खगेन्द्र घिमिरे, झापा, ११ असोज । झापा बाहुनडाँगीका कृषक यतिबेला व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । बेमौसमी तथा प्रांगारिक तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरू व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन् ।
झापाको मेचीनर नगरपालिका–२, बौद्धमोडका सनमान तामाङ र उत्तम राईले संयुक्त रुपमा बेमौसमी रायो सागको खेती सुरु गरे । सुरुमा अन्योल–अन्योलमै रायो सागको खेती गरेका उनहरुले अहिले ५० वटाभन्दा बढी अस्थायी टनेल बनाएर साग उत्पादन गरिरहेका छन् । रायो सागबाट कात्तिकसम्ममा साढे २ लाख खुद आम्दानी गर्ने उनीहरुको लक्ष्य छ ।
रायो सागमा उनीहरुले रासायनिक मल र विषादीको प्रयोग गरेका छैनन् । गाईवस्तुको गोबर, मलमूत्र र कम्पोस्ट मलमात्र प्रयोग गरेको उनीहरुले बताएका छन् । उत्पादितमध्ये केही साग बारीबाटै बिक्री भइरहेको छ भने बाँकी बिर्तामोडस्थित कृषि थोक बजारमा पु¥याउने गरिएको उनीहरुले बताएका छन् । फरक शैलीले काम गर्ने हो भने कृषिबाट धेरै आम्दानी गर्न सकिने कृषकहरु बताउँछन् ।
कृषकलाई तरकारी उत्पादनमा जिल्ला कृषि विकास कार्यालयलगायतका सरोकारवाला निकायबाट पर्याप्त प्राविधिक सहयोग हुने हो भने झापा लगायतका जिल्ला तरकारीमा आत्मर्निभर त बन्छन् नै, कृषि क्षेत्र आम्दानीको आकर्षक माध्यम बन्न सहयोग पुग्ने थियो ।




