मेरो होम क्वारेन्टीन बसाइँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेरो होम क्वारेन्टीन बसाइँ

कल्पना सानु भट्टराई
कोभिड १९ का कारण विश्वका सारा मानिस त्रसित छन् । विश्वमा कोरोना संक्रमितको संख्या आजका दिनसम्म ३८ लाख बढि छ । त्यसैगरि नेपालमा पनि १ लाख नाघि सकेको अवस्था छ । यस्तैमा मेरो आसपासमा रहेका केहिलाई कोरोना पोजेटिभ देखा पर्यो । त्यस समयमा म पनि झसंङ्ग भएँ । ‘कहिँ म पनि कोरोनाको सिकार त बनिनँ !’ विरामी भयो कि सबै मानिसको मनमा आउने पहिलो प्रश्न हो यो । मेरो मनले पनि आफुले आफैलाई यहि प्रश्न ग¥यो । मलाई केहि दिनमानै ज्वरो, रूघा खोकिले ग्रस्त बनायो । त्यसपछि अब मैले कति जनालाई संक्रमित बनाएँ भन्ने तनावले मलाई छट्पटी बनाइरह्यो ।

परिवारको सल्लाह अनुसार म होम क्वारेन्टाईनमा बसें । ७ दिनसम्म क्वारेन्टाइन बस्ने र त्यतिबेला सम्म पनि स्वास्थ्यमा सुधार नआए अस्पताल जाने मनसाय बनाएँ । घरपरिवारबाट अलग्गिएँ । भौतिक दुरी कायम गरेर पारिवारिक सम्पर्कबाट पनि बाहिर बसें । मेरो बिहानीको सुरूवात स्वास्थ्य सम्बन्धी जानकारी हेरेर सुरूहुन्थ्यो । कोरोना सम्बन्धि धेरै समाचार नहेर्न गरेको परिवारको आग्रहलाई पछ्याएँ । हुन पनि सबैको सोंच र स्वभाव फरक हुन्छ । मेरो धेरै सोच्ने बानी । त्यसैले स्वास्थ्यमा अझ बढी असर पर्छ कि भन्ने लाग्यो । आफुलाई डर र तनाव मुक्त राख्न हर कोशिस गरें । खानामा विषेश ध्यान दिएँ ।

आत्मबलले पनि कोरोना जित्न सकिन्छ
कोभिड लक्षण मध्येका गन्ध र स्वादको प्रश्न मलाई दिनको १० पटक मनमा आउथ्यो । मेरी ठुलीआमाले मलाई बाबरी फुल पटक पटक सुँघ्न भन्नु हुन्थ्यो । सबै सामाग्री मेरो बन्द कोठाको ढोका बाहिर हुन्थे । मेरो कोहि सँग प्रत्यक्ष भेट भने भएन । बेसार,अदुवा,तुलसी,ज्वानो, लगायतका घरायसी दबाईलाई भरपुर मात्रामा सेवन गरेँ । हामी सामाजीक प्राणी । कोभिड १९ कै कारण समाजमा घुलमील, कुराकानी गर्न नपाएका कयौं मानिस डिप्रेसनका सिकार भएका छन् ।

कोरोना लागेका तथा म जस्तै कोरोनाका लक्षण देखिनेलाई समाजले गर्ने व्यवहार छि..छि र दुर दुरका कारण समस्या भोगिरहेका छन् । सबैको सोँच र व्यवहार एउटै नहुँदा संक्रमित अन्य रोगको पनि सिकार बन्न बाध्य भएका छन् । माया दिने मनोवल बढाउने जस्ता कार्य कोरोना संक्रमण पछि नहुँदा आत्मबल घट्न गई विरामी परेकाहरूको अवस्था दयनिय बन्न पुगेका छन् ।

त्यसैले क्वारेन्टाइन अवधिमा कोरोना संक्रमितलाई परिवारिक र सामाजिक सहयोगले आत्मबल बढाउन मद्दत गर्दछ भन्ने मेरो परिवारको सहयोगबाट मैले पनि अनुभूत गरें । अधिकाँश निको भएका संक्रमितहरूको अनुभवले पनि आत्मबल कोरोना जित्ने अर्को प्रमुख उपाय हो भन्ने सिद्ध भएको छ ।

सामाजीक सञ्जाल नै साथी बन्यो
क्वारेन्टाईन बसाईंमा मैले भरपुर मात्रामा सामाजीक सञ्जाल प्रयोग गरें । घर भित्रबाट तथा घर बाहिर रहेका अन्य परिवार,साथीहरू र शुभचिन्तकले मलाई एक्लो छु भन्ने आभाषसम्म पनि गर्न दिनुभएन । त्यसका लागि म हृदय देखिनै सबै प्रति आभारी छु । यदि सामाजिक सञ्जाल नहुँदो हो त यो समयमा अझ समस्या रहन्थ्यो । क्वारेन्टाइन बसेको ५ औँ दिनमा पिसीआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभको आयो । अन्य कारणले मेरो स्वास्थ्यमा समस्या आएको पुष्टी भयो । सायद म कवारेन्टाईन नबसेको भए केहि गरि मेरो परिवार वा मेरो सम्पर्कमा रहेका कोहि विमारी परेको भए अझ बढी तनाव झेल्नुपर्ने हुन सक्दथ्यो ।

क्वारेन्टाइनपछि म निको भएको पनि हुनसक्छु वा कोरोना भन्दा फरक मौसमी जरो र रूघा खोकी लागेको पनि हुनसक्छ । मौसमी रूघाखोकी र कोरोनाको लक्षण उस्तै हुने हुनाले कोरोनाले झुक्याउन पनि सक्छ भन्ने लाग्यो । भाईरसले कमजोर र अशक्तलाई चाडै आक्रमण गर्ने हुँदा यदि आफ्नो स्वास्थ्य कमजोर भयो भने आराम गर्नुका साथै क्वारेन्टाईनमा बस्नु पर्ने डाक्टरको भनाई छ ।

७ दिनको क्वारेन्टाईन बसाई पछि म कार्यालय फर्किएको छु । पिसिआर परिक्षण पछि म कोभिडको सिकारमा परेको रहेनछु भन्ने थाहा भयो । यो समयमा अन्य कारणले बिरामी पर्दा कोभिड नै हो कि भन्ने सबैलाई शंका लाग्ने गर्दछ । मेरो कारणले अरूलाई तनाव उत्पन्न नहोस भनि क्वारेन्टाइन बसें र पिसिआर परिक्षण गरें । परिक्षण नगर्दा सम्म म तनावमा थिएँ । जब रिपोर्ट नेगेटिभ आयो त्यसपछि भने म ढुक्क भएर काममा फर्केको छु ।

नेपालमा पनि कोरोना भाईरसका दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । सुरूका दिनमा मानिसले केहि स्वास्थ्य सर्तकता अपनाए पनि लामो समयको बन्दाबन्दीले आर्थिक रूपमा र दैनिकीमा असर पर्न थालेपछि अहिले सामाजीक दुरी कायम राख्दै र स्वास्थ्य सर्तकता अपनाएर दैनिकीमा सहभागी हुन सरकारले नागरिकलाई अनुरोध गरेको छ । तर सबैले दैनिक रुपमा स्वास्थ्य मापदण्द्ध पालना नगदा काठमाडौ उपत्यकामा संक्रमितको संख्याको दरच उच्च बन्दै गएको छ । मुलुकमा स्वास्थ्य पुर्वाधारको अवस्था हेर्दा भोलिका दिनमा अझ भयावह अवस्था आउनेमा कुनै शंका छैन । त्यसैले कोभिड १९ बाट जोगिन नागरिक आफै सजग बनौं । कोरोना भाइरसलाई हेलचक्राइँ नगरौं ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);