वाम गठबन्धनको तयारी : तीन दिनभित्र सिट संख्या र क्षेत्र टुंगो लाग्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वाम गठबन्धनको तयारी : तीन दिनभित्र सिट संख्या र क्षेत्र टुंगो लाग्ने

काठमाडौँ, २० असोज । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले तीन दिनभित्र सिट संख्या र निर्वाचन क्षेत्रको बाँडफाँड टुंग्याउने निर्णय गरेका छन्। एक साताभित्र संयुक्त घोषणापत्रको मस्यौदा तयार पार्ने गरी उनीहरूले काम सुरु गरेका छन्।

निर्वाचन क्षेत्र बाँडफाँड तथा संयुक्त घोषणापत्र मस्यौदा तयारी समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले दुवै काम तोकिएको समयसीमाभित्र सम्पन्न गर्ने निर्णय गरेको हो। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नजिकिँदै गएकाले तोकिएकै समयसीमाभित्र काम सम्पन्न गर्न दुवै समितिलाई निर्देशन दिए।

‘तीन दिनभित्र क्षेत्र बाँडफाँड र सातदेखि दश दिनभित्र निर्वाचनसम्बन्धी संयुक्त घोषणापत्र तयारी गर्न दुवै पार्टीका अध्यक्षले निर्देशन दिनुभएको छ,’ एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘त्यसअनुसार काम सम्पन्न गर्ने गरी हामीले काम अघि बढाएका छौँ।’

तीन पार्टी एकता संयोजन समितिको बुधबारको बैठकले दुवै कामका लागि छुट्टाछुट्टै समिति बनाएको थियो । संयुक्त घोषणापत्र मस्यौदा समितिमा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीमबहादुर रावल, देव गुरुङ, प्रदीप ज्ञवाली, विश्वभक्त दुलाल, डम्बर खतिवडा र डा.लक्ष्मी देवकोटा छन् । त्यस्तै, निर्वाचन क्षेत्र निर्धारण समितिमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे, मातृका यादव र गंगा श्रेष्ठ छन्।

यसरी बाँडफाँड हुँदै छ ६०-४०

एमाले र माओवादी केन्द्रले ६०-४० को अनुपातमा सिट बाँडफाँड गर्ने सहमति गरे पनि पहिले वाम गठबन्धनमा सामेल हुने पार्टीलाई सिट र क्षेत्र टुंगो लगाएपछि मात्रै बाँकीमा बाँडफाँड गर्ने तयारी गरेका छन् । नयाँ शक्ति पार्टीलाई पनि प्रत्यक्ष र समानुपातिकतर्फ केन्द्र र प्रदेशमा कति सिट कहाँ–कहाँ दिने भन्ने टुंगो लागिसकेको छैन।

६०-४० मा कसलाई कति सिट ?

प्रतिनिधिसभा

प्रत्यक्षतर्फ जम्मा सिट– १६५
एमाले– ९९ (टुंगिन बाँकी)
माओवादी केन्द्र ६६ (टुंगिन बाँकी)
नयाँ शक्ति नेपाल– (टुंगिन बाँकी)
समानुपातिकतर्फ जम्मा सिट– ११०
एमाले– ६६ (टुंगिन बाँकी)
माओवादी केन्द्र– ४४ (टुंगिन बाँकी)
नयाँ शक्ति–नेपाल– (टुंगिन बाँकी)

प्रदेश सभा

प्रत्यक्षतर्फ जम्मा सिट ३३०
एमाले– १९८ (टुंगिन बाँकी)
माओवादी– १३२(टुंगिन बाँकी)
नयाँ शक्ति– (टुंगिन बाँकी)

समानुपातिकतर्फ– २२०
एमाले– १३२ (टुंगिन बाँकी)
माओवादी– ८८ (टुंगिन बाँकी)
नयाँ शक्ति– टुंगिन बाँकी

एमाले र माओवादीको सिट घट्ने

एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सिट लिने भने पनि अरू दललाई दिएर बाँकी सिट लिने भनेका कारण अहिलेकै प्रस्तावित सिट संख्या दुवै दलको घट्ने भएको छ । नयाँ शक्ति र अन्य साना वाम दललाई बाँडिएपछि बाँकी सिट लिने उनीहरूको तयारी छ । त्यसबाहेक हृदयेश त्रिपाठीसहित पाँचजनाको स्वतन्त्र समूहले यसअघि नै सूर्य चिह्न लिएर सहभागी हुने सहमति गरिसकेकाले उनीहरूका लागि पनि क्षेत्र छुट्याउनुपर्ने हुन्छ ।

क्षेत्र बाँडफाँडको आधार : स्थानीय तहको मत परिणाम

तीन दलले ०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामलाई मुख्य आधार मानेर सिट र क्षेत्र बाँडफाँड गर्ने समझदारी गरेका छन् । कुनै पनि जिल्लाको निर्वाचन क्षेत्रमा जुन पार्टी बलियो छ, उसैलाई क्षेत्र छाडेर तालमेल गर्ने उनीहरूको तयारी छ । तर, त्यसलाई मात्रै आधार मान्दा माओवादी केन्द्रलाई छाड्ने भनिएको ४० प्रतिशत सिट बढी हुनेछ।

माओवादीले पहिलो बन्न नसकेर दोस्रो स्थान ल्याएको अधिकांश जिल्ला र क्षेत्रमा सिट पाउने भएको छ । स्थानीय तहको निर्वाचनमा एमाले ७७ मध्ये झन्डै आधा जिल्लामा पहिलो र एक दर्जनजति जिल्लामा दोस्रो ‘पोजिसन’मा छ । तर, माओवादी केन्द्र भने ६ नम्बर प्रदेशका रुकुम, रोल्पा, कालिकोट र २ नम्बर प्रदेशका केही जिल्लामा मात्रै पहिलो छ । ‘अनुपातलाई हेर्दा परिणामलाई मुख्य आधार मानेर क्षेत्र बाँडफाँट गर्ने समझदारी भएको छ,’ एमाले महासचिव पोखरेलले भने, ‘जसलाई क्षेत्र छाड्दा पनि जित्ने सुनिश्चिततालाई प्राथमिकता दिइनेछ ।’

घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

तीन दलको संयुक्त घोषणापत्र मस्यौदा समितिको बिहीबारको बैठकमा घोेषणापत्रमा समावेश गर्ने विषयवस्तुमा केन्द्रित रहेर छलफल भएको छ । उनीहरूले मस्यौदामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई एजेन्डा बनाउने समझदारी गरेका छन् । यद्यपि, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपति कि प्रधानमन्त्री भन्ने विषयमा छलफल बाँकी नै रहेको सदस्य देव गुरुङले बताए । ‘हामी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा छौँ, उहाँहरूको पनि आफ्नै मत होला,’ गुरुङले भने, ‘छलफल गर्न बाँकी नै छ, अहिलेलाई के–के विषयवस्तुका लागि कुन–कुन सामग्री कसरी संकलन गरेर लेखन अघि बढाउने विषयमा मात्रै कुुरा भएको छ।’

जित्ने गरी बाँडफाँड गर्न ओली र प्रचण्डको निर्देशन
दुवै समितिको संयुक्त बैठकमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जित्ने गरी सिट बाँडफाँड टुंगो लगाउन निर्देशन दिएका छन् । ६०-४० को अनुपातलाई आधार बनाए पनि मूल कुरा जित सुनिश्चित हुनुपर्ने दुवै नेताको भनाइ थियो । दुवैले जित सुनिश्चितता हेर्न निर्देशन दिएकाले समानुपातिकबाहेक प्रत्यक्षतर्फ क्षेत्र छुट्याउँदा ६०-४० को अनुपातमा केही तलमाथि हुन सक्ने सम्भावना रहेको नेताहरूको भनाइ छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);