एजेन्सी,२३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वामित्व परिवर्तन नगरे ४५ दिनभित्र चीनको स्वामित्वमा रहेको भिडियो शेयर एप्लीकेशन टिकटक बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गर्नुभएको हो । ट्रम्पको आदेशमा अमेरिकाले राष्ट्रिय सुरक्षाको मामिलामा टिकटक सञ्चालकहरू विरूद्ध आक्रामक कारबाही गर्नुपर्ने उल्लेख छ । राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकी कम्पनीमार्फत मात्र अमेरिकामा प्रवेश गर्न दिइने बताउँदै यस्तो कदम अमेरिकाको सुरक्षाका निम्ति चाल्नु परेको स्पष्ट गर्नुभयो ।
विदेशीको स्वामित्वमा रहेको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भएको भन्दै नीति निर्माताले चासो व्यक्त गरेकाले ट्रम्पले त्यस्तो निर्णय गर्नुभएको हो । टिकटकका अहिले विश्वभर एक अर्ब प्रयोगकर्ता छन् । अमेरिकामा मात्र टिकटकको ८ करोड सक्रिय प्रयोगकर्ता छन् । खासगरी युवाबीच निकै लोकप्रिय चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकलाई किन्न अमेरिकी कम्पनी माइक्रोसफ्ट लगयतका कम्पनीले चासो देखाएका छन् ।
टिकटकलाई आगामी सेप्टेम्बर मध्यसम्ममा सम्झौता गरिसक्न अमेरिकी प्रशासनले म्याद दिएको छ । समयभित्र कुनै सम्झौता नभए टिकटक अमेरिकामा बन्द हुनेछ ।