प्रधानमन्त्री, असुरक्षा र पुर्वाग्रहग्रस्त प्रतिकृयाहरु (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

प्रधानमन्त्री, असुरक्षा र पुर्वाग्रहग्रस्त प्रतिकृयाहरु (भिडियाेसहित)

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आफू असुरक्षित रहेको बताउनु भयो । प्रधानमन्त्रीको उक्त भनाईलाई लिएर विभिन्न कोणबाट विभिन्न खाले टिका टिप्पणी नै सार्वजनिक भए । पार्टीको आन्तरिक द्वन्द्वका कारण पछिल्लो पटक मुलुकमा विकसित भएको राजनैतिक घटनाक्रम र सत्तारुढ राजनैतिक दल भित्र देखिएको विकृत आरोप प्रत्यारोपका स्तरलाई हेर्दा प्रधानमन्त्री ओलीले सोमबार पोखरामा दिनु भएको असुरक्षाको अभिब्यक्तलाई हलुका ढंगले लिन भने सकिन्न ।

आफू सत्तामा हुँदा र नहुँदाको अवस्थामा समेत देशको अखण्डता र सार्वभौमिकताका सवालमा स्पष्ट अडान राख्दै आउनु भएका प्रधानमन्त्री ओली पछिल्लो समय मिचिएका सीमाका सम्बन्धमा अति नै संवेदनशील हुनुहुन्छ । प्रधानमन्त्री ओलीले पछिल्लो समय अतिक्रमित नेपाली भूभाग फिर्ता गर्न कुटनैतिक दबाब नै सुरु भएपछि छिमेकी मुलुक भारत प्रधानमन्त्री ओलीसँग रुष्ट बन्दै आएको तथ्य पनि छर्लंगै छ ।

यस्तोमा उतैको सहमा आफ्नो राजनीति सुरक्षित रहेको देख्ने नेपालकै कतिपय स्वनामधन्य राजनैतिक हस्ती र सत्तारुढ दल नेकपाभित्रै पनि दक्षिणकै आडभरोसमा राजनीति गर्नेहरु समेत प्रधानमन्त्रीका पछिल्ला अडानबाट सन्तुष्ट नभएको त सत्तारुढ दलमै देखिएको विस्फोटक स्थितिले पनि बताई सकेको छ । यी र विगतका अनुभवलाई हेर्दा कतै आफूले लिएको राष्ट्रवादी अडान नै आफ्नै लागि काल बन्दै आएको त छैन भन्दै आफ्नो असुरक्षाको प्रश्न उठाउनु जायज नै हो ।

विश्व राजनैतिक मञ्चमा हेर्ने हो भने, कतिपय राजनैतिक हत्याको शिकार भएका ब्यक्तिहरु कडा सुरक्षा घेरामा बस्दा पनि सकुशल रहन सकेनन् । छिमेकी मुलुक भारतमा भएका दुई चर्चित राजनैतिक हत्याका घटनालाई नै हेर्दा सबै कुरा खुलस्त हुन्छ । भारतकी शक्तिशाली प्रधानमन्त्री इन्दीरा गान्धी र उनकै पुत्र भारतकै प्रधानमन्त्री राजिव गान्धी कडा सुरक्षा घेराका बावजुद हत्याराको निशानामा परेका थिए । भारतबाट अलिक टाढा जाने हो भने अमेरिकाका राष्ट्रपति अब्राहम लिंकन, जोन एफ केनेडीलाई उदाहरणका रुपमा लिन सकिन्छ । राष्ट्रपति बहाल रहेकै अबस्थामा सुरक्षा घेरा तोडेर हत्याराले लिंकन र केनेडिको हत्या गरेको थियो ।

यतिमात्रै हैन, हाम्रै आफ्नै मुलुकमा, ईशारा बिना चरोले पनि प्रबेश पाउन मुश्किल छ भनिने नारायणहिटी राजदरवार भित्रै तत्कालिन राजा श्री ५ वीरेन्द्रको वंशै नाश हुनेगरी सपरिवार सामुहिक हत्या भएको धेरै समय बितेकै छैन । यस्तोमा पार्टी भित्रको कलहले आक्रान्त बनेको नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको ‘असुरक्षाको कुरो’ मात्रै राजनैतिक हतियार हो भनेर भनिहाल्ने अबस्था भने छैन । प्रधानमन्त्री ओली स्वभावैले कतिपय गम्भीर प्रकृतीका विषयलाई हलुका ढंगले ब्यक्त गर्नु हुन्छ ।

यस्तोमा उहाँले पोखरामा दिएको अभिब्यक्तिलाई राजनैतिक व्यंग्यको बिषय बनाई हाल्नु वा यसमा आलोचनात्मक विचार तयार गरी हाल्नु अलिक हतार र असुहाउँदिलो पनि हुनसक्दछ । राजनीति गर्ने र राजनैतिक रुपमा टिका टिपपणी गर्ने अन्य थुप्रै विषय हामीसँग छन् । तर, जिउधनकै प्रश्नलाई भने राजनैतिक रंग दिएर टिप्पणी गरिनु भने उचित हुँदैन ।

माथि उदाहरणका रुपमा उल्लेख गरिएका हत्याका प्रसंग र त्यहाँ भएका सुरक्षा ब्यवस्थाको तुलनामा नेपालको सुरक्षा व्यवस्थालाई दह्रो सुरक्षा घेराका रुपमा लिनै नसकिने स्थितिमा प्रधानमन्त्रीको अभिव्यक्ती लगत्तै सुरु भएका टिका टिपपणी यसै पनि पुर्वाग्रहग्रस्त मानसिकताका उपज हुन भन्दा अत्योक्ति नहोला । राजनैतिक हत्याको अभिष्ट राखेर योजना बनाउनेका लागि कुनै न कुनै छिद्र तयार भएकै हुन्छन् । र स्वयं कार्यकारिणीमा रहेको ब्यक्तिबाटै आफु असुरक्षित रहेको भनाई सुरक्षा घेराभित्रै बाट आउँदछ भने त्यो गम्भीर बिषय हो । र यसमा देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी लिएका निकाय समेत गम्भीर बन्नु पर्ने हुन्छ ।

Leave a Reply