वीरगञ्ज, ९ साउन । वीरगञ्जमा साउन १० गते बिहान ५ बजे देखी अनिश्चितकालकालागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । आज जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बृहत् सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थालेपछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो । यता शुक्रबार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी वीरगञ्ज महानगरपालिका– ११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ ।
चिकित्सक डा निरज सिंह अनुसार ती वृद्ध महिला मुटु रोगी थिइन् । हाल निमोनिया भएर अस्पताल आएकी थिइन् । गत मंगलबार कोरोना अस्पतालमै उपचार गराइरहेका वीरगञ्ज – ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो ।कोरोना संक्रमण पुष्टि भएपछि ७० वर्षीय वृद्धको बिहीबार नेपाली सेनाले अन्तिम संस्कार गरेको थियो । पर्सा जिल्लामा बिहीबार राती ३० जनामा कोरोना संक्रमण देखा परे सगै संक्रमित को संख्या ७७ जना पुगेको छ ।