ब्लाक प्रोफाईल : रङगीनमा परिवर्तन गर्ने क्षमता सरकारले राखोस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

ब्लाक प्रोफाईल : रङगीनमा परिवर्तन गर्ने क्षमता सरकारले राखोस्

कल्पना सानु भट्टराई
आजभोलि कुनै समाचार हेर्न पत्रपत्रिका पर्खेर बस्नै पर्दैन । बिहान यसो समाजिक सञ्जालतिर आँखा डुलाउदा सहजै जानकारी प्राप्त हुन्छ । सामाजिक सञ्जाल प्रयोग गर्ने क्रममा मेरो आँखा कसैले लेखेको एउटा स्टाटसमा पुगेर टक्क रोकियो । स्टाटसमा लेखिएको थियो ‘न्याय नपाए गोर्खा जानु’ भन्ने ।

न्याय शव्द पढ्नासाथ मलाई ति कलिला अवोध निर्मला र सम्झनाको घटनाले मानसपटल खलबल बनाइदियो । निर्मला र सम्झना एक प्रतिनिधि पात्रमात्र हुन । समाजमा रहेर पनि बलात्कारका सिकार बनेका कयौं महिलाहरूले न्याय पाउन सकेका छैनन् ।

समाजमा छोरी चेली असुरक्षित भएकै कारण पछिल्लो समय सामाजिक सञ्जालमा महिलाहरूले ब्लाक प्रोफाईल राखेर सरकारको ध्यानाकर्षण पनि गर्दै आएका छन् । अत्याधिक महिलाहरूले आफ्नो रङ्गीन तस्विर हटाएर ब्लाक तश्विर प्रोफाईलमा अपलोड गरेका छन् । यो सबै केका लागि ? समाज त नारीको लागि झन् झन् क्रुर बन्दै छ । दिन प्रति दिन महिला बलात्कृत हुनु परेको छ । कलिला मुनाहरू फक्रिन नपाई दानविय मनस्थिति भएका पुरूषहरूबाट बलात्कृत हुनुपरेको छ । यस्तो घटना दिन प्रतिदिन हामी सामु आइरहेका छन् ।

अब बलत्कार विरुद्ध ब्लाक प्रोफाइल जस्ता थुप्रै अभियान चल्नु पर्छ

त्यसो भए हामी फेरि पनि चुप रहने ? अँ, हँ त्यसो हुँदै होइन । अब बलत्कार विरुद्ध ब्लाक प्रोफाइल जस्ता थुप्रै अभियान चल्नु पर्छ । एउटी आमा छोरी जन्मीएपछि डराउनु पर्ने समय आएको छ । जो बलात्कृत हुन्छिन् उनैले सजायँ पाउँदै आएका छन् । के यस्तै हो मुलुकमा न्याय ? नेपाल मुलुकमा महिला कहिले सुरक्षित हुन्छिन् ? अब स्त्री जातीले आफु सुरक्षित छु भन्ने कसरी महशुस गर्ने ? के पुरूषको इच्छाको लागि मात्र महिलाको जन्म भएको मान्ने हो ? मुलुकको कानुन कहाँ छ ? सरकारसँग म प्रश्न गरिरहेछु ।

मौलाउदै गरेका साना कोपिला मात्र हाईन बृद्धासम्म पनि बलत्कारको सिकार बन्न पुगेका छन् । बलत्कारपछि महिलाको जिवन अन्धकारप्रायः बनेको छ । सरकारले बलत्कार हुनुको कारण र यस्ता घटना न्युनिकरणमा केहि ठोस योजना बनाउन आवश्यक किन देख्दैन ? यौनको मामलामा पुरूष मानसिकतालाई परिवर्तन गरेर असल समाज निर्माणमा सरकारको ध्यान किन जान सकेन ? कतै मुलुकले दिइरहेको शिक्षानीति गलत थियो कि वा गलत भयो कि ? यौनका विषयमा खुल्लेखाम बहससँगै के सहि हो के गलत हो ? कानुनले कस्ता कस्ता कुरालाई वर्जित गरेका छन् ? के गर्नु हुन्छ ? के गर्नु हुँदैन जस्ता जानकारी विद्यालय तहदेखिनै शिक्षा नितीमा किन व्यवस्था हुन सकेन ? हामीले बालबालिकालाई समाज, जीवन र यौनको विषयमा राम्रो शिक्षा दिन चुक्यौं कि ! कतै अहिले त्यहि परिणाम विकराल त बनिरहेको छैन ? यौनलाई सरल बुझाई बनाउन नसक्दा कतै बलत्कारको घटना त वृद्धि भइरहेको छैन ? यस्तो संवेदनशिल विषयलाई किन बहसको विषय बनाउँदैन सरकार ?

बलत्कारीले बलत्कारपछि किन हत्या गर्छन ? यसको कारण सरकारले किन खोज्दैन ? के अब नारीले स्त्री भएकै कारण बलत्कार भएर मरिरहने ?

नारी सृष्टीकर्ता, सहनशिलता यस्तै उपमा दिएर उनको अस्मिता माथिनै खेलवाड हुनु निर्लज्ज कार्यका पराकाष्ठा हुन् । नारीले बलात्कृत भएर पनि उम्कन पाउका छैनन् । बलत्कारपछि चरम यातना दिएर निर्मम हत्या गरिएका छन् । बलत्कारीले बलत्कारपछि किन हत्या गर्छन ? यसको कारण सरकारले किन खोज्दैन ? के अब नारीले स्त्री भएकै कारण बलत्कार भएर मरिरहने ? यस्तो हुनुमा मुलुकको कानुन जिम्मेवार छ । मुलुकको सासनपद्दती जिम्मेवार छ । बलत्कारपछि हत्या गर्ने बलत्कारीलाई पनि निर्मम सजायँको व्यवस्था नभएसम्म र पुरूष वा महिला दुबैभित्र हुने यौनको मानसिकतामा परिवर्तन ल्याउन नसकुन्जेलसम्म यस्तो घटना कम हुने देखिदैन ।

बलात्कारपछि समाजले नारीलाई हेर्ने दृष्टिकोण फरक छ । जसका कारण उनीहरू समाजमा खुल्लेआम जीउन सकेका छैनन् । बलात्कृत भएकालाई घृणा हैन माया र सद्भाव दिएर उसको बाँकी जीवन सौँहार्दसँग जिउने वातावरण सरकारले बनाउनुपर्छ र समाजमा बलत्कारका घटना न्युनिकरण गर्दै लाने विभिन्न विधीहरू सरकारले अपनाउन जरूरी छ ।

बलात्कारपछिको नारीको जिवनलाई सहज बनाउन पनि सरकारले नीतिगत रूपमा सुधार गर्न आवश्यक छ । सरोकारवालाले धेरै आवाज उठाउदै आएका छन, सञ्चार माध्यममा बारम्बार वास्तविकता बताउँदा पनि सुन्नुपर्ने निकायले सुनेका छैनन् । न त दोषीले सजायँ नै पाएका छन् ।

पछिल्लो समय तिनै न्याय नपाएका नारी, बलात्कार पछि अन्धकारमय जिवन बाँचीरहेका नारीको लागि सामाजिक सञ्जालमा ब्लाक प्रोफाईल सेट अभियान चलेको छ । यो सानो प्रयासले न्यायको ढोका कतिको ढक्ढक्यनाउन सफल हुनेछ त्यो हेर्न बाँकी छ । सरकारलाई पनि ब्लाक प्रोफाईलको आभाष होस् । सरकारमा रहेका हरेक पुरूषका घरमा पनि महिला छन् स्त्री छन् । हरेक कार्यालयमा पनि स्त्री छन् नारी छन् ।

त्यसैले समाजमा नारी र स्त्रीजातीको सुरक्षाका लागि विशेष कानुन बनाउन पहल होस् । कानुन बनाएर कार्यान्वयन गर्ने शाहस राखोस् । छिट्टै ब्लाक प्रोफाईल रङगीनमा परिवर्तन गर्ने क्षमता सरकारले राखोस् जय नारी ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);