मेस्सी यो सिजन स्पेनको बार्सिलोनामा नै रहने | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

मेस्सी यो सिजन स्पेनको बार्सिलोनामा नै रहने

एजेन्सी,२० भदाै । अन्ततः अर्जन्टीनाका फुटबल कप्तान लियोनेल मेस्सी यो सिजन स्पेनको बार्सिलोनामा नै रहने भएका छन् । यो सिजनमा बार्सिलोना छाड्ने स्पष्ट गरिसकेका मेस्सीले अन्त्यमा निर्णय बदलेका हुन् ।

आफूलाई अनुबन्ध गर्नका लागि बार्सिलोनाले तोकेको मुल्य असंभव भएका तथा खेल जिवन को २ दशक विताएको आफूले माया गर्ने क्लब बार्सिलोनालाई अदालत लैजान नचाहेको कारण आफू यो सिजन बार्सिलोनामा रहने मेस्सीको तर्क छ । विश्व खेल जगतमा चर्चामा रहेको मेस्सी–बार्सिलोना प्रकरण विभिन्न घटना परिघटनापछि अन्त्य भएको छ ।

खेल जीवनको २ दशक बिताएको स्पेनी क्लब छाड्ने मेस्सीको घोषणासगैं विश्वकै चर्चा भएको यो प्रकरण अन्त्य भएको हो । गत मंगलबार मेस्सिले बार्सालाई आफ्नो करारमा रहेको सिजनको अन्त्यमा क्लब छाडेर जान सक्ने प्रावधानलाई टेकेर क्लब छाड्न चाहेको सन्देशसहित फ्याक्स पठाएका थिए । तर, क्लबले ७० करोड युरो रकम तिरे मात्र अन्य क्लबले उनलाई अनुबन्ध गर्न सक्ने अडान राखेको थियो ।

बार्सिलोनाले भने त्यो प्रावधान जुन महिनामा नै अन्त्य भइसकेको बताएको छ। मेस्सी चाहिँ कोरोनाभाइरस महामारीका कारण यो वर्ष खेल तालिकामा भएको फेरबदलले गर्दा सो प्रावधान लम्बिने र यसका लागि अदालत जान तयार देखिन्थे । उक्त रकम तिरेर आफुलाई लैजान कुनैपनि क्लबका लागि सहज नहुने मेस्सीको भनाइ छ । यस सम्बन्धमा अदालतको बाटो भएपनि आफु त्यसमा जान नचाहेको मेस्सीको तर्क थियो ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जापस्द हारपछि मेस्सीले क्लबसँगको २० वर्षको सहकार्य अन्त्य गर्न चाहेको निर्णय सुनाएका थिए । लगत्तै युरोपका प्रमुख क्लबहरुबीच मेसीलाई भित्र्याउने होजबाजि नै शुरु भयो । इंग्ल्याण्डका म्यान्चेस्टर सिटी, म्यान्चेीटर युनाइटेड , चेल्सी, इटालीको इन्टर मिलान र फ्रान्सको पेरिस सेन्ट जर्मन पिएसजी मेस्सीलाई आबद्ध गर्ने होडबाजीमा थिए ।

फुटबलका उत्कृष्ट खेलाडिलाई प्रदान गरिने बालन डो’र छ पटक जितेका मेस्सीले बार्सिलोना क्लबमा सन् २००४ देखि खेल्न थालेका हुन । यो अवधिमा उनले बार्सिलोनालाई युरोपेली फुटबल क्लबहरुका लागि सबैभन्दा प्रतिष्ठीत युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाए ।

क्लबका निम्ति उनले १० पटक स्पेनी राष्ट्रिय लिग फुटबल ला लिगा उपाधिसहित ३४ वटा ठूला उपाधि जिताउन योगदान गरे । अर्जेन्टीनालाई विश्वकप फुटबल उपाधी जिताउन नसके पनि मेसीलाई फुटबलको सर्बकालीन महान खेलाडीमा राख्न सकिने फुटबल पण्डितहरुको विश्लेषण छ ।

मेस्सी अर्जेन्टीनाको नीवेल्स ओल्ड बोइजबाट १३ वर्षको उमेरमा सन् २००० मा स्पेनको बार्सिलोना क्लब पुगेका हुन् । त्यसयता उनले क्लबका निम्ति ७३१ खेलमा कीर्तिमान ६ सय ३४ गोल गरेका छन् । स्पेनको राष्ट्रिय फुटबल प्रतियोगिता ला लिगामा सबभन्दा धेरै ४ सय ४४ गोल मेस्सीकै नाममा छ । विपक्षी गोल रक्षकका लागि टाउको दुखाइ हुने गरेका मेस्सीले गोल हान्दा बार्सिलोना शहरमा ’साँच्चै नै कम्पन हुने गरेको’ पाइएको बैज्ञानिकहरुले समेत पुष्टि गरेका छन् ।

अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेर उक्त पुष्टि गरेका हुन् । मेसीले गोल हानेपछि भीडले खुसियाली मनाउँदा त्यस क्षेत्रमा मानिसहरूले महसुस गर्न सकिने कम्पन हुने गरेको बैज्ञानिकहरुको दावी छ ।

फुटबल खेलेरै अहिले सम्म ४० करोड अमेरिकी डलर कमाएर फुटबलका जादुगर उपनाम समेत पाएका मेस्सीको बार्सिलोनामै रहने अन्तिम निर्णयले उनलाई भित्र्याउन चाहेका अन्य क्लबहरु निराश भएका छन् । तर समर्थकहरु मेस्सी अब सबैखाले तनावबाट मुक्त भएर उत्कृष्ट प्रर्दशन गर्ने विश्वासमा छन् । यसका लागि बार्सिलोनाले नै मेस्सीलाई सबैखाले तनावबाट टाढा राखेर खेलमा केन्द्रित हुने वातावरण बनाउनु पर्ने समर्थकहरुको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);