रातो मत्स्येन्द्रनाथको रथ यात्रामा देखिएको अराजकता र यसको दूरगामी प्रभाव | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

रातो मत्स्येन्द्रनाथको रथ यात्रामा देखिएको अराजकता र यसको दूरगामी प्रभाव

काठमाडौं, १९ भदौ । ललितपुरको रातो मत्स्येन्द्रनाथको रथ यात्रासँग जोडिएर भएको उश्रृंखल तनाबले उब्जाएको द्वन्द्व वास्तवमा धेरै नै चिन्ताजनक देखिन्छ । यो तनाव सांस्कृतिक पर्वसँग मात्र सम्बन्धित छ, राजनीतिसँग सम्बन्धित छ, वा देशलाई अस्थिरताको खाडलतर्फ धकेल्ने साम्प्रदायिक वा अस्थिर तत्वसँग सम्बन्धित छ । त्यो त भविष्यले बताउला । तर हरेक नागरिकले यतिखेर मनन गर्नुपर्ने के हो भने, सांस्कृतिक पर्व यसरी मनाईंदैन ।

रातो मत्स्येन्द्रनाथको रथयात्रा ललितपुरको मात्र होइन, यो सरकारी पर्व पनि हो । यही पर्व मनाउनको निमित्त धेरैले जागिर खाएका छन् । कुनै पनि पर्वको महत्व विधि विधानसँग सम्बन्ध राख्दछ । रातो मत्स्येन्द्रनाथको रथ कसरी बनाउने ? पूजा कसरी गर्ने ? रथ चलाउने मुहूर्त कतिबेला हुनेदेखि लिएर कुन कुन दिन कहाँकहाँ पुग्ने ? मुख्य रुपमा को को पात्रले रथ चलाउने ? इत्यादि शुरुदेखि अन्तिमसम्मको प्रकृयाको लागि विधि विधान जात्रा प्रकृयामै तोकिएको छ । यस्तो मौलिक विषयलाई हुलहुज्जत र बहुलठ्ठी प्रकारले गर्न खोज्नुले हाम्रो संस्कृति जोगिन्छ कि संस्कृतिको विनास हुन्छ ? संस्कृति कसरी बनेको हुन्छ ? सभ्य समाजमा संस्कृतिको के महत्व हुन्छ ? संस्कृति र सभ्यताबीचमा कस्तो तारतम्य हुनुपर्छ ? इत्यादि विषयको सन्दर्भ थोरै पनि मनन नगरी राज्य विरुद्धको आक्रोसको रुपमा धर्म संस्कृतिलाई मुछ्ने जुन काम भयाे, ति कलंकित पात्रहरुलाई नेपालको मौलिक धर्म संस्कृतिले कहिले पनि क्षमा गर्ने छैन । आज विश्वभर मन्दिर, मस्जिद, गुरुद्धारा, गिर्जाघर लगायत सबै धार्मिक स्थलहरु बन्द छन् ।

नेपालको इतिहासमै नभएको पशुपति नाथमा समेत जान निषेध गरिएको छ । संसारकै ठूलो रथ यात्रा मानिएको जगनाथपुरीको रथ यात्रा समेत यस वर्ष भएन । यस्तो परिवेशमा लठेत पाराले रातो मत्स्येन्द्र नाथको रथलाई विवादमा पार्दै युवा र सांस्कृतिक जागरणको नाममा प्रहरी प्रशासन र संचार माध्यमहरुलाई समेत तारो बनाएर गरिएको धार्मिक कार्यक्रम कहिल्यै पनि धार्मिक हुन सक्दैन । धर्म र संस्कृतिले अशान्त मनलाई शान्त बनाउँछ तर शान्त रहेको समाजलाई नै अशान्तितर्फ मोड्न खोज्ने तत्व धार्मिक हुनै सक्दैन ।

काठमाडौं र भक्तपुरमा सबै प्रकारका जात्रा स्थगित भएको प्रसंग समेत देख्न नसकेको यो हुल हुज्जतकारी जत्थाले केही तराईमा विगतमा भएको जस्तो साम्प्रदायिक अभिष्ट पूरा गर्न खोजेको त छैन ? सबै सचेत नागरिकले गम्भीर हुनुपर्ने अवस्था आएको छ । नेपाल बहुभाषिक, बहुधार्मिक, शान्त सुशिल र सभ्यताकै गुरुकुलको रुपमा परिचित राष्ट्र हो । कुनै पनि तत्वले चाहेर पनि साम्प्रदायिक सदभावनामा खलल पु¥याउने कार्यलाई नेपाली जनताले कहिल्यै पनि सहेका छैनन्, सहने छैनन् ।

विश्वलाई नै अनौठो शान्तिको प्रतिमूर्ति बनेको विगतको नेपालको असली पहिचान नै आफ्ना सांस्कृतिक सम्पदाहरु र त्यस भित्र बाँच्ने गौरवपूर्ण इतिहास बनाएका हामी नेपालीहरु हौं । हाम्रो तनमन धन सबै संस्कृति हो, सभ्यता हो । पुर्खाले जगेर्ना गरिदिएको मौलिकता हो, भेषभुषा हो, परिवेश हो । यो मौलिकतामा नाजायज खेल खोज्ने प्रयत्न गर्ने कोशिस कसैले नगरोस, जनता सचेत छन् । यस्तो तत्व विरुद्ध सचेतनामूलक जवाफ फर्काउन जनता सधैं तयार छ । भूलसुधार गर्नु र आइन्दा यस्तो गतिविधिमा संलग्न नहुनु नै समाधान हो, सम्बन्धित सबैको चेत खुलोस ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);