फौजी किराको प्रकोपले धानबाली नष्ट | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

फौजी किराको प्रकोपले धानबाली नष्ट

dhan

पुजन घिमिरे
झापा, १७ भदौ । धान उत्पादनको अग्रणी जिल्ला मानिएको झापाको धानबालीमा यस पटक फौजी किराको प्रकोप देखापरेको छ । झापाको पश्चिम दक्षिणी क्षेत्रबाट देखा परेको फौजी किराको प्रकोप दैनिक व्यापक बन्दै गएपछि किसान चिन्तित बनेका छन् ।

हाल झापाको गौरादह नगरपालिकाको वडा नम्बर–६ र झापा गाउँपालिकाको वडा नम्बर–३ मा फौजी किराको प्रकोप व्यापाक देखिएको छ । गौरादहमा मात्र करिब ५ सय विगाहा क्षेत्रफलमा लगाइएको धानबालीमा फौजी किराको प्रकोप देखा परेको छ । यस्तै, झापा गाउँपालिकाको एक वडाको करिब ३ विगाह क्षेत्रफलमा फौजी किराको प्रकोपले धानबाली नष्ट भइरहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । गौरादह–६ को वीरबल चोक आसपास मात्र फौजी किराले सयौं मन धान फल्ने क्षेत्रको धानबालीलाई नोक्सान पु-याएको किसानहरुले बताएका छन् ।

किसानहरुले फौजी किराका कारण धानबाली नष्ट भएपछि कुन औषधी प्रयोग गर्ने भन्ने विषयमा समेत अलमल भएका छन् । यही साताबाट पहिलो पटक यस्तो किराको प्रकोप देखापरेपछि धानबालीमा निर्भर रहेका किसानहरु चिन्तित बनेका छन् । फौजी किराले दिनमा दुई गुणा र रातमा चौगुना बाली नष्ट गर्ने गरेको उनीहरुको भनाई छ ।

दिनभरी धानको गाँजमा लुक्ने र रात परेपछि किराले धानको डाँड, पात र टुप्पा खाने गरेको छ । २–३ दिनभित्रै फौजी किराले धानबालीलाई नष्ट गरेपछि कसरी प्रकोपको नियन्त्रण गर्ने भन्ने स्थानीय किसान अलमलमा छन् । प्रति विगाह ९० मनसम्म उत्पादन हुने धानमा फौजी किराको प्रकोप देखिएपछि अब यसको समाधान कसरी गर्ने भन्ने विषयमा नगरपालिकाले छलफललाई तिब्रता दिदैं समाधानको बाटो खोज्न सुरु गरेको गोरादह नगरपालिकाका–६ का वडाध्यक्ष खड्गप्रसाद पराजुलीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र झापा, कृषि विकास निर्देशनालय र बाली संरक्षण प्रयोगशाला विराटनगरले भने किरा पहिचान भइसकेको र नियन्त्रणका लागि काम सुरु गरिने जनाएको छ । बाली संरक्षण प्रयोगशालाका निमित्त प्रमुख मुकेशकुमार यादवले प्रदेश सरकार र कृषि ज्ञान केन्द्र मार्फत तत्काल औषधी व्यवस्थापन गर्न र प्रयोग गर्न तत्काल जानकारी गराउने बताउनुभयो ।

ताजा समाचार