काठमाडौं ।
खानेपानी मन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ । मंगलवार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा उहाँले मेलम्ची परियोजनालाई दीगो र सुरक्षित बनाउन सरकार गम्भिर रहेको बताउनुभएको हो । मेलम्ची परियोजना काठमाडौं उपत्यकावासीको स्वच्छ खानेपानी पिउने आशाको केन्द्र भएको उल्लेख गर्दे उहाँले यसमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । मेलम्ची खानेपानी आयोजना अझै पनि विभिन्न समस्या र चुनौतीले घेरिएको अवस्थामा रहेको उहाँको भनाई छ ।
मेलम्चीलाई दिगो र सुरक्षित बनाउने विषयमा मन्त्रालयमा पटकपटक छलफल भईरहेको बताउनु भयो । यद्यपि ठोस निष्कर्षमा पुग्न भने बाँकी नै रहेको उहाँको भनाई छ । परियोजनालाई दीर्घकालीन रूपमा सञ्चालनयोग्य तथा जोखिममुक्त बनाउने उल्लेख गर्नुभयो । उहाँले सरकारको पहिलो प्राथमिकतामा अलपत्र परेका खानेपानी योजनाहरू रहेको पनि जानकारी दिनुभयो । अलपत्र परेका योजनाहरुको समस्या पहिचान गरी समाधान खोज्ने उहाँको भनाई छ । उहाँले खानेपानी क्षेत्रमा बजेट अत्यन्त सिमित रहेको उल्लेख गर्दै उपलब्ध स्रोत–साधनलाई अत्यावश्यक योजनामा केन्द्रित गरिएको बताउनु भयो । सिमित बजेटकै बीच पनि नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ ।




