भक्तपुरमा कांग्रेस र राप्रपाको चुनावी तालमेल, कुन क्षेत्र कसलाई ? | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

भक्तपुर । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरमा नेपाली कांग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल हुने भएको छ। कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले यसबारेमा कुरा गर्दै काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल गरेर निर्वाचनमा उम्मेदवारी दिने बताए।

भक्तपुरमा प्रतिनिधिसभातर्फ २ वटै निर्वाचन क्षेत्र तथा प्रदेशसभातर्फ ३ वटामा राप्रपा (प्रजातान्त्रिक) ले कांग्रेसका उम्मेदवारलाई सघाउने र क्षेत्र नं १ को प्रदेशसभा क मा भने काँग्रेसले राप्रपा (प्रजातान्त्रिक) लाई सघाउने गरी तालमेल हुने भएको हो। कांग्रेस सभापति थापाले भने, “काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) ले एकले अर्कालाई सघाउने सहमति अन्तिम चरणमा पुगेको छ। भक्तपुरमा एमालेलाई एक्लो बनाउने गरी तालमेलको लागि छलफल भइरहेको छ।”

कांग्रेसको राप्रपा (प्रजातान्त्रिक), राप्रपा, नेपाल मजदूर किसान पार्टी, नेकपा (माले) र (माओवादी-केन्द्र) सँग तालमेलका बारेमा छलफल भइरहेको बताइएको छ। उम्मेदवारको हकमा भक्तपुर कांग्रेसभित्र कुनै विवाद नरहेको प्रष्ट्याउँदै अध्यक्ष थापाले माथिल्लो तहबाट आएको निर्णयअनुसार काँग्रेस अगाडि बढ्ने र आफूलाई कांग्रेस कमजोर रहेको भक्तपुर क्षेत्र नं १ बाट टिकट दिएपनि उठ्न तयार रहेको बताए।

यता राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले पनि भक्तपुरमा काँग्रेसलाई सबै क्षेत्रमा सघाउने र राप्रपालाई निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ को प्रदेशसभामा उम्मेदवारी दिने रविन्द्रप्रताप शाहलाई सघाउने गरी सहमति भएको बताएका छन्।