काठमाडौं, २९ भदौ । नेपाली काँग्रेसले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बन्ने दावी गरेको छ । काँग्रेस केन्द्रिय प्रचार–प्रसार समन्वय उपसमितिले विहिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गरेको हो ।
पार्टी नेता एवम् उपसमितिका संयोजक रमेश लेखकले धेरैजसो स्थानीय तह निर्वाचनमा काँग्रेसले अत्याधिक बहुमत ल्याएर विजयी हुने अवस्था निर्वाचन अभियानमा क्रममा पाइएको बताए ।
उनले मधेशमा एमाले विरोधी भावना स्थापित भएको र संविधानमा मधेशको भावनालाई समेटने पहल, प्रयत्न र नेतृत्व गरेकै कारण काँग्रेस पहिलो शक्ति बन्ने आधार भएको उनको दाबी छ ।
संयोजक लेखकले शत्रुतापूर्ण व्यवहार गरेकै कारण एमाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा कमजोर देखिएको बताए । मधेशका जनताको भावनालाई समेटेर संविधानको स्विकार्यता बढाउने काम गरिरहेकाले मधेशका जनता काँग्रेसको पक्षमा उभिएको उनले दावी गरे । आगामी सोमबार प्रदेश नम्बर २ अन्तरगतको १ सय ३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ ।




