सर्वोच्चमा ४५ दशमलव ४३ प्रतिशत मुद्दा फछर्यौट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सर्वोच्चमा ४५ दशमलव ४३ प्रतिशत मुद्दा फछर्यौट

SUPREME_COURT

काठमाडौं, २ साउन । सर्वोच्च अदालतले आर्थिक वर्ष २०७६/०७७ मा कुल लगतको ४५ दशमलव ४३ प्रतिशत मुद्दा फछर्यौट भएको जनाएको छ ।

अदालतले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक वर्ष २०७६/०७७ मा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा गरी कुल २ लाख २४ हजार ३ सय ४६ लगत कायम भएकोमा १ लाख १ हजार ९ सय २७ थान मुद्दा फछर्यौट भएको जानकारी दिएको हो।

जुन कुल लगतको ४५ दशमलव ४३ प्रतिशत हुन आउँछ । मुख्य रजिष्टार नृपध्वज निरौलाले आर्थिक वर्ष २०७५/०७६ बाट जिम्मेवारी सरी आएको १ लाख ८ हजार १ सय ६४ र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ दर्ता भएका १ लाख १६ हजार १ सय ८२ गरी जम्मा वार्षिक लगत २ लाख २४ हजार ३ सय ४६ कायम भएको बताउनुभयो।

जम्मा कायम लगतमा १ लाख १ हजार ९ सय २७ थान मुद्दा फछर्यौट भई आर्थिक वर्षको अन्त्यमा १ लाख २२ हजार ४ सय १९ थान मुद्दा बाँकी रहेको बताउनुभयो । उहाँले कुल लगतको ४५ दशमलव ४३ प्रतिशत मुद्दा फछर्यौट भएको र वर्ष २०७६/०७७ मा निर्धारित मुद्दा फछर्यौटको वार्षिक लक्ष्य १ लाख ६५ हजार ६९ को करीब ६२ प्रतिशत प्रगति भएको बताउनुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले मुद्दाको फछर्यौटलाई प्रभावकारी बनाउन नयाँ सफ्टवेर सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले नयाँ सफट्वेर प्रणालीबाट मुद्दा दर्ता हुँदाको अवस्थामा नै दर्तादेखि फैसलासम्म हुने मुख्यमुख्य कामहरूको मिति सहितको कार्यतालिका सम्बन्धित पक्षलाई उपलब्ध गराइने बताउनुभयो ।

कोरोना भाइरसका कारण अदालतका काम कारबाही प्रभावित हुँदा लक्ष्य अनुरुप मुद्दा फछर्यौट हुन नसकेको सर्वोच्च अदालतले जनाएको छ ।बन्दाबन्दीको अवधिमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण र कोरोना भाइरससँग सम्बन्धित रिट निवेदन लगायत १ हजार ८ सय ७५ थान मुद्दा दर्ता भएको छ भने यसबीचमा सर्वोच्च अदालतमा मात्र २ हजार ४ सय १५ थान मुद्दा फछर्यौट भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);