साना वाम दल चुनावी रणनीति बनाउँदै, यस्तो छ तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, २० असोज । राष्ट्रिय जनमोर्चाले गणतन्त्रवादी दलहरूसँग तालमेल गरेर जाने निर्णय गरिसकेको छ। स्थानीय तह निर्वाचनमा जनमोर्चाले माओवादी केन्द्रसँग तालमेल गरेको थियो।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेलका लागि छलफल भइरहेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताए । ‘तालमेलका लागि एमाले, कांग्रेस र माओवादी केन्द्रलगायतका दलसँग कुरा गरिरहेका छौँ,’ उनले भने, ‘केही दिनभित्र टुंगो लगाउनेछौँ।’

जनमोर्चाले आफूले जित्ने क्षेत्रमा एक्लै निर्वाचन लड्ने तयारी गरेको छ भने जित्न नसक्ने क्षेत्रमा तालमेल गर्नेछ। नेपाल मजदुर किसान पार्टीले भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको छ । सिद्धान्त र विचारविनाको तालमेल पुँजीवादी अवसरवाद भएकाले तालमेलको अर्थ नहुने नेमकिपा नेता प्रेम सुवालले बताए।

दुई साना दल माओवादी चुनाव चिह्नमा भाग लिँदै

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई साना वाम दलले माओवादी केन्द्रको चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । गणेश शाह नेतृत्वको नेकपा संयुक्त र प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीले गोलाकारभित्रको हँसिया हथौडा चिह्न लिई निर्वाचनमा भाग लिने भएका छन्।

वैद्य माओवादी एक्लै निर्वाचनमा जाने

नेकपा क्रान्तिकारी माओवादीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक्लै भाग लिने भएको छ । निर्वाचन उपयोग गर्ने नीतिअनुरूप भाग लिन थालेको नेता सिपी गजुुरेलले बताए। गजुरेलको संयोजकत्वमा गठित जनगणतान्त्रिक मोर्चाले कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपासँग तालमेल नगर्ने यसअघि नै निर्णय गरिसकेको छ। तर, क्रान्तिकारी शक्तिसँग भने तालमेल हुन सक्ने माओवादीले जनाएको छ। कुन–कुन जिल्लामा उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको नेता गजुरेलले बताए। मोर्चाले चुनाव चिह्न मुठ्ठी पाएको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने भएको छ । नेकपाले संसदीय व्यवस्थाको विरोध गर्दै स्थानीय तह निर्वाचन पनि बहिस्कार गरेको थियो।

माले एमाले–माओवादी गठबन्धनमा सहभागी हुने

नेकपा मालेले एमाले-माओवादी गठबन्धनसँग तालमेल गर्ने भएको छ। प्रदेश र प्रतिनिधिसभाका लागि कति सिट लिने भन्ने विषयमा छलफल भइरहेको माले अध्यक्ष सिपी मैनालीले बताए। माले चुनाव चिह्न हँसिया तारा लिएर जाने भएको छ । ‘पार्टी एकताको विषयमा भने निर्वाचनपछि मात्र छलफल गर्छौँ,’ मैनालीले नयाँ पत्रिकासँग भने, ‘एजेन्डा, विचार, भावना र कार्यदिशा मिलेमा एकता पनि हुन सक्छ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);