वार्षिक एक करोड पर्यटक भित्र्याउने लक्ष्य राख्न सभामुख अर्यालको आग्रह | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

वार्षिक एक करोड पर्यटक भित्र्याउने लक्ष्य राख्न सभामुख अर्यालको आग्रह

काठमाडौँ ।

सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक २०–३० लाख पर्यटकको न्युन लक्ष्यमा मात्र सिमित नभई १ करोड पर्यटक भित्र्याउने वृहत योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाल पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्यालले मुलुकको पर्यटन उद्योगलाई पुनः उत्थान मात्र नभई तिब्र गतिमा अघि बढाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेको बताउनु भयो । विश्व पर्यटन बजारमा भइरहेको प्रविधिको विकास र बदलिँदो चाहनाअनुरूप नेपालले आफूलाई खरो उतार्नुपर्ने चुनौती रहेको उहाँको भनाइ छ । विगतका कमजोरीहरूका कारण पर्यटकहरू अन्य गन्तव्यतर्फ मोडिएको उल्लेख गर्दै उहाँले पर्यटकको आगमन वृद्धि गर्न ट्राभल एजेन्टहरूको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले पर्यटन क्षेत्रमा आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हितमा लाग्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो । पर्यटन पूर्वाधारको प्रसङ्गमा अर्यालले व्यवस्थित ‘टुरिस्ट बस पार्क’को आवश्यकता औँल्याउनु भयो । हवाई यात्राका लागि विमानस्थल जानुपर्ने नियम जस्तै पर्यटकीय सवारीका लागि पनि तोकिएकै बस पार्क हुनुपर्ने उहाँको तर्क छ । निर्माणाधीन पर्यटन विधेयकका सम्बन्धमा बोल्दै अर्यालले आगामी ५० वर्षको आवश्यकतालाई सम्बोधन गर्नेगरी बलियो कानून निर्माण गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार