अनन्त थापा सिंजाली खटिएका थिए ।

यस्तै अशोकबारीको बाटो गरी नुवाकोट आक्रमण गर्न जाने मोर्चाको नेतृत्व चौतरिया बलभद्र शाह र काजी कालु पाँडेका साथ माधु राना, जसु राना अर्घौले, नरवीर आले क्रोकछाकी, शक्रजित थापा मास्की, रामसिंह राना वुसाल, जसिवन्त थापा ग्रांमी, सानु राना, पठान राना तार्कुले, शिरै राना, करविर राना, सतराम राना र रुद्रमणि राना खटिएका थिए (‘प्राचीन नेपाल’, उहीः२७–२८) ।

गोरखाबाट केही मगरको पलायन
पहिले काजीका रुपमा गोरखाली शाहवंशको सेवा गरेका जयन्त राना नरभूपाल शाहकै पालामा गोरखाबाट विरक्तिएर पलायन भई नुवाकोटको उमराव भई कान्तिपुर राज्यको सेवा गर्न लागेका थिए ।

नरभूपाल शाहको नुवाकोटको असफल आक्रमण वि.सं. १७९२ माघभन्दा अघि भएको थियो । यो आक्रमण असफल हुनुमा काजी महेश्वर पन्तले मगरहरुमाथि दोष थोपरेका थिए । उनले ‘मगरहरुले सहयोग नगरेकोले नुवाकोट हार भएको हो । यी मगरहरुकै ठाउँमा म काजी हुन आएकोले म काजी भएकोमा यिनीहरु रिस गर्छन् र काममा सहयोग गर्दैनन् ।

यसैले मैले हजुरको काम सपार्न सकिनँ’ भनी महेश्वर पन्तले नरभूपाल शाहमा विन्ति गर्दा यो कुरा उनलाई पनि जँच्यो । यो कुरा सुनेपछि मगरहरु ‘हामी बढ्ता भएछौँ’ भन्ने विचार गरी कोही मल्ल राज्यतिर गए, कोही अन्यत्र गए(पन्त, दिनेशराज, ‘गोरखाको इतिहास’ पहिलो भाग–२०४१ः२६२) ।

यसरी गोरखाबाट पलायन हुने मगरहरुमध्ये नाम चलेका काजी जयन्त राना एक थिए । उनी ग्यामी थरका मगर हुन् । उनको नामै लिएर पृथ्वीनारायण शाहले आफ्नो उपदेशमा ‘…महामण्डलमा ग्यामि राना थियो तं हाम्रो घरको ग्यामि होस महामण्डल छोडिदे. म छेउ आइज भनी पठाञाँ र हुन ता म हजुरैको हुँ. तर जयप्रगास मल्लको नुन षाईहाल्यां मरिमेटन्या छु भनि हाँक पारि पठायो र…पात्रो हेरन जैसी भन्यां र पात्रा हे-या आजका साता दिन विहाउडो सनिश्चर बार ठुलो सायत रहेछ भनि विन्ति ग-याे र उहि सायतमा महामण्डल उक्लेउ र तरबरास प-यो हाम्रा नुन्का सेषले झुकाई दिने पंथ बा-है वर्षमा मेरा भाई दलमर्दन साहले जेठि तरवार रानाको थापलामा हान्यो र नुहाकोट साधे गरि बढाई गरेउ…’ भनेका छन् (आचार्य, बाबुराम, योगी नरहरिनाथ, ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’–२०६१ः४२–४३) ।

महामण्डलको युद्धमा छोरा मारिएपछि पुत्रशोकले ब्यथित र प्रतिशोधले आगो भएर जयन्त राना बेलकोटमा बसेका थिए । उनी गोरखालीसङ्ग मुकाविला गर्न डटेर बसेका थिए । थप सेनाको लागि काठमाडौंमा पत्राचार गर्दै थिए । नुवाकोटबाट भागेर आएका सबै जनतालाई एकत्रित बनाई गोरखालीसङ्ग बदला लिन जमेर बसेका थिए (कर्माचार्य (हाडा), गंगा, ‘सिनास जर्नल’ वर्ष ३१ अङ्क २–सन् २००४ः३४५) ।

जयन्तको यस्तो तयारी देखेर पृथ्वीनारायण शाह उत्तेजित भइहाले । उनलाई वेलकोट आक्रमण गरी जयन्तलाई तह लगाउन हतारो भइहाल्यो । उनी हतारिएर विना तयारी पालकीमा चढेर वेलकोटतिर दौडी हाले । उनको यो हतारो देखेर काजी कालु पाँडेले आफ्ना लस्कर साथै दौडादौड गर्दा पृथ्वीनारायण शाहसङ्ग घोरघाटमा उनको भेट भयो । हात जोडी कालुले पृथ्वीनारायण शाहलाई ‘यस्ता तरहसित हडबडाई काम गर्नु हुँदैन’ भनी विन्ति गर्दा उल्टै ‘तैंले लडाई गर्न सिकाउलास् र म लडाईं गरुँला’ भनी नराम्रोसङ्ग रिसाउँदै पालकी अगाडी बढाउन लगाए (‘प्राचीन नेपाल’, सङ्ख्या २२–माघ २०२९ः३) ।

उनी बेलकोट पुग्दा उनीमाथि शत्रु सेनाबाट बाणको वर्षा भयो । त्यहाँ गोरखाली पक्षका वीर–वीर सेनाहरु धेरै ढले । उनी चढेको पालकी बोक्ने पुतुवार पनि घाइते भए । त्यसपछि उनले पालकी फर्काउन आदेश दिए । तर त्यतिखेरै कालु पाँडेले ‘यस कुराको विचार अघि नै गर्नुपथ्र्यो, मोहडा जोरिएपछि पछि हटे त जयन्तेले धपाएजस्तो पर्ला हट्नु हुँदैन’ भनी विन्ति गरे । जयन्त पक्राउ परेपछि युद्ध थामियो । जयन्तलाई लिएर उनीहरु नुवाकोट फर्के (‘प्राचीन नेपाल’, उहीः४) ।

पृथ्वीनारायण शाहले वेलकोटको युद्धमा विजय त हासिल गरे । तर उनको अनुहार मलिन थियो । आफ्ना प्रशस्तै सेना ध्वस्त भएकोमा उनलाई थकथक लागि रहेको थियो । उनले कालुलाई ‘अबदेखि कटकका कुरा विना तेरा सल्लाह गर्ने छैन’ भनी भूल स्वीकार गर्दै कालुको पीठमा धाप मारेका थिए (कर्माचार्य (हाडा), उहीः३४६)

नुवाकोट आक्रमणमा प्रशस्तै मगर भारदार तथा सेनाहरु गोरखाली लस्करमा थिए भन्ने माथि परिसकेको छ । जयन्तका साथ हिजो गोरखाबाट पलायन भएका मगरहरु पनि गोरखालीविरुद्ध लडेको अनुमान गर्न गाह्रो छैन । वेलकोटको युद्धमा विजय हुँदा पृथ्वीनारायण शाहकै अनुहार मलिन हुने गरी गोरखाली सेना ध्वस्त भएको अवस्थामा पक्कै पनि अधिक सङ्ख्यामा मगरहरु परेको कुरा पनि अनुमान गर्न गाह्रो छैन ।

यस अनुमानअनुसार समग्रमा नुवाकोटको युद्धमा मगर सेना धेरै परे । त्यसमाथि पनि गोरखाली पक्षधर मगर भारदार तथा सेनाकै आँखाअगाडी जयन्त रानालाई जिउँदै छाला काढी अमानवीय किसिमले पृथ्वीनारायण शाहले प्राणदण्ड दिए । यो दृश्य सम्झदा मात्र पनि मगरहरुले इतिहासमा भोगेको एक नमीठो नियति अनुभूत हुन्छ ।

पृथ्वीनारायण शाहले प्रवन्ध गरेको उखान टुक्का ‘मगरको पेट, कहिल्यै नभेट’ नुवाकोटमा प्रयोग भयो, जहाँ आक्रमण गर्न पृथ्वीनारायण शाहको नेतृङ्खवमा ठूलो लस्करमा नुवाकोटपुगेका मगर भारदार र सेना, अर्कातिर प्रत्याक्रमणमा जुटेका जयन्त रानाको नेतृत्वको फौज । यी दुई पक्षको पेट एकअर्कामा नभेट्ने अवस्थामा रहेको त्यहाँ देखियो ।

इतिहास शिरोमणि बाबुराम आचार्यले (‘पूर्णिमा’ पूर्णाङ्क ५०ः३) मा जयन्त रानाले गरेका अघिका सेवालाई भुलेर ज्यान लिदा पनि छाला काढी कष्ट दिनु पृथ्वीनारायण शाहको प्रशंसनीय काम थिएन भनी आलोचना गरेको पाइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);