केपी ओली, पुष्पकमल दाहाल र नेकपा, तताईएको सडक राजनीति (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

केपी ओली, पुष्पकमल दाहाल र नेकपा, तताईएको सडक राजनीति (भिडियोसहित)

sampadakiya

सम्पादकीय

केपी ओली, पुष्पकमल दाहाल र नेकपा
तताईएको सडक राजनीति

राजनीतिलाई नै प्रदूषित गर्दै अघि बढेको नेकपाको दुई धारले वास्तवमै सबैलाई उदेकलाग्दो अवस्थामा पु¥याएको छ । दुई वटा पाइलटले हाँकेको पार्टी भएर होला, अब यो पार्टीमा प्रतिपक्ष र सत्तापक्षको जिम्मा यी दुई पाइलटले नै लिइ रहको देखिन्छ । सामान्य पार्टी पद्धती समेतलाई चुनौती दिंदै अघि बढेको नेताहरुको क्रियाकलाप देख्दा, नेपालको पार्टी राजनीतिको धरातलीय अवस्था कस्तो रहेछ ? भनेर बुझ्न सबैलाई सजिलो भएको छ ।

प्रतिपक्ष नेपाली कांग्रेसको उपस्थिति प्रायः शून्य रहेकोले गर्दा पनि होला, प्रतिपक्षको भूमिका समेत नेकपाले नै निर्वाह गर्नु पर्ने अवस्था छ । सरकारको राजीनामा आफ्नै पार्टी अध्यक्षले मागेको जोखिमपूर्ण अवस्था संगसंगै, त्यसलाई राम्रोसँग व्यवस्थापन गर्नु पर्ने दुबै पक्षको भूमिका हुनुपर्नेमा, त्यसको ठिक उल्टो देखिनु एउटा अनिष्टकै सूचक मान्न सकिन्छ ।

आज प्रधानमन्त्री केपी ओलीको समर्थनमा भनी सडकमा देखिएको विभिन्न झुण्डहरुले, उनीहरुको आन्दोलन को प्रति लक्षित हो ? भारतीय दलाल कसलाई भनिएको हो ? प्रधानमन्त्री ओली को संग सावधान हुनुपर्ने हो ? यी सावधान हुनुपर्ने भनी नारा लगाइएका व्यक्तिहरु बिना, यदि प्रधानमन्त्री ओली चल्न खोज्नु भएको हो भने त यो कुरा ठिकै होला, होइन भने यसको दुरगामी अवस्था पार्टी भित्र के रहला ? आज सडकमा नारा लगाउनेहरु भोलि पार्टीका अध्यक्ष प्रचण्डलाई र प्रचण्डले यी पंक्तिलाई स्वीकार्ने अवस्था आउला कि नआउला ? राजनीति आवेगको खेति होइन । सुझबुझबाट मात्रै राजनीति स्थिर बन्न सक्छ । स्थिर राजनीतिले मात्र स्थायित्व दिन सक्छ ।

वास्तविकता के हो भने, नेपालको राजनीतिमा धेरै वर्ष अघिदेखि र अझ धेरै वर्षसम्म पार्टी अधयक्ष प्रचण्ड कुनै न कुनै रुपमा प्रभावी नेताको रुपमा नेपालमा रहनु हुन्छ नै । नेकपामा रहेपनि बाहिर रहेपनि, राजनीतिको एउटा कोणबाट प्रभावी भूमिका उहाँको हुन्छ नै । पार्टी पंक्तिमा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधव नेपालहरुकै कोटीमा उहाँलाई राख्नु भनेको नेपालको सत्ता राजनीति बुझ्न नसकेको स्पष्ट संकेत नै हो भन्न सकिन्छ ।

प्रधानमन्त्रीले के बुझ्नु जरुरत छ भने, उहाँलाई काम गर्ने वातावरणको निमित्त पार्टी भित्र स्थायित्व जरुरत छ । पूर्व प्रधानमन्त्री प्रचण्डलाई नसमेटिकन यो वातावरण प्राप्त हुनै सक्दैन । दुई जनालाई भिडाएर अघि बढ्न खोज्ने स्वार्थी समूहसंग दुबै जना होसियार हुन जरुरत छ । यतिखेर दुबै जनाले सोच्नु पर्ने कुरा के हो भने, आआफ्नो अगाडि देखिएका जमातले कहीं दुबै जनालाई गुमराहमा पारिरहेका त छैनन् ? संगठित शक्तिलाई तहसनहस गर्नको निमित्त दुबैको बीचमा बेमेल बढाईंदै त छैन ? नेपालमा स्थायित्व नचाहने शक्तिहरुले यी दुईलाई नमिल्नको लागि, मिल्नै नसक्ने अवस्थामा पु¥याउन खोजिरहेको त छैनन् ? यसतर्फ गम्भीर भएर सबैले मनन गर्नु नितान्त आवश्यक देखिन्छ ।

हुन त, दुई चार बुँदे सम्झौताबाट फेरी पनि दुबै जना मिलेको विज्ञप्ति आउन सक्छ । यदि यस्तो भयो भने, अहिले सडकमा उतारिएको प्रधानमन्त्री समर्थित पंक्तिको अवस्था चाहीं के होला ? याद गरौं, प्रधानमन्त्री ओलीले गर्ने भनेको राष्ट्रवादी निर्णय होस वा जनताको जनजीविकासँग सम्बन्धित कामहरु हुन , त्यो प्रचण्डको साथ बिना सम्भव हुनै सक्दैन । पाँच वर्षको सत्ता, दिन गन्दै बिताउन त सकिएला तर प्रभावकारी हुनको निमित्त भने नेकपाका दुबै अध्यक्षको संगठित प्रयास बिना सम्भव छैन ।

त्यसैले पनि यी दुबै अध्यक्षले आआफ्नो भूमिकामा पुनर्विचार गर्न जरुरत छ । देखावटी शक्ति प्रदर्शनबाट होइन, आपसी छलफलबाट निकास निकाल्न जरुरत छ, विश्वासको वातावरण बढाउनु जरुरत छ । सरकारको र पार्टीको निर्णय प्रकृयामा दुबै जनाले स्वामित्व लिन सक्ने वातावरण हुन जरुरत छ । देशले निषेधको राजनीति धेरै देख्यो । अबको राजनीतिले कसैलाई निषेध गर्नु हुंदैन । पार्टी भित्रका हितैषी उनै हुन, जसले दुबैलाई मिल्नको निमित्त मजबुर गर्छ ।

झण्डै दुई तिहाईको जनताको अभिमतमा टेकेर यी दुई व्यक्तित्वले देश र जनतालाई साक्षी राख्दै अघि बढ्ने निर्णय गरे भने, छिटृै नै यो उर्बर भूमिले एउटा अर्कै विशाल उचाई लिन सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);