एजेन्सी, ३ असोज । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो ।
मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा सुरुवातमा ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो । जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुनः बराबरीमा सकियो । त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो । जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो । १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो ।
सुपर ओभरमा जानु अघि पन्जाबका कप्तान केएल राहुलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै निकोलस पुरण र क्रिस गेलले २४/२४ रन जोड्दा मायांक अग्रवालले ११ रन, दिपक होडाले २३, क्रिस जोर्डनले १३ रन बनाए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।
राहुल चाहरको नाममा २ विकेट रहयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले ५३, हार्दिक पाण्डयले ३४, कप्तान रोहित शर्मा ९, केइरन पोलार्डले अविजित ३४ रन जोड्दा नाथन कल्टर २४ रनमा अविजित रहे ।
पन्जाबका मोहमद शामी र अश्रदिप सिंहले २/२ विकेट लिए । क्रिस जोर्डन र रबि बोस्नोईले १/१ विकेट लिए । जितसँगै पन्जाब ९ खेलमा ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।




