वाम गठबन्धन बैठक : ३ दिनभित्र उम्मेदवार चयनका लागि क्षेत्र निर्धारण गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वाम गठबन्धन बैठक : ३ दिनभित्र उम्मेदवार चयनका लागि क्षेत्र निर्धारण गर्ने निर्णय

काठमाडौं, १९ असोज । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालको संयुक्त कार्य दलले तीन दिन भित्र प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार चयनका लागि क्षेत्र निर्धारण गर्ने भएका छन् ।

प्रत्यक्षतर्फको उम्मेदवार छनौटका लागि गठित कार्यदल र चुनावी घोषणा पत्र मस्यौदा कार्यदलको विहिबार बसेको संयुक्त बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि ३ दिन भित्र उम्मेदवार चयन गर्न क्षेत्र निर्धारणको काम सन्पन्न गर्ने निर्णय गरेको हो ।

चुनावी घोषणा पत्र मस्यौदा निर्माणको काम ७ भित्र

बैठकमा चुनावी घोषणा पत्र मस्यौदा निर्माणको काम ७ भित्र सम्पन्न गर्ने सहमति पनि भएको छ । बुधबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले एमाले महासचिव इश्वर पोखरेलको नेतृत्वमा गठन गरेको कार्य दललाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गर्ने कार्यादेश दिएको थियो भने बामदेव गौतम नेतृत्वको नेतृत्वमा कार्य दल गठन गरी चुनावी घोषणा पत्र मस्यौदा बनाउने जिम्मेवारी दिएको थियो ।

चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गरेका ३ दलले प्रत्यक्षतर्फको उम्मदवार बनाउँदा एमालेलाई ६० प्रतिशत र माओवादी केन्द्रलाई ४० प्रतिशत दिने सहमति गरिएको छ । सोही सहमतिलाई मुख्य आधार बनाएर उम्मेदवार चयनका लागि क्षेत्र निर्धारण गर्ने सहमति भएको नयाँ शक्ति पार्टी, नेपालका नेता गंगा श्रेष्ठले जानकारी दिए ।

उनले संविधान सभा निर्वाचन र हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामलाई पनि उम्मेदवार चयनका लागि क्षेत्र निर्धारण गर्दा आधार बनाउन सकिने स्पष्ट पारे । त्यसैगरी आर्थिक समृद्धिलाई मुख्य आधार बनाएर चुनावी घोषणा पत्र मस्यौदा तयार पार्ने निर्णय गरिएको छ ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन र चुनावी घोषणा पत्र निर्माणका लागि आवश्यक निर्देशन दिएका थिए । दुवै दलका प्रमुख नेताहरुले कार्यदललाई आवश्यक निर्देशन दिएको एमाले उपाध्यक्ष बामदेव गौतमले बताए ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालले मंगलबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर जाने र पार्टी एकीकरण गर्ने सहमति गरेका थिए । सोही सहमति अनुसारको काम अघि बढाउन ३ दलको संयुक्त २ कार्य दल गठन गरी प्रत्यक्षतर्फको उम्मेदवार चयनका लागि क्षेत्र निर्धारण र चुनावी घोषणा पत्र निर्माणको आधार र समयसीमा तोकिएको हो । दलहरुले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सय ६५ स्थानमा उम्मेदवार दिन पाउनेछन । आगामी मंसीर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);