सत्ताको हुटहुटीले अँध्यारो भविष्यतर्फ डोहोरिंदै कांग्रेस (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

सत्ताको हुटहुटीले अँध्यारो भविष्यतर्फ डोहोरिंदै कांग्रेस (भिडियोसहित)

गत निर्वाचनमा जनताले कांग्रेसलाई सत्तामा जाने जनादेश नदिएर जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने जिम्मेवारी सुम्पेका हुन् । तर, जनताबाट झण्डै दुई तिहाई निकटको बहुमत समेत सत्ता सञ्चालनको जनादेश पाएको सत्तारुढ दल नेकपाले जनताबाट पाएको यो जनादेशको सम्मान भने गर्न सकेन । जनताले बडो विश्वासका साथ दिएको त्यो बहुमत यतिबेला नेकपाका लागि घाँडो बन्दै गएको संकेत मिल्न थालेको छ ।

पार्टीभित्रका वैचारिक र सैद्धान्तिक विचारभन्दा ब्यक्तिगत कुण्ठा र पूर्वाग्रह अनि सत्ता र शक्तिको होडबाजीको शिकार यतिबेला सत्तारुढ दल नेकपा बन्दै गएको देखिएको छ । परिणामतः संसद्मा बहुमत प्राप्त पार्टी यतिबेला फुटको संघारमा उभिएको स्थितीमा कांग्रेसलाई सत्तासयलको यो अवसर प्राप्त हुने संकेत मिलेको हो । सत्ता उक्लने यो अवसरलाई ग्रहण गर्ने र नगर्ने बिषयमा यतिबेला कांग्रेसभित्रै अन्योलको स्थिती रहेको छ ।

कांगे्रसकै एक पक्ष सत्तामा जान हतारिनु नहुने तर्क गरिरहँदा अर्को पक्ष भने प्राप्त जिम्मेवारीबाट भाग्न नहुने भन्दै आएको सन्दर्भमा कांग्रेसले एकमुष्ट निर्णय भने लिन सकेको अवस्था छैन । तर, यथार्थ के हो भने जनताको अभिमत र विश्वासको सम्मान कम्युनिष्टहरुले गर्नै सकेनन्, जसको प्रत्यक्ष लाभ आगामी निर्वाचनमा कांग्रेसलाई प्राप्त हुने निश्चित जस्तै छ । तर, निर्वाचनसम्मको समयसम्म पर्खेर निर्वाचनका माध्यमबाट सत्तामा पुग्दा कांग्रेसलाई जुन सहजता प्राप्त हुने थियो, त्यो अपुतालीका रुपमा प्राप्त सत्ताबाट सम्भव छैन ।

त्यसमाथि बितेका तीन वर्षमा कम्युनिष्टहरुले सत्ताका माध्यमबाट भित्र्याएका विकृती, सत्ताको चरम दोहनले स्थापित गरेका बेथिती, भ्रष्टाचार लगायतका सबै अभियोगको हिस्सेदारका रुपमा पनि कांग्रेस स्थापित हुन पुग्दछ । ‘अपुताली धनले पिरोल्छ’ भने झैं सत्ताधारी पार्टीमा आएको फुटका कारण अपुतालीकै रुपमा प्राप्त सत्ता कांग्रेसका लागि फलिफापपूर्ण यसर्थ पनि छैन कि डेढ बर्षका लागि आएको सत्तासँगै बिगत तीन वर्षका सबै गलत कामको जिम्मेवारी र जवाफदेहिता समेत कांग्रेसकै काँधमा आईपर्दछन् ।

यो यथार्थ बुझेका एक थरी कांग्रेस तत्कालै सरकारमा जाने निर्णयमा पार्टी जानै हुँदैन भन्ने अडानमा रहेका छन्, जुन यथार्थ पनि हो । तर, कांग्रेसका लागि सत्ताका भावी दिन कति कष्टपूर्ण र अलोकप्रिय हुने छ भन्ने तर्फ कुनै विश्लेषण नै नगरेर मात्रै झण्डाको आकर्षण पाल्नेहरुको एउटा जमात भने सत्तामा नजानै पर्ने हुटहुटीमा लागेको छ, जुन स्वयं पार्टी र यसको भविष्यकै लागि हितकर छैन । यतिबेला समग्र कांग्रेसले सत्ताको लोभ र आकर्षण त्यागेर सोच्नै पर्ने भएको छ ।



Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);