अनिर्णयको बन्दी सत्तारुढ दल नेकपा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

अनिर्णयको बन्दी सत्तारुढ दल नेकपा (भिडियोसहित)

neta

सम्पादकीय
काठमाडौं, २ साउन । लामो समयदेखि सत्तारुढ नेकपा आन्तरिक खिचातानीमै व्यस्त छ । सत्ता कलहकै कारण शक्तिशाली जनमतको सरकार, कामचलाउ जस्तो देखिंदै गएको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने कसरतमा रहेको नेकपाको शक्ति संघर्षले अझै लामो समय राजनीतिलाई गम्भीर प्रभाव पार्ने देखिन्छ । प्रधानमन्त्री ओली दुबै पद नछोड्ने र बाँकी नेताहरुलाई दुबै पद नभइ नहुने आन्तरिक हठका कारण अघि बढेको नेकपा पार्टी भित्रको कलहले पार्टी नै रहने हो कि नरहने हो भन्ने अवस्थामा पुर्याएको छ ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी मिलेर गठन भएको नयाँ पार्टीको खासै कुनै संगठनात्मक परिपक्वता छैन । आआफ्नो महाधिवेशनबाट आआफ्नो पार्टीमा निर्वाचित दुई अध्यक्षको संयुक्त निर्णयबाट आगामी महाधिवेशनसम्म पार्टी चल्ने भन्ने पार्टी एकताको दस्तावेजलाई हेर्दा, सबै पार्टीगत निकायहरुको भूमिका सल्लाहकार र सहयोगी बाहेक कुनै नभएको देखिन्छ । नेकपाको सम्पूर्ण सांगठनिक संरचना भनेको दुई अध्यक्षद्वारा मनोनित बडी मात्रै हो ।

यी सांगठनिक संरचना भित्र गरिने निर्णय नैतिक त हुनसक्ला तर दुबै अध्यक्षको सनाखत हुन सकेन भने कानुनी हुन सक्दैन । पार्टी पंक्तिको सबै निर्णय दुई अध्यक्षले प्रमाणित नगरीकन लागू नहुने भन्ने पार्टी एकताको स्प्रिट हेर्दा आजको नेकपा भित्र यी दुबै पदमा रहेका दुई अधयक्षहरु मात्र सर्वशक्तिमान रहेको स्पष्ट देखिन्छ ।

यस्तो अवस्थामा एउटा अध्यक्षको राजनीनामा प्रसंगले मूर्तरुप लिने देखिंदैन । किनभने, दुबै पार्टी एक आपसमा एकीकृत भएका हुन, विलय भएका होइन । पार्टी अध्यक्ष केपी ओलीले पार्टी अध्यक्षबाट राजीनामा दिनुको अर्थ दुई अध्यक्षबीचको समीकरण विग्रनु हो । यसको अर्थ लगाउनेहरुले तत्कालिन एमाले माओवादीमा विलय हुँंदा नेकपा बनेको रुपमा लिन पनि सक्छन । अहिलेको राष्ट्रिय तथा अन्तर्राष्टिय परिस्थिति अनुसार प्रधानमन्त्री पदबाट राजनीनामा नदिने दृढ निर्णयमा पुगेका प्रधानमन्त्रीलाई के थाहा छ भने, पार्टी अध्यक्षबाट राजीनामा दिनु भनेको पनि प्रधानमन्त्रीबाट राजीनामा दिनु भने जस्तै हो ।

पार्टी अध्यक्षबाट राजीनामा दिने बितिक्कै दुई अध्यक्षको समीकरण टुट्छ, त्यसपछि पार्टी समीकरणको निमित्त एक अध्यक्षले मात्र निर्णय लिन सक्छन र जसरी पनि प्रधानमन्त्रीको पदबाट हटाउनै पर्ने निर्णयमा पुगेको त्यो समूहले पार्टी भित्र एकलौटी निर्णय गर्दै प्रधानमन्त्रीलाई हटाउन सक्छन । अध्यक्ष ओलीकै कारण गत निर्वाचनमा राम्रो मत हासिल गर्न सकेको तत्कालिन एमालेको ठूलो समूह पार्टी अध्यक्ष ओलीको साथमा रहेबाट र पार्टीको संसदीय दलमा समेत मजबूत अवस्थामा देखिएबाट प्रधानमन्त्री ओलीलाई दुबै पद नछोडनका निमित्त ठूलो दवाव परिरहेको पनि देखिन्छ ।

भारतसंगको केही निर्णयका कारण जनमानसमा समेत स्थापित नेता ओलीले, राजीनामाको सटृा अन्तिम अवस्थासम्म पार्टी भित्र दृढताका साथ लड्ने मनस्थिति बनाएको बुझिन्छ । आफू इतरका पार्टी पंक्तिसंग अहिलेको अवस्थामा सत्ता परिवर्तन गर्न खास कुनै एजेण्डा र वस्तुगत तर्क नभएकोले पनि आन्तरिक रुपमा उनलाई ठूलो दवाव परेको देखिदैन ।

यी सबै वस्तुगत तथ्यहरुलाई मध्यनगर गर्दै आफै रक्षात्मक बन्दै गएको पार्टी अध्यक्ष प्रचण्ड समूहका लागि अब आन्तरिक इगोबाहेक केही पनि देखिंदैन । प्रचण्डलाई साथ दिने नेताहरुमा समेत एक अर्कालाई हेर्ने दृष्टिकोण अत्यन्त फरक छ । ५ जना नेतामा कसैले कसैमा विश्वास गर्ने वातावरण छैन । सबै सबैसंग सशंकित देखिन्छन । यो पार्टीगत अवस्थाले जनमानसमा भने गम्भीर निराशा थपिदिएको छ । देश अहिले पनि लकडाउनमा छ । नयाँ आर्थिक वर्ष शुरु भएको छ । आर्थिक जर्जरताले सीमा नाघेको छ ।

यस्तो अवस्थामा सरकारको काम आर्थिक संक्रमणकालिन योजना बनाउँदै दु्रतगतिमा अघि बढ्नुपर्ने हो । तर दुई तिहाइ नजिकको नेकपाको सरकारलाई पाँच वर्ष टिकाउन पनि जनताले सडक संघर्ष गर्नुपर्ने अवस्था आउनुले राजनीतिक वृत्त लज्जित छ । देख्दा परिपक्व देखिने नेताहरु राजनीतिमा भने कति अपरिपक्व र अदूरदर्शी रहेछन भन्ने नेकपा भित्रको अन्तरकलहले देखाइदिएको छ ।

नीति र नेतृत्वबाट बाहिर रही गरिने यस्तो राजनीतिले कसलाई फाइदा गर्ला ? यो नेतृत्वले भोलि जनतामाझ के भनेर भोट माग्ला ? स्थिर सरकारको लागि जनताले कति भोट दिनुपर्छ होला ? छिमेकी देशको आशिर्वादले मात्र पुग्ने हो कि ? अब जग हसाई बन्द गरौं । ५ वर्षको स्थायी सरकार जनताको चाहना हो । नेपालको लागि ऐतिहासिक जस्तो हुने पूर्णकालिन सरकारलाई काम गर्ने वातावरण दिंदै दृढताका साथ दुरगामी निर्णयहरु गर्नको निमित्त निर्देशन दिन सक्ने हैसियत अहिलेको पार्टी पंक्तिमा हुनुपर्छ ।

प्रधानमन्त्री ओलीले पनि पार्टीको आन्तरिक गतिविधिहरुमा ध्यान दिदै सबैलाई समेटेर अघि बढ्ने इच्छाशक्ति देखाउनुपर्छ । समयले कसैलाई पर्खदैन । यो नै नेकपाको लागि प्राप्त जनमत हो, उच्च सम्मान हो । पार्टीभन्दा राष्ट्र संधै माथि हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);