नेकपा विभाजनको बाछिटा सल्किएको जसपा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेकपा विभाजनको बाछिटा सल्किएको जसपा

काठमाडौ, ८ चैत । जनता समाजवादी पार्टी जसपा सत्ता संघर्षकै कारण एक ढिक्का भएर जाने सम्भावना कमजोर बन्दै गएको छ । सर्वोच्चको एक आदेशकै कारण दुई चिरामा विभाजन भएको सत्तारुढ दलको विभाजनको पछिल्लो असर जसपामा देखिएको छ । जसपाको पार्टी नेतृत्वमा रहेका महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवबिच सत्ता समिकरणका लागि छनौटमा पर्ने सम्भावित सत्ता साझेदार छनौटकै बिषयमा यतिबेला तिब्र विवाद देखिएको छ ।

जसको संकेत गत पार्टी पदाधिकारी बैठकले नै दिईसकेको छ । पार्टीले चैत ५ गतेका लागि बेलाईएको कार्यकारी समितिको बैठकका एजेण्डा तय गर्न बसेको पार्टी पदाधिकारी बैठकले कार्यसमितिमा पेश गर्न भनी उपेन्द्र यादवले तयार गरेको ८ पृष्ठ लामो ‘वर्तमान परिस्थिति र पार्टीको कार्यदिशासम्बन्धी’ राजनीतिक प्रस्तावलाई नै खारेज गरिदियो ।

यादवले पदाधिकारी बैठकमा प्रस्तुत गरेको राजनैतिक प्रस्ताव आधारहीन र पूर्वाग्रहग्रस्त आरोपको पुलिंदा भएको बैठकले निष्कर्ष निकालेको थियो । उपेन्द्रको यो प्रस्तावमात्रै खारेज गरिएन उनीमाथी सत्ता साझेदारीका लागि उधारो सहमती गर्न खोजेको आरोप नै लगाईयो । पार्टीका नजरमा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेसको मधेश नीति समान भएपनि तत्काल आफ्ना मुद्दा सम्बोधनका लागि जो तयार हुन्छ, उसैसँग सत्ता समीकरण गरिनु पर्ने महन्थ पक्षको अडान रहेको छ ।

यो पक्षले ओलीसँग सहकार्य गर्दा तत्कालै आफ्ना एजेण्डाको सम्बोधन हुने भएकै कारण ओलीको विकल्पमा पार्टीले अन्य कुरा सोच्न नसक्ने भन्दै उपेन्द्रको सो प्रस्तावलाई खारेज गरिदिएपछि यतिबेला पार्टी विभाजनको प्रसव पीडामा रहेको अर्थमा बुझ्न सकिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान एमाले सरकार आन्तरिक किचलो र पार्टी नै फुट्न सक्ने सम्भावना बढ्दै गएपछि अप्ठेरोमा परे लगत्तै सरकार टिकाउने र गिराउने प्रतिपक्षी खेल शुरु भएको छ । यसमा प्रष्ट रुपमा प्रतिपक्षी दलका नेताहरु नै दुई कित्तामा बाँडिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको एउटा खेमा ओली नेतृत्वको सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार बनाउने हतारोमा देखिएको छ भने पार्टी सभापति शेरबहादुर देउवामा सरकारमा जाने नजाने बिषयमै अन्यौल देखिएको छ ।

जसपाभित्रको ठाकुर महतो खेमा ओली सरकारकै निरन्तरतामा आफ्नो साझेदारी खोजी रहेको छ भने जसपाकै यादव भट्टराई खेमा भने ओलीको बहिर्गमनसँगै ओली ईतर शक्तिसँगको सहकार्यमा नयाँ सरकार बनाउनु पर्ने अडानमा देखिएको छ । यस्तोमा बिगतमा प्रधानमन्त्री ओलीको सत्ता साझेदार नै रहेको माओवादी केन्द्र ओलीलाई सत्ताबाट बहिगर्मित बनाएर काँग्रेस र जसपासँगको समीकरणमा सरकार बनाउने दौडधुपमा आफ्नो पसिना नै बगाएर बसेको छ ।

सत्ताका बिषयमा प्रतिपक्षी दलहरुमै एकमत नभएको वर्तमान सन्दर्भलाई हेर्ने हो भने सबैभन्दा सकसपुर्ण अवस्थामा भने जसपा नै रहेको छ । बितेका एक साता जसपामा सत्ता साझेदार छनौटको बिषयमा नेताहरुबीच देखिएको मतान्तर र मनोमालिन्यको अवस्थालाई हेर्दा पार्टी नै फुट्ने स्थितीमा त पुगेको हैन भन्ने आशंकाले बल पाएको हो । चैत ५ गतेका लागि बेलाईएको कार्यकारिणी बैठक एजेण्डामै सहमति कायम हुन नसकेपछि स्थगित गरिए लगत्तै जसपाभित्रका पूर्व राष्ट्रिय जनता पार्टी(राजपा) र संघीय समाजवादी पार्टीमा रहेका नेताहरुको अलग अलग गुटगत बैठकले तिब्रता पाएसँगै जसपाभित्रको मनोदशा समेत स्पष्ट हुँदै गएको छ ।

यतिबेला जनता समाजवादी पार्टीका नेताहरू प्रष्टसँग दुई कित्तामा बाँडिएको देखिएको छ । चैत ५ गतेका लागि बोलाईएको कार्यकारिणी समितिको बैठक स्थगित गरेर त्यसैदिन साँझ जसपामा आवद्ध पूर्व राष्ट्रिय जनता पार्टी राजपाका नेताहरूको भेला इन्द्रेणी फुडल्याण्डमा बसेको थियो । भेलाले प्रधानमन्त्री ओलीलाई नै समर्थन गरेर जाने निष्कर्ष समेत निकालेको थियो । उनीहरुले, प्रधानमन्त्री ओलीले पार्टीका तर्फबाट राखिएका माग पूरा गर्ने प्रतिबद्धता राखिरहँदा आफ्नै पार्टीका केही नेताहरु भने माओवादी केन्द्रसँग उधारोमा सहमति गर्ने तयारीमा रहेको भन्दै त्यसमा आपत्ति समेत जनाएका थिए ।

ईन्द्रेणी फुडल्याण्डमा जसपा आवद्ध पूर्व राजपाका नेताहरुको बैठक बसिरहँदा जसपाकै अर्को खेमा पूर्व संघीय समाजवादीका नेताहरुको समेत सोहिदिन साँझ अलग्गै गुट बैठक बसेको थियो । संघीय समाजवादीहरुको बालकुमारीमा बसेको बिहीबार साँझको बैठकले भने ओली ईतरको समीकरण बनाएर सरकारमा जानु पर्ने आफ्नो पूर्व अडानलाई नै निरन्तरता दिने निर्णय लिनुले सत्ताको भागदौडमा जसपा भित्रै विभाजनको अर्को धर्सो कोरिएको आशंकाले पछिल्लो पटक नेपाली राजनीतिमा बल पाउँदै गएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);