Our Network

वैशाख ९ २०७८, बिहीबार

सत्तामा देखिएको खिंचातानीमा कांग्रेसले के गर्ला ? (भिडियोसहित)

गत निर्वाचनमा जनताको अपार विश्वास जितेको सत्तारुढ दल नेकपालाई यतिखेर सो जनमत घाँडो बन्दै गएको छ । जनता समक्ष विकास, समृद्धिको प्रतिबद्धता जाहेर गरेर जनताबाट दुई तिहाई निकटको मत बटुलेको मुलुककै ठूलो कम्युनिष्ट पार्टीलाई यतिबेला जनताले दिएको सो बहुमत बोक्नै नसक्ने भारी बन्दै गएको पार्टी भित्रैका केही नेताहरुका क्रियाकलापबाट प्रष्ट भैरहेको छ ।

यसैले पनि आफ्नै बहुमतको सरकारका विरुद्ध मोर्चाबन्दी कसेर प्रतिपक्षी दलहरु समक्ष प्रधानमन्त्रीका लागि हार गुहार गर्दै हिंडेको उदेक लाग्दो स्थिती यतिबेला सत्तारुढ दल भित्रै देखिन थालेको छ । प्रजातन्त्रमा दल भित्र वैचारिक विवाद हुन्छन् । विचार र सिद्धान्तमा आई पर्ने यस्ता विवादको निरुपण पार्टीको महाधिवेशनले गर्ने गर्दछ । त्यसमाथि पनि कम्युनिष्ट पार्टी भित्र त विचार र सिद्धान्तमा विवाद देखिए तीनलाई महाधिवेशनमा लगेर टुंग्याउने परम्परा नै रहेको छ ।

तर, पछिल्लो चरणमा सत्तारुढ दलमा भने त्यस्तो परम्परा र मान्यतालाई अंगिकार गरेको देखिएन । र भन्नु नै पर्दा यतिबेला सत्तारुढ दल भित्र देखिएको विवाद सिद्धान्त र विचारबाट प्रभावित नभई पद र प्रतिष्ठामा केन्द्रित रहेको छ । ब्यक्तिगत रुपमा आत्म केन्द्रित र नीजि स्वार्थबाट उत्पन्न भएका स–साना विवाद यतिबेला पार्टी फुटको कारण समेत बन्न पुगेका छन् ।

आफ्नै मेहनत र पसिनाले सिञ्चित गरेर यहाँसम्म आएको बाम आन्दोलनमा पछिल्लो समय आएको स्खलनका कारण सत्ता अस्थिर बन्दै जाँदा संसदको प्रमुख प्रतिपक्षले आफुलाई चिठ्ठा परेको सोच्नु अन्यथा हैन । तर, सत्ताको रसास्वादन गर्ने अवसर आयो भन्दैमा सत्ताका लागि हतारिएर निर्णयमा पुग्नु कतै कांग्रेसकै लागि दुर्भाग्य नबनोस् कांग्रेसजनले यसतर्फ सोच्नै पर्ने भएको छ । वर्तमान संसदको आयु सकिन अब डेढ वर्ष मात्रै छ ।

जनताले कम्युनिष्टहरुलाई गरेको विश्वासमा जुन घात भएको छ, त्यसले जनतामा कम्युनिष्टहरु प्रति बनेको धारणा आगामी दिन कांग्रेसका लागि अवसरका रुपमा परिणत हुन सक्दछ । त्यसैले अहिले नै कांग्रेसले सत्ताका लागि हत्ते हाल्नु यसै पनि उचित छैन । यसै प्रसंगमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय आफु प्रधानमन्त्रीको दौडमा नरहेको भनेर दिनु भएको सार्वजनिक अभिब्यक्तिले देउवाको मात्रै हैन यतिबेला समग्र कांग्रेसकै उचाई बढाईदिएको छ ।

सत्तारुढ दलमा देखिएको खिंचातानीसँगै सरकार नै अस्थिर बन्दै गएको सन्दर्भमा नेकपा, कांग्रेस लगायतका राजनैतिक दलभित्र एकाएक नेपाली कांग्रेसलाई सत्तामा पुग्ने अवसर आएकै हो । तर कांग्रेस सभापति देउवाले कांग्रेसलाई सत्तामा जान कुनै हतार नभएको र आफुहरु अहिल्यै सत्ताको दावेदार नभएको बताएर चलेका यावत चर्चालाई हल्लाका रुपमा परिणत गरिदिनुले सकारात्मक सन्देश गएको विश्लेषण भैरहेको छ ।

र राजनैतिक वृत्तमा यसलाई सत्ताका राजनीतिको फोहारी खेलबाट कांग्रेसले आफुलाई पृथक राख्न चाहेको अर्थमा समेत बुझ्न थालिएको छ । पार्टी सभापति देउवाले पछिल्लो पटक सार्वजनिक गर्नु भएको आफ्नो यो अडानमा कायम रहनुहोला नहोला, त्यो आउने समयले नै बताउने छ । तर, कांग्रेस सभापतिले लिएको यो अडानले निरन्तरता पाएको खण्डमा कांग्रेसले प्राप्त गर्ने राजनैतिक उचाईले कांग्रेसका शुभेच्छुकहरुका लागि छाती चौडा र शिर ठाडो पारेर हिंड्ने अवसर दिने कुरालाई भने नकार्न सकिन्न ।

आशा गरौं सिंगो कांग्रेस र यसको नेतृत्वतह आफ्ना अडानमा कायम रहने छ । र आफूमाथि बिगतमा लाग्दै आएको सत्ताको तावेदार भएको कलंकको टिका मेट्न कांग्रेसकै नेतृत्वतह तयार बसेको छ भन्ने सन्देश जनतामा प्रवाहित गर्न कुनै कसर बाँकी राख्दैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *