धानबालीमा फड्के किरासंगै विभिन्न रोगको प्रकोप बढ्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०७९, आइतबार

धानबालीमा फड्के किरासंगै विभिन्न रोगको प्रकोप बढ्दै

कञ्चनपुर, ५ असोज । कञ्चनपुरका अधिकांश धान खेतीमा विभिन्न रोग र किराले नोक्सानी गर्न थालेको छ । जिल्लामा प्रमुख बालीका रुपमा रहेको धानमा किरा लाग्न थालेपछि कृषक चिन्तित भएका छन् । समयमै मल नपाएका कृषक यतिबेला किराको प्रकोपको समस्या झेल्न बाध्य भएका छन् ।

वर्षायाम भरी मेहनत र लगानी गरी लगाएको धानबालीमा विभिन्न रोग र किराको प्रकोप देखिएको छ। फड्के किराको प्रकोपका कारण धानका बिरुवा सुक्ने र जल्न थालेको छ । खास गरी धान बालीको मुख्य शत्रु जीवका रुपमा रहेको फड्के किराको प्रकोप बढेको छ ।

किराले धानको पात र डाँठको रस चुसेर खाई धानबालीलाई नोक्सानी पु¥याउने गरेको छ । बाली पाक्ने र धान भित्रयाउने बेला रोगले बालीमा नोक्सानी गर्न थालेको छ । समयमै मल नपाएका कृषक यतिबेला रोग र किराको प्रकोपको समस्या झेल्न बाध्य भएका छन् ।

कृषकले सम्बन्धित निकायमा बालीमा लागेको रोग र किराका बारेमा जानकारी गराएका छन् । रोग र किराको विषयमा कृषि ज्ञान केन्द्र महेन्द्रनगर र धान जोनको कार्यालयमा जानकारी गराएका हुन् । तर, सिफारिस गरेको ओषधि प्रयोग गर्दा पनि रोग नियन्त्रणमा आएको छैन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, महाकाली नगरपालिका, कृष्णपुर नगरपालिका र वेल्डाडी गाउँपालिकाका अधिकांश कृषकले लगाएको धान खेतीमा खैरो फड्के किरा, गवारो, व्लास्ट लगायतका रोग र किराको प्रकोप बढेको छ । फड्के किराको समस्या भएका किसानलाई एजदिरक्दीन, हेक्जाकोनाकोल र इमिडाक्लोप्रिड विषादीलाई धानको फेदमा पर्ने गरी छर्किएपनि प्रकोप रोकिएको छैन ।

रोग र किराका कारण धान पाक्ने बेलामा पातहरु पहेँलो हुदै गएको छ । धानको बाला नलागी सुक्न थालेको छ । धानबाली अनुगमनका क्रममा ४ वटै पालिकाका कृषकको धानबालीमा फड्के किरा, गवारो र व्लास्ट लगायतका रोग र किराको प्रकोप भएको पाईएकोले रोकथामको प्रयास गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टको जवाफ छ ।

कृषकले मेहनत र लगानी गरेको धान बालीमा रोगको प्रकोप बढेपछि यस वर्षको धान उत्पादन घट्ने देखिन्छ । समस्याको विषयमा सरकारी अड्डामै पुगेपनि कृषकहरुले सरकारी पाउन सकेका छैनन् । सरकारी अड्डाहरुले हलुका जवाफ दिएर टार्दै आएका छन् । धानमा लागेको प्रकोपको बेलैमा नियन्त्रण नभएमा हिउदमै खाद्य संकट आउने संभावना उत्तिकै छ ।

Leave a Reply