नेकपामा नयाँ समीकरणको खेल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपामा नयाँ समीकरणको खेल (भिडियोसहित)

सरकार भारतीय विदेश सचिवको भ्रमणमा व्यस्त रहेकाले नेकपा सचिवालय बैठक नजिकिंदा पनि विवादको किनारा लगाउने विषय छायाँ परेको जस्तो देखिएको छ । तर नेकपाको विवादको अवस्था भने उस्तै रहेको छ । सचिवालयको बैठकमा पेश भइ विचाराधिन अवस्थामा रहेको अध्यक्ष दाहाल पक्षको प्रस्तावलाई पुस्तक बनाइ तल्लो कमिटिमा वितरण गरिएपछि विवाद चुलिएको मात्र छैन नयाँ समीकरणको खेल पनि अघि बढेको छ ।

सत्तारुढ नेकपाको सचिवालय बैठक नजिंकिदै गर्दा पार्टी भित्रको विवादको किनारा लगाउने विषयमा स्पष्ट खाका अहिलेसम्म देखिएको छैन । भारतीय विदेश सचिव हर्षबध्र्दन श्रृंगलाको नेपाल भ्रमण सरकारी व्यस्तताले छायाँमा परिरहेको यो विवादले दुई दिनपछि बस्ने भनिएको सचिवालय बैठकमा विस्फोटक रुप लिन्छ वा सहज अवतरण गर्छ, प्रतिक्षाको विषय बनिरहेको छ ।

किनभने, पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताले सचिवालयमा पेश गरेको एकतर्फी प्रतिवेदनको प्रतिवाद गर्ने उद्घोष प्रधानमन्त्री केपी शर्मा ओलीले गरिसक्नु भएको छ । उता, पार्टीका एजेण्डा दुई अध्यक्षको सहमतीमा मात्रै तय हुनु पर्ने पूर्व सहमति विपरीत कार्यकारी अध्यक्ष दाहालले आफ्नो पक्षको प्रतिवेदन पार्टी निर्णय बिना नै मातहत कमिटीमा वितरण गरिसकेका छन् ।

सचिवालयमा प्रस्तुत प्रतिवेदन एकतर्फी रुपमा वितरण गरिएकोमा आक्रोशित बनेको अर्को पक्षले यसलाई विधान विपरीतको कदम भन्दै आगामी बैठकमा एजेण्डा नै बनाउने भएको बुझिएको छ । त्यसो त, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई एकतर्फी आक्रमण गर्दै सचिवालयमा दर्ज भएको प्रस्ताव पार्टीकै लोगोमा पुस्तकका रुपमा कार्यकर्ता तहमा पुगेको विषयले स्वयं कार्यकारी अध्यक्ष दाहाल समेत यतिबेला अप्ठेरोमा परेका छन् ।

प्रतिवेदन पेस गर्न दाहाललाई साथ दिएका वरिष्ठ नेता माधवकुमार नेपालले समेत दाहालको यो पछिल्लो कदमलाई पचाएको पाईएको छैन । यसले गर्दा १३ गतेको सचिवालय बैठक हुँदै स्थायी कमिटी र केन्द्रिय कमिटीसम्म पुग्दा पार्टी भित्र नयाँ समिकरण बन्न सक्ने सम्भावना समेत बढेर गएको छ ।

प्रधानमन्त्री ओलीले आफुमाथी लगाईएका आरोप पुष्टि भए आफुले दुबै पद त्याग गर्ने तर आरोप पुष्टि गर्न नसके आरोप लगाउने पक्षले पद त्याग गर्नु पर्ने चुनौती दिईसकेको अवस्था छ । यो अवस्थामा, आरोपको प्रतिवाद गर्नेगरी अध्यक्ष ओलीको प्रतिवेदन आउनु अगावै पार्टी निर्णयसमेत पर्खने धैर्य नराखी चलाखीपूर्ण ढंगले जस्केलबाट आफ्नो प्रतिवेदन छरपस्ट गर्नाले दाहाल पक्ष यतिबेला आफैं अप्ठेरोमा परेको छ ।

पार्टीमा विधि र पद्धतीको वकालत गर्दै आएको नेपाल पक्ष दाहालको यही हतारोका कारण भोलि पार्टी थप अप्ठेरोमा पर्ने होकी भन्नेमा सचेत हुँदै गएको देखिन्छ । नेपाल पक्षको यो मनोविज्ञानलाई बुझेका ओली पक्षले पार्टीभित्र आफ्नो वर्चस्व कायमै रहने गरि विवाद समाधानको मध्यमार्गी प्रतिवेदन ल्याउने तयारी समेत गरिरहेको बताईएको छ ।

‘एकताबध्द पार्टी र शसक्त सरकार’को अवधारणा अन्तर्गत प्रधानमन्त्री तथा अध्यक्ष ओलीको प्रतिवेदन आए पार्टीमा युवा पुस्ता प्रभावी बन्ने सम्भावना पनि उत्तिकै बढेर गएको छ । यो अवस्थामा प्रधानमन्त्री ओलीमाथी गम्भीर आरोप लगाउने पक्ष पार्टी भित्र झन संकटमा नपर्ला भन्न सकिन्न ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);