नेकपा विवाद । निकासको लागि सर्वसम्मत शक्तिशाली एकल नेतृत्व आवश्यक ।। | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०७९, सोमबार

नेकपा विवाद । निकासको लागि सर्वसम्मत शक्तिशाली एकल नेतृत्व आवश्यक ।।

नेपाल कम्युनिष्ट पार्टीमा भइरहेको तिव्र राजनीतिक खिचातानीसँगै नेतृत्व पंक्तिकाबारेमा थुप्रै प्रकारका आमधारणा बाहिर आउन थालेका छन । पार्टी भित्र, पार्र्टी बाहिरदेखि नेतृत्वका आ–आफ्ना गुटहरुमा समेत भइरहेका विचार विमर्श र त्यसबाट निस्किएको बहसहरुलाई हेर्दा पार्र्टी भित्र एक मात्र नभई अनेकौं प्रकारका सवालहरुले प्रवेश पाइरहेको स्पष्ट देखिन्छ । त्यसो त विभिन्न प्रकारका राजनीतिक चरित्र रहेका पात्रहरुको व्यस्थापन सजिलो थिएन । सुरुमै एकताप्रति राजनीतिक विश्लेषकहरुको धारणा पनि यी पात्रहरु सजिलै काम गर्न सक्दैनन् भन्ने आशयकै थियो ।

तथापी एकाएक हुन गएको एकताप्रति अनि त्यस समयमा नेताहरुबाट व्यक्त विचारहरु सुन्दा यति छिटृै यस्तो प्रकारको विचलन आउँछ भन्ने कुरा धेरैलाई लागेको थिएन । तर पछिल्लो समय नेकपाको नेतृत्व झगडाले देश नै ठप्प बनाएको छ । हरेक प्रकारका कामहरुमा तगारो हाल्ने प्रवृत्तिले सरकार हलनचलको अवस्थामा छ । सामान्यतया कम्युनिष्ट पार्र्टी पार्र्टीगत संरचनामै चल्नु पर्ने हो । अल्पमत बहुमत दुबै पार्टीको सम्पत्तिको रुपमा नै अगाडि बढ्नु पर्ने हो । तर नेकपा, पार्टी नै नबनिसकेको अवस्थाले गर्दा यी अल्पमत बहुमत अभ्यासको चरणमा प्रवेश गर्ने बेलै भएको छैन । दुई अध्यक्ष बीचको सहमति र सहकार्य नै पार्र्टीको विधानको रुपमा स्वीकार गरी एकता गर्ने, पछि आफ्नै प्रकारका व्याख्या अपव्याख्या गर्दै नेतृत्वको टाउको गन्ने शैलीले गर्दा पार्र्टी एकता लगभग सकिनेतर्फ नै उन्मुख देखिन्छ ।

पार्टी एकता हुँदा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै आफू बिना कुनै निर्णय गर्लान भन्ने सोचले दुई नेताको सहकार्यमा मात्र पार्टी पंक्तिका हरेक प्रकारका गतिविधिहरु अगाडि बढाउनु पर्ने भन्ने चातुर्यपूर्ण अनि आफूलाई सुरक्षित बनाउनको निमित्त प्रयोग गरिएको अस्त्र नै अहिले उनकै लागि गलपासोको रुपमा पुगेको छ । त्यतिबेला कमरेड प्रचण्डलाई तत्कालीन एमाले भित्रका माधव नेपाल र झलनाथ खनाल गुट समेत आफ्नो पक्षमा आउलान भन्ने सोच नै थिएन ।

राजनीति भित्रको सम्भावनाको खेललाई संधैभरि चातुर्यपूर्ण तरिकाबाट आंकलन गर्न सिपालु मानिएका कमरेड प्रचण्डको त्यतिखेरको त्यो सोच अनुसार नै अहिले पछुताइरहेको भन्ने राजनीतिक विश्लेषकहरुको पनि कमी छैन । तर अहिले त्यही दस्तावेजको दुई अध्यक्षात्मक नेतृत्व प्रणाली कै हवाला दिंदै अघि बढ्दा प्रधानमन्त्री केपी शर्मा ओली बाँकी नेतृत्व पंक्तिको निमित्त चुनौतीपूर्ण बनिरहेका छन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई पार्र्टी पद्धती अनुसार संचालन गर्न नसकेको आरोप लागि रहँदा तत्कालीन नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्डप्रति पनि राम्रैसंग औंला उठ्ने गरेको विगतको इतिहास कसैबाट छिपेको छैन । उनको नेतृत्वमा पनि उनीसँग सैद्धान्तिक बहसमा उत्रने नेताहरु संधै नै पीडित बन्ने गरेका थिए ।

फरक मत राख्दा राख्दा वाक्क दिक्क भएर आफ्नै अध्यक्षलाई हदैसम्मको आरोप लगाउँदै उनको पार्र्टीबाट अलग्गिने डा.बाबुराम भटृराईहरुको अन्तर कथा पार्र्टी पंक्तिमा सायद कसैले पनि बिर्सेका छैनन होला । अहिले कमरेड प्रचण्डसंग रहेका उनकै पार्र्टीका पुराना सहकर्मी उनको नेतृत्वमा फिर्ता भएको समय गन्ने हो भने धेरै भएको छैन । आफ्नो पल्ला भारी हुँदा अरुलाई नगन्ने अनि नेतृत्वमा अलिकति पछि पर्ने बित्तिकै मूल नेतृत्वको विरुद्धमा भएभरको गाली गलौजमा उत्रने,नेपालमा उदाएका कम्युनिष्ट नेताहरुको अचम्मको संस्कार निरन्तर रुपमा क्रियाशील नै रहेको देख्न पाइन्छ । तर अहिले नेपालको राजनीति फेरिएको छ ।

फेरिएको राजनीतिक समीकरण अनुसार नेकपाको नेतृत्व पंक्तिमा कमरेड प्रचण्डको अवस्था तत्कालीन नेकपा माओवादीमा रहँदाको डा.बाबुराम भटृराईको अवस्थासँग मिल्दोजुल्दो अवस्थामा आउने त होइन भन्ने गम्भीर प्रश्न खडा भइरहेको छ । आफूले खनेको खाल्डोमा सधैं भरी अरुलाई मात्र पार्छु भनेर सोच्नु हुँदैन । कहिलेकाहीं त्यो खाल्डोमा आफैं पुरिन सक्ने सम्भावना पनि त्यति नै ज्वलन्त देखिन्छ । राजनीतिमा धैर्यता गुमाउने पात्र र प्रवृत्तिका नेताले कहिल्यै पनि नेतृत्व दिन सक्दैन ।

छलछाम र तिकडमका पुराना इतिहासहरुलाई आफ्नो उपलव्धीका रुपमा व्याख्या गर्दागर्दै आफ्नो वस्तुगत अवस्थिति नै विगत बन्न जाने खतरालाई कसैले पनि नजरअन्दाज गर्नु हुँदैन । जे भए पनि देशलाई दिगो नेतृत्वको खांचो छ । पार्टी भित्रको वर्तमान कचपचको वातावरणमा फेरी एउटा सम्झौता गरेर अस्थायी युद्धविराम गर्नु भन्दा स्थायी समाधान खोजी गर्नु बुद्धिमानी हुने देखिन्छ । पार्र्टीमा एकल नेतृत्व अभ्यास आजको आवश्यकता हो ।

पार्टीमा सन्तुलन बनाउँदा बनाउँदै अनि शक्ति सन्तुलनको नाममा खडा भएका राज्य संयन्त्रका थुप्रै निकायलाई जवाफ दिंदादिंदै कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्री चौघेरामा बाँधिनुपर्ने अवस्थाले देशको कामकाज अघि बढ्दैन । सबैतिरबाट असुरक्षित नेतृत्वले देशको विकास गर्न सक्दैन । अबको राजनीति पार्र्टीमा पनि सर्वसम्मत शक्तिशाली,राज्य संयन्त्रमा पनि शक्तिशाली नेतृत्वको अभ्यासले मात्र देशले फड्को मार्न सक्छ ।


Leave a Reply