काठमाडौं, १ जेष्ठ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ५२ औं दिन पुगेको छ ।
गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले गत आइतबारदेखि विभिन्न ४२ प्रकारका उद्योग व्यवसायहरु सञ्चालन गर्न स्वीकृति दिएको थियो तर उपत्यकामा कोरोना संक्रमित देखिएपछि आजदेखि पुन कडाई गरिएको छ । सरकारले उक्त निर्णय गरेसँगै काठमाण्डौ उपत्यकाका सडकमा सवारी साधनको चाप ह्वातै घटेको छ ।
काठमाडौं उपत्यकामा बिगतको तुलनामा आज सुनसान देखिन्छ । सडकमा अत्यावश्यक बाहेकका सवारी साधन गुडेका छैनन् । सवारी साधनका लागि आजदेखि नयाँ पास लिनुपर्ने र त्यो पनि अत्यावश्यक सवारीलाई मात्र दिइने बताइएको छ । त्यस्तै अत्यावश्यक बाहेकका सावारी साधन एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न पाउने छैनन् ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पटक–पटक थप गरेर लकडाउनलाई जेठ ५ गतेसम्म लम्व्याएको छ ।




